एमाले सहभागी हुने गरी प्रदेशसभा बैठक सार्ने सहमति, मतदान आज नहुने – Nepal Press
वागमती प्रदेश

एमाले सहभागी हुने गरी प्रदेशसभा बैठक सार्ने सहमति, मतदान आज नहुने

काठमाडौं । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको वागमती प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

यसअघि १ बजे बोलाइएको बैठकमा सत्तारुढ एमालेले अनुपस्थित हुने चेतावनी दिएपछि बैठक केही समयलाई सारिएको हो । प्रदेशसभाका प्रवक्ता विनोद अमात्यले दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने गरि सूचना टाँस गरिएको र अब कार्यसूची पनि सार्वजनिक गरिने नेपाल प्रेसलाई जानकारी दिए ।

पार्टी स्थानीय अधिवेशनमा व्यस्त हुनु परेको भन्दै एमालेले कार्तिक ११ यता बैठक नराख्न सभामुखलाई आग्रह गरेको थियो । त्यसलाई विपक्षी गठबन्धनले सत्ता लम्बयाउने चाल भन्दै विरोध जनाएका थिए ।

सभामुख सानुकुमार श्रेष्ठले छलफल गरेर ३ बजेलाई बैठक सारेपछि बैठकमा सहभागी हुन एमाले तयार भएको हो । वागमती प्रदेशकी आर्थिक योजना मन्त्री एवम् एमाले सांसद रचना खड्काले बैठकमा एमाले पनि सहभागी हुने जानकारी दिइन् ।

अनावश्यक सत्ता लम्ब्याउने र असंवैधानिकरूपमा आफूहरू एक मिनेट पनि सरकारमा नबस्ने भन्दै खड्काले एमाले बैठकमा सहभागी हुने बताइन् । ‘समान्यतया पार्टी कार्यक्रम र संसद बैठक नजुधाउने प्रचलन हो,’ नेपाल प्रेससँग उनले भनिन्, ‘६ गते वडा र ९ गते पालिका अधिवेशन भएकाले हामीले त्यसै अनुसार बैठक बोलाउन आग्रह गरेका मात्रै हौं । त्यसमा अन्यथा केही होइन् ।’

आज बैठक बसे पनि विश्वासको प्रस्तावमाथि मतदान भने नहुने भएको छ । वडा र पालिका अधिवेनशनका लागि एमाले सांसदहरू गाउँ-गाउँमा पुगेकाले मतदानका लागि केही समय लम्ब्याउनुपर्ने एमाले मागमा सभामुख पनि सकारात्मक देखिएका छन् ।

आज मुख्यमन्त्रीले जवाफ दिएपछि अनुकूल समयमा मतदान हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर