दसैँमा बीपीको आशीष- ठूलो होइन असल मान्छे बन्नू (भिडिओ) – Nepal Press

दसैँमा बीपीको आशीष- ठूलो होइन असल मान्छे बन्नू (भिडिओ)

दसैंसंग हरेक व्यक्तिका अविष्मरणीय क्षण जोडिएका छन् । मेरो जीवनमा पनि छन् । वीपी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्थ्यो । झट्ट सुन्दा देशकै पहिलो प्रधानमन्त्रीको छोरोले के दुःख पायो र ? भनेजस्तो हुन्छ । तर हाम्रो बाल्यकाल त्यस्तो रहेन । दसैं भन्नासाथ म वुवालाई स्मरण गर्छु । वुवाबिना दर्जनौ दसैं बितिसकेका छन् तर उहाँ हुँदाजस्तो कहिल्यै भएन । हुन त उमेरको हिसाबले बाल्यकालमा मनाइएका दसैंहरु बढी रमाइलो लागेका पनि होलान् ।

हामी बनारस बस्दथ्यौं । म स्कुल पढ्थे । वीपी जेलमा हुँदासम्म अने दुःख कष्ट भोग्नुपर्यो । सुशीला आमाले हाम्रो हेरचाह र हुर्काइमा कुनै कमी नहोस् भन्ने चाहनुहुन्थ्यो तर आर्थिक अभाव थियो । वुवा जेलमा रहुञ्जेल हामीले धेरै कष्ट भोग्यो । मिठो खान पनि गार्हो, राम्रो लगाउन पनि गार्हो । मान्छेहरुले भन्दा त नेपालको पिएमको परिवार हो तर अत्यन्तै कठिन समयबाट हामी गुज्रिएका थियौ । जब वीपी जेलबाट छुटेर आउनु भयो तबमात्रै हामीलाई सहज भयो । वीपीलाई उहाँका साथीहरुले धेरै सहयोग गरे । वीपी आएपछि मात्रै हामीले कार चढ्यौ । घरमा फ्रिज आयो । वुवा जेलबाट छुटेर आउनु नै हाम्रो जिन्दगीमा दसैं आएजस्तो भयो ।

बाल्यकालमा दसैंका केही स्मरणहरु मसंग अझै ताजा छन् । एकपटक मैले वीपीलाई भने – बुवा दसैं आयो, पाइन्ट किन्दिनुपर्यो ।

बुबाले सोध्नुभयो- कतिवटा छ पाइन्ट ?

मैले भने– ६-७ वटा होला

उहाँले सोध्नुभयो– कतिवटा लगाउँछौ ?

एउटा – मेरो उत्तर थियो ।

त्यसपछि वीपीले मलाई बनारसको दुधौलिया बजार लैजानुभयो । त्यहाँको ठूलो मार्केटमा लगेर बेच्नका लागि झुण्याएर राखेका पाइन्टहरु देखाउनुभयो । मलाई लाग्यो आज त वुवाले नयाँ नयाँ पाइन्ट किन्दिनुहुन्छ । तर वीपीको कुरा अर्कै थियो ।

‘ल यहाँ झण्ड्याएको सबै पाइन्ट तेरै हो भन्ठान् । आखिर लगाउने त एउटै हो, जुन तैले लगाइरहेकै छस् ।’

त्यसपछि त म झसंग भए । बुवाले मनोवैज्ञानिक हिसाबले ट्रिट गर्नुभएको रहेछ । साहित्यमा पनि उहाँको त्यो विशेषता रहेको पाइन्छ । वुवाले कपडाभन्दा किताब किन्न प्रेरित गर्नुभयो । हामीले पढ्ने मनोरञ्जनात्मक किताबको सट्टा गहन विषयमा लेखिएका किताब पढ्न भन्नुभयो । आज पनि पुस्तकहरु पढ्ने मेरो बानी छ । यसका पछाडि वुवाले बाल्यकालमा गरेको मार्गदर्शन नै निर्णायक रह्यो ।

दसैंको धेरै रमाइलो किस्साहरु विराटनगरसंग जोडिन्छ । विराटनगरमा हामीलाई खेल्न पनि प्रशस्त ठाउँ थियो । हाम्रो उमेरका केटाकेटी पनि धेरै थियों । दसैंमा मिठो खाने र राम्रो लाउने त छदै थियो , दक्षिणाको पनि प्रतिस्पर्धा चल्थ्यो । टीका लगाउने बेलामा आशीर्वाद भन्दापनि कत्ति पैसा देलान् भन्नेमा ध्यान हुन्थ्यो । दिनभरमा ५०–६० रुपैयाँ दक्षिणा हुन्थ्यो होला । दक्षिणा जोड्दा ६० रुपैयाँ पुगेको दिन त म सबैभन्दा धनी छु जस्तो लाग्थ्यो । भुइँमा खुट्टै हुदैन थियो । फेरी पैसा लिएर बजार गयो, मिलन रेष्टुरेण्टमा ब्रेस्ट कटलेट खाइन्थ्यो । दक्षिणाले केहीबेर धनी भए भन्ने बनाउँथ्यो, पछि त सक्किइहाल्थ्यो ।

अहिले सम्झँदा रमाइलो लाग्छ । जिन्दगीमा दक्षिणाभन्दा त आशीर्वाद नै चाहिँदो रहेछ । दक्षिणा त मास्सिएर गयो तर वुवा आमाले दिनुभएको आशीर्वाद अझै छ । वीपीकै प्रेरणाले म राजनीतिमा आएको हुँ । अनेक दुःख र कष्ट सहेरपनि वुवाले हाम्रो शिक्षा दिक्षा राम्रो गराउनुभयो । सानैदेखि इमान र आदर्शका कुरा सुनाउनुभयो । वीपीसंग जोडिएका धेरै क्षणहरु आजको पुस्तालाई सुनाउन योग्य छन् । तर दसैंको बेलामा वीपीका अरुभन्दा आशीर्वाद म सम्झन्छु ।

टीका लगाइदिएर वीपीले भन्नुहुन्थ्यो कि ठूलो मान्छे होइन असल मान्छे बन्नु । त्यो आदर्श पछ्याउन पाए हुन्थ्यो भन्ने लाग्छ । आज पनि म ठूलो बन्नका लागि प्रयास गर्दिन, सकभर मेरा कारणले कसैले दुःख नपाओस् भन्ने लाग्छ । राजनीतिमा लागेपछि त मसंग रिसाउने मान्छेहरु पनि बढे होलान् तर वीपीको छोराका रुपमा मेरा कारणले कसैलाई दुःख नहोस् भन्ने मेरो प्रयत्न रहन्छ । वीपीले दसैंमा आशीष दिएजस्तै ठूलो होइन असल मान्छे बन्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

(नेपाली कांग्रेसका महामन्त्री एवं स्वर्गीय वीपी कोइरालाका पुत्र डा.शशांक कोइरालासंग नकुल अर्यालले गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर