पहिले तीन सयको नोकरी गर्ने सञ्जिब अहिले करोडौंको फेसन स्टोरका मालिक – Nepal Press
संघर्ष र सफलता

पहिले तीन सयको नोकरी गर्ने सञ्जिब अहिले करोडौंको फेसन स्टोरका मालिक

जनकपुरधाम । जोकोहीले सफलताका लागि अनेक संघर्ष गरेको हुन्छन् । कसैको संघर्ष सफल हुन्छ त कसैको असफल । संघर्षलाई सफलतामा पुर्याउन सफल एक व्यवसायी हुन्– संजिव साह ।

१६ वर्ष पहिले मासिक तीन सय रुपैयाँमा मजदुरी गरेका साह अहिले करोडौंको फेसन स्टोरका मालिक भएका छन् । उनको संघर्ष र सफलताको कथा उत्प्रेरक छ । मिहनेत, लगाव, इच्छाशक्ति र श्रमलाई निरन्तरता दिएपछि सफलता प्राप्त गरेको उदाहरण बनेका छन्, संजीव ।

१० कक्षा अनुतीर्ण सञ्जिवको पारिवारिक आर्थिक स्थिति निकै कमजोर थियो । कक्षा चारमा पढिरहेकै बेला उनको बुवाको निधन भयो । त्यसैले उनले कक्षा १० सम्म त जसोतसो पढे । तर एसएलसी दिन पाएनन् । घर चलाउने जिम्मा उनको काँधमा आइपर्यो ।

उनी भन्छन्, ‘आर्थिक समस्याकै कारण धेरै पढ्न सकिन्नँ । बुवाको पनि निधन भएपछि घर चलाउन जनकपुरकै एउटा शृंगार पसलमा काम सुरु गरें । जहाँ मेरो तलब मासिक ३ सय रुपैयाँ थियो । यो करिब १६ वर्ष अगाडिको कुरा हो ।’

उनले करिब चार वर्ष उक्त पसलमा काम गरे । तर त्यहाँभन्दा बढी तलब दिने भएपछि उनले विशाल गार्मेन्टमा काम थाले । ‘विशाल गार्मेन्टका विशाल दाइले राम्रो साथ दिनुभयो’, उनले सुनाए, ‘तर विदेशमा बढी कमाइ हुन्छ भन्ने सोचेर दुबइ गए । त्यहाँ मेरो लाइफ स्टाइल नै चेन्ज भयो ।’

सेक्युरिटी गार्डको काम गर्न सन् २००९ मा दुबइ गएका उनलाई भाग्यले साथ दियो । कम्पनीका म्यानेजरले उनलाई सन् २०११ मा सिजी ग्रुपको सेल्समा लगे । उनी भन्छन्, ‘म्यानेजरले मलाई विश्वास गरे । त्यो विश्वासले नै मलाई सफल बनाएको छ ।’

विदेशमा ठूलो रकम कमाएकाहरु पनि गलत काम र अनुत्पादक क्षेत्रमा लगानी गरेर बर्बाद हुन्छन् । तर संजीव न कहिल्यै गलत काम गरे, न घाटना लाग्ने ठाउँमा लगानी गरे । चार वर्ष अगाडी उनी जनकपुरको जनकचोकमा डेढ करोडमा जग्गा किने ।

दुबईमा हुँदा उनी सोच्थे– ‘विदेशमा सधैं काम गर्न सक्दिनँ । एक दिन छाड्नै पर्छ ।’ भयो पनि त्यस्तै । विश्वभर कोरोना संक्रमणको महामारी फैलियो । उनी दुबइ छाड्न बाध्य भए । त्यसपछि उनी अब देशमै केही गर्ने सोचेर किनेको जग्गामा भवन ठड्याए ।

भवनको नाम जशोदा कम्प्लेक्स राखिएको छ । उनको आमाको नाम हो, जशोदा देवी । आमाकै नामबाट बनाएको भवनमा उनले एक करोड बढीको लगानीमा ‘सेन्टर प्वाइन्ट’ नामक ‘द फैसन स्टोर’ सञ्चालन गरेका छन् । आमा जशोदाबाटै रिबन काट्न लगाएर उनले स्टोरको औपचारिक शुभारम्भ गरेका थिए ।

‘विदेशमा १०–११ वर्ष काम गर्दा धेरै अनुभव प्राप्त भयो’, उनले भने, ‘त्यो अनुभवनलाई जन्मधर्ती जनकपुरमा केही नयाँ गरेर सदुपयोग गरौं भन्ने लाग्यो । त्यसैले नयाँ सोचका साथ द फैसन स्टोर सञ्चालनमा ल्याएँ ।’ एउटा परिवारलाई सबै समान एकै ठाउँमा उचित मूल्यमा दिनसक्ने उद्देश्यका साथ द फैसन स्टोर सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

उक्त रेडिमेट पसलले समान खरिद गर्दा उपभोक्तले मोटरसाइकलसहितका समान जित्ने बम्पर उपहार योजना पनि ल्याएको छ । उनका अनुसार प्रत्येक एक हजारको खरिदमा उपभोक्ताले एउटा स्क्रेच कुपन प्राप्त गर्छन् । छठसम्म जति जनाले कुपन पाउँछन्, त्यसलाई लक्की ड्र गरिन्छ । त्यसमा मोटरसाईकल, टिभी, होम थिएटर, स्ट्याण्ड फ्यान लगायतका १०१ समान जित्ने अवसर उपभोक्ताले पाउनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर