तनावपूर्ण खेलमा मर्सेलीसँग बराबरीमा रोकियो पीएसजी


एजेन्सी । फ्रेन्च लिग वानमा शीर्ष स्थानको पीएसजीले चीर प्रतिस्पर्धी मार्सेलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
दुवै टोलीको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता नदिनु र समर्थकले हुलदंगा गर्दा खेल तनावग्रस्त बनेको थियो ।
मार्सेलीको घरेलु मैदानमा दुवै हाफमा खेल केहिबेर रोकिन परेको थियो । नेइमारले कर्नर प्रहार गर्न लाग्दा घरेलु समर्थकले बोत्तल प्रहार गरेपछि तनाव सुरु भएको हो ।
दोस्रो हाफमा एकजना समर्थक मैदान प्रवेश गरेर मेस्सीलाई छुन खोजेपछि पुनः खेल रोकिएको थियो ।
दुवै टोलीको गोललाई भारले अफसाइड करार गरेको थियो । ५७औं मिनेटमा केंगिज अन्डरमाथि फल गरेपछि अचरफ हाकिमीले रातोकार्ड पाएसँगै बाँकी समयमा पीएसजीले १० खेलाडीमा खेलेको थियो ।
हाकिमीको फलमा रातोकार्डको सम्भाव्यताबारे भार टोलीसँग छलफल गर्न लाग्दा रेफ्रीको अनुहारमा रातो लेजर लाइट बालिएको थियो ।
नेइमारको क्रसमा लुआन पेरेजको आत्मघाती गोल र मार्सेलीका अर्काडुइज मिलिकको गोललाई भारले अफसाइडको निर्णय दिएको थियो ।
लिग वानमा अहिलेसम्म गोल गर्न नसकेका लियोनल मेस्सीले एउटा हेडर प्रहार बारमा लागेको थियो । ११ खेलसम्म अविजित पीएजीले शीर्ष स्थानमा ७ अंकको अग्रतासहित पकड कायम राखेको छ । मार्सेली भने १८ अंकसहित चौथो स्थानमा छ ।