कर्णालीका ‘वेटिङ मुख्यमन्त्री’ आक्रोशित, सत्तागठबन्धन भत्काएर ओली–देउवा मिल्नुपर्ने तर्क – Nepal Press

कर्णालीका ‘वेटिङ मुख्यमन्त्री’ आक्रोशित, सत्तागठबन्धन भत्काएर ओली–देउवा मिल्नुपर्ने तर्क

सुर्खेत । पछिल्लो समय कर्णालीमा सत्ता परिवर्तन हुने चर्चा चुलिएका बेला ‘वेटिङ मुख्यमन्त्री’ भनिएका कांग्रेस नेता जीवन बहादुर शाहीले गठबन्धनप्रति नै आक्रोश पोखेका छन् । मुख्यमन्त्री हुने सम्भावना कम भएपछि शाहीले प्रधानमन्त्री एवम् कांगेस सभापति शेरबहादुरप्रति नै आक्रोश पोखेका हुन् ।

वर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आधाआधा कार्यकाल मुख्यमन्त्री हुने सम्झौता गरिएको भनिए पनि आफ्नो पालो आउँन छाँट नदेखेपछि उनी गठबन्धनप्रति नै खनिएका हुन् । केही दिनअघि सामाजिक सञ्जालमा आफूलाई मुख्यमन्त्री बनाउन सहयोग नभएको गुनासो गरेका शाहीले आज सत्ता गठबन्धन नै भत्काउनुपर्ने आशयको पोस्ट सेयर गरेका छन् ।

फेसबुकमा केशव प्रसाद भट्टराईले लेखेको ‘आज शेरबहादुर देउवाबारे’ भन्ने पोस्ट शेयर गर्दै कांग्रेस नेता शाहीले एमाले अध्यक्ष केपी शर्मा ओली र देउवाबीच सहमति र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

‘व्याक च्यानल पोलिटिकल डायलगम गर्नमा ओलीले पनि उत्साह र तदारुकता देखाएमा मंसिरमा पार्टीको महाधिवेशन पछि देउवा वैशाखमा चुनाव गर्ने निर्णयमा पुग्न सक्छन्’ छ बुंदे लामो पोस्टको अन्त्यमा लेखिएको छ, ‘त्यो नै यो राजनीतिक अन्यौल र गतिहीनताको एक मात्र उपाय हो । किनकि, ओली र देउवा भावी राजनीतिक कोर्समा न्यूनतम सहकार्य गरुन र हालको गठबन्धन राष्ट्र र प्रजातन्त्रको हितमा छैन भन्नेमा म विश्वस्त छु ।’

नेता शाहीले पछिल्लो समय देउवाविरुद्धमा स्टाटस लेख्नेदेखि उनीविरुद्धका पोस्टहरु सामाजिक सञ्जालमा शेयर गर्ने गरेका छन् ।

उनले लेखेका छन्, ‘जुन नेताहरुका लागि ज्यान फालेर लागिन्छ, उनीहरुले नै विश्वास गर्दैनन भने विश्वास गर्नेतिर नै लाग्दा वेश हुन्छ कि जस्तो लाग्न थाल्यो ।’

उनले आज मात्र पनि फेसबुकमा अर्को स्टाटस लेखेका छन्, ‘तातो पानीले घर जल्दैन । इखले मान्छे मर्दैन । दया लाग्न थाल्यो त्यस्ता मनुवाहरुसँग !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर