सर्वोच्चको फुलकोर्ट बस्दै, १४ न्यायाधीशले बहिष्कार गर्ने – Nepal Press

सर्वोच्चको फुलकोर्ट बस्दै, १४ न्यायाधीशले बहिष्कार गर्ने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठक अर्थात् ‘फुलकोर्ट’ आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज दिउँसो साढे १ बजेका लागि फुलकोर्ट बोलाएका हुन् ।

राणाले आजको बैठकमा नेपाल बार एसोसियसनका पदाधिकारीलाई समेत बोलाएका छन् ।

सत्तारुढ गठबन्धनसँग भाग खोजेको आरोप लागेपछि प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दवाव बढ्दै गएको छ । प्रधानन्यायाधीशले आफूविरुद्ध उठेका सबै प्रश्नको उत्तर फुलकोर्टमार्फत दिने बताएका छन् ।

यद्यपि सर्वोच्चका १४ जना न्यायाधीशहरुले आजको बैठक बहिस्कार गर्दैछन् । हिजो बसेको १४ न्यायाधीशको बैठकले प्रधानन्यायाधीशमाथि उठेका नैतिक प्रश्नको हल नहुँदासम्म उनैले बोलाएको बैठकमा सहभागी हुन नसकिने निर्णय गरेको थियो । आज पनि १४ न्यायाधीशबीच छलफल हुने बताइएको छ ।

प्रधानन्यायाधीश राणालाई संवैधानिक निकायदेखि मन्त्रिपरिषदमा समेत भाग खोजेको आरोप लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राणाका जेठान गजेन्द्र हमाललाई उद्योगमन्त्रीको जिम्मेवारी दिएका थिए । आलोचना बढेपछि गैरसांसद हमालले दोस्रो दिन नै मन्त्री पदबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर