भरतपुर अस्पतालमा औषधि सप्लायर्सको मनोमानीः आपूर्तिमा ढिलाई, म्याद नाघेका औषधि थुप्रिए – Nepal Press

भरतपुर अस्पतालमा औषधि सप्लायर्सको मनोमानीः आपूर्तिमा ढिलाई, म्याद नाघेका औषधि थुप्रिए

चितवन । औषधि दिन अटेर गर्ने सप्लायर्सलाई भरतपुर अस्पतालले कारवाही थालेको छ । १ वर्षसम्म खरिद आदेश बमोजिम १४ दिनभित्र उपलब्ध गराउनुपर्ने सम्झौतामा लेखिए पनि २ महिनासम्म आलटाल भएपछि अस्पतालले कारवाही नै थालेको हो ।

मेडिकल सुपरिटेन्डेन्टका रुपमा कृष्ण पौडेलको नियुक्तिपछि उनले औषधि उपलब्ध गराउन ढिलाइ गर्ने सप्लायर्सलाई कारवाही तीव्र पारेका छन् । अस्पतालले अतिआवश्यक औषधि आफैंले खरिद गरेर बढी पर्न गएको मूल्य सप्लायर्सबाटै लिने गरी कारवाही गरेको हो ।

पहिलो चरणमा पोखराको सन फार्मेसी, हिमसागर मेडिकल हल र भरतपुरको मेडिसेल्स फर्म कारवाहीमा परेका छन् । सन फार्मेसीले २ सय ११, हिमसागरले १ सय ८१ र मेडी सेल्सले ९४ प्रकारका औषधि उपलब्ध गराउने गरी अस्पतालसँग सम्झौता गरेका थिए । तर, खरिद आदेश पाएको महिनौंसम्म औषधि दिन अटेर गर्दै आइरहेका थिए ।

अस्पताल फार्मेसीका प्रमुख सविनराज लामिछानेले अतिआवश्यक औषधि अभाव हुन नदिन अस्पतालले नै खरिद गरेको बताए । ‘बेलैमा औषधि नदिने सप्लायर्सलाई पटकपटक ताकेता गर्दै आएका छौं,’ उनले भने, ‘बिरामीको उपचार प्रभावित नहोस् भनेरै सम्झौता भएका सप्लायर्सले नै दायित्व व्यहोर्ने गरी अन्य निकायबाट खरिद गर्न सुरु गरेका हौं ।’ तोकिएको समयमा आपूर्ति नभएमा जमानत जफत गरी रद्दसमेत गरी कारवाही भोग्न सप्लायर्सले लिखित सम्झौता गरेका छन् ।

खरिद आदेश पाएको १७ दिनभित्र समेत स्वीकृत नमूना, गुणस्तर र कम्पनीका औषधिहरु सप्लाई दिन नसके अस्पतालले नै अन्य निकायबाट खरिद गरे पनि सबै दायित्व खर्च सप्लायर्सलेनै ब्यहोर्ने, ढिलो सप्लाई भएमा दैनिक ०.०५ प्रतिशतका दरले जरिवाना समेत लगाइने उल्लेख छ । अस्पतालले १० वटा औषधि सप्लायर्स र ६ वटा सर्जिकल समान सप्लायर्ससँग गत माघमा एक वर्षको अवधिभरका लागि सम्झौता गरेको थियो । केही सप्लायर्सले पटक पकट ताकेता गरेपछि मात्रै औषधि उपलब्ध गराउने गर्दै आएका छन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार सन फार्मेसीले प्रतिट्यावलेट १ रुपैयाँ ४० पैसामा उपलब्ध गराउने गरी सम्झौता गरेको मेटफार्मिन (मधुमेह बिरामीको उपचार गर्ने) औषधि लाई १ रुपैयाँ ७५ पैसामा खरिद गरेर सो मूल्य सोही सप्लयार्सबाट लिने गरी कारवाही गरिएको छ ।

यस्तै हिमसागरले प्रतिट्यावलेट ६ रुपैयाँ ९८ पैसामा ल्याउने गरी सम्झौता गरेको मेटफर्मिन प्लस ग्लिमेप्राइड औषधि ७ रुपैयाँमा खरिद गरेर सो मूल्य सोही सप्लायर्सबाट लिने गरी कारवाही गरेको छ । यो औषधि पनि मधुमेह बिरामीको उपचारमा प्रयोग हुने गर्छ ।

यस्तै मेडिसेल्सले ११ रुपैयाँमा प्रति भाइल उपलब्ध गराउने गरी सम्झौता गरेको डेक्सा मेथासोन इन्जेक्सन १८ रुपैयाँ १२ रुपैयाँमा खरिद गरेर सबै मूल्य सप्ल्यार्सबाट लिने गरी कारवाही गरेको छ । यौ औषधि कोभिड–१९, आकस्मिक कक्ष तथा सघन कक्षमा उपचारत बिरामीलाई जीवन रक्षक औषधिका रुपमा प्रयोग हुने गर्छ ।

अस्पतालले सम्झौता बराबरको मूल्यमात्रै तिर्ने छ भने बढी परेको मूल्य सप्लायर्सले जरिवाना वापत तिर्नुपर्ने पौडेलले जानकारी दिए ।

अस्पतालका मेसु प्रा.डा. कृष्ण पौडेलले सम्झौता बमोजिमका औषधि सप्लाई गर्न नसक्ने सप्लायर्सलाई क्रमशः कारवाहीको दायरामा ल्याइने बताए । ‘सम्झौता हुबहु कार्यान्वयन हुनुपर्छ । औषधि अभाव हुन नदिन कारवाही प्रक्रिया थालेका छौ,’ मेसु डा. पौडेलले भने, ‘अटेर गरिरहे कालोसूचिमा राख्न विभाग तथा मन्त्रालयतहमै पत्राचार गर्दैछौं ।’

अस्पतालको फार्मेसीमा चिकित्सकले उल्लेख गरेका औषधि सहजै बिरामीले पाउनुपर्ने वातावरण बनाउन लागिपरेको उनले बताए । बिमाका विरामीले पाउनुपर्ने करिव ७ सय प्रकारका औषधिमध्ये करिव १ सय ५० प्रकारका औषधि सप्लार्सले बेलैमा उपलब्ध नगराउदा अभाव हुँदै आएको छ ।

भरतपुर अस्पतालकाे स्टाेरमा थन्किएकाे म्याद गुज्रिएका औषधि ।

यसैबीच अस्पतालमा करिब २० लाख मूल्य बराबरका म्याद गुज्रेका औषधि स्टोरमा थन्किएका छन् । उत्पादन भएको मितिले कम्तिमा ७५ प्रतिशत म्याद गुज्रन बाँकी अवधि भएका सामानहरुमात्रै अस्पताललाई उपलब्ध गराउनुपर्ने भए पनि ठूलो परिमाणका औषधिहरु प्रयोगविहिन भएर बसेका छन् ।

अस्पतालले ३ महिना वा सो भन्दा कम अवधिको म्याद भएका औषधिहरु फिर्ता पठाउन सक्ने र सो समान बराबरको रकम असुल गर्न पाउने गरी सम्झौता भएका थिए । तर, अस्पताल प्रशासनले पटकपटक ताकेता गर्दै म्याद सकिन लागेका वा म्याद नाघेका औषधि फिर्ता लैजान आग्रह गरेपनि सप्लायर्सहरुले इन्कार गर्दै आइरहेका छन् ।

औषधि खरिद ठेक्कामा छनौट भएका फर्महरुले सस्तो मूल्य राखेर ठेक्का हात पारे पनि अस्पताललाई चाहिएका बेला दिन र म्याद नाघेका औषधि लैजान ढिलाई गर्दै आइरहेका छन् ।

अत्यावश्यक, दीर्घरोगीले सेवन गर्ने, स्वास्थ्य बिमा तथा विपन्न कार्यक्रममार्फत निःशुल्क दिनुपर्ने औषधिसमेत बेलाबखत अभाव हुँदै आएको छ । मेसु डा. पौडेलका अनुसार अन्य सप्लायर्सलाई पनि ताकेता गरिएको र अटेर गरे कारवाही गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर