दलित बस्तीमा पुगेर सांसद सुदन किरातीले मनाए दसैँ – Nepal Press

दलित बस्तीमा पुगेर सांसद सुदन किरातीले मनाए दसैँ

भोजपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराती दलित बस्तीमा पुगेर दसैँ मनाएका छन् ।

गृहजिल्ला भोजपुरको रामप्रसादराई गाउँपालिका-१ मा पुस्तौंदेखि ‘बालिघरे प्रथा’ मा रहेका दर्जी र विश्वकर्मासँगै बसेर उनले विजया दशमीको खुसी साटासाट गरे । टीका कार्यक्रममा उपस्थित भएका दलित वृद्धवृद्धालाई सांसद किरातीले एकसरो कपडा उपहारस्वरूप दिँदै ढोगभेट गरेका छन् ।

ओख्रे निवासी मिठे दर्जी, मनकुमारी दर्जी, धुँवासे दर्जी, बुधमाया दर्जी र पवित्रा विश्वकर्मालाई नयाँ दौरा सुरुवाल र सारीचोलो पछ्यौरी उपहार दिएर ढोगभेट गर्दै मीठोमसिनो दसैँ मनाए ।

‘दसैँमा आफूले वर्षभरी गरेको कामको ज्याला उठाउन सुँगुरको पुच्छर र एकमाना चामल लिन घरघर आउने र आफूले खाएको भाँडा आफैँ धोएर जाने परम्परा थियो’, किराँतीले भने, ‘आज उहाँहरू वृद्ध हुनुभो मेरा बा-आमा जस्तै देखिने उहाँहरूको घर पुगेँ उहाँहरुसँगै सुख दु:खका कुराहरु गर्दै दसैँ मनाएँ ।’

किरातीले गणतन्त्र स्थापना भए पनि गणतान्त्रिक संस्कृति निर्माण हुन नसकेकोमा आफू राजनितिककर्मी भएको नाताले आत्मालोचित भएको बताए । ‘ दलित समुदाय अझै पनि मानिसको दर्जामा समाजमा स्थापित हुन सकेका छैनन् तर संविधानले भने जातीय विभेद र छुवाछुत प्रथा अन्त्य गरेको छ । यो प्रगतिशील संविधानलाई रक्षा गर्न र व्यवहारत: कार्यान्वयन गर्नको निम्ति पुर्खाहरूले जानअञ्जानमा गरेको छुवाछुतजस्तो जघन्य गल्तीप्रति आत्मपश्चाताप गर्दै माफी मागेको छु’, किरातीले नेपाल प्रेससँग भने ।

आफूले चुनेर पठाएको सांसद घरगाउँमै आएर दसैँ मनाएपछि भावविव्हल हुँदै दलित वृद्धवृद्धाले भने, ‘आफैँले कमाएको विष्टको छोरा आज सांसद भए हामीलाई सम्झेर दसैँ मनाउन आउनुभो हामी खुसी छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर