दसैंमा सटही हुन्छ ५५ अर्बको नयाँ नोट ! नोट बिगार्नेलाई जेल र जरिवाना – Nepal Press

दसैंमा सटही हुन्छ ५५ अर्बको नयाँ नोट ! नोट बिगार्नेलाई जेल र जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्येक वर्षको दसैंमा नयाँ नोट सटहीलाई विशेष प्राथमिकता दिने गरेको छ । दसैंको समयमा पुराना नोटको सट्टामा नयाँ नोट दिने प्रचलन रहेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थाले आफ्ना काउन्टर मार्फत नोट सटही सुविधा दिने गरेका छन् ।

विगतका वर्षहरुमा नयाँ नोट सटहीका लागि लामो लाइन हुने भएकाले नेपाल राष्ट्र बैंकले सुचना जारी गरि १ महिना अगाडी बाटै नयाँ नोट सटही सुविधा उपलव्ध गराएको छ । ५, १०, २०, ५०, १००, ५०० र १००० रुपैयाँका नयाँ नोट सटही सुविधा उपलव्ध गराउने गरिएको छ । प्रत्येक नोटका बण्डलहरुमा १०० नोट नोट राखिएको हुन्छ । सेवाग्राहीहरुले दसैंमा दान दक्षिणा दिनका लागि ५ देखि १०० सम्मका नोटहरु माग गर्ने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ५०० र १००० नयाँ नोटहरु अन्य नोटको तुलनामा कम माग हुने गरेको छ ।

दसैंमा मागका आधारमा नयाँ नोट सटही गरिने नेपाल राष्ट्र बैंकले बताए पनि प्राय प्रतिव्यक्ति १८ हजार ५०० सम्मको दिइने गरेको छ । बैंक तथा वित्तीय संस्थाले नयाँ नोट सटहीका लागि अतिरिक्त जनशक्ति र समय छुट्याउनुपर्ने तथा नोट ढुवानी एंव वितरणका लागि लाग्ने अतिरिक्त लागतलाई बिचार गरी उक्त सिमा निर्धारण गरिएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्षको दसैंमा ५० देखि ५५ अर्बको हाराहारीमा नयाँ नोट सटही गर्ने गरेको छ । यो वर्षको दसैंमा पनि उक्त हाराहारीमा नयाँ नोट सटही हुने अनुमान केन्द्रीय बैंककाे छ । ठ्याक्कै परिमाण नै तोकेर भन्दा पनि सेवाग्राहीको मागनुसार नयाँ नोट सटही गरिने गरिएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताए ।

‘पछिल्लो तथ्याङ्कनुसार करिब १४ अर्ब रुपैयाँ नयाँ नोट सटही भइसकेकोले यो संख्या थप बढ्ने देखिन्छ । हामीले सेवाग्राहीको मागनुसार नयाँ नोट सटही सुविधा उपलव्ध गराइरहेका छौं’, उनले भने ।

नोट बिगारे जेल र जरिवाना

सर्वसाधारण लाइन बसेर नयाँ नोट लिए पनि त्यसको संरक्षणमा भने पर्याप्त ध्यान दिएको पाइँदैन । नोट छप्पाइमा राज्यको सम्पति खर्च हुने कुरामा सर्वसाधारण वेखबर छन् । नेपाल राष्ट्र बैंकले छपाई गर्ने नयाँ नोटको गुणस्तरमा थुप्रै प्रश्नहरु उठे पनि सर्वसाधारणले यसको हिफाजतमा ध्यान नपुर्याउदा नोट चाँडै झुत्रो र मैलो देखिने गरेको छ ।

दसैंमा टिका लगाई दान दक्षिणा स्वरुप नयाँ नोट दिइने प्रचलन रहेकाले टिकामा प्रयोग भएको अविरका कारण नयाँ नोट चाडै मैलो हुने गरेको छ । यसैगरी नोट केरमेट गर्ने तथा अव्यवस्थित प्रयोगका कारण चाँडै बिग्रने गरेको छ ।

नेपालमा असावधानीपूर्वक नोटको प्रयोग कानूनी रुपमा दण्डित छ । मुुलकी अपराध संहिता २०७४ ले नोटमा फोहोर गर्ने जथाभावी कोरमेट गर्नेलाई ३ महिना जेल र ५ हजार जरिवानाको व्यवस्था गरेको छ । कानूनको प्रभावकारी कार्यान्वयनको अभावमा नोटको दुरुपयोग गर्ने अवस्था अन्त्य भने हुन सकेको छैन ।

दसैंमा छापिँदैन नयाँ नोट

सामान्यतया दसैंको समयमा नयाँ नोट सटहीको काम तीव्र हुने भएकोले अधिकांशलाई यहाँ बेला नयाँ नोट छापिन्छ भन्ने लागेको हुनसक्छ । तर राष्ट्र बैंकले दसैंमा नयाँ नोट छाप्दैन । दसैंभन्दा अगाडि नै छापेर भल्टमा सुरक्षित गरेर राखेको नयाँ नोट बजारमा पठाउने गरिन्छ ।

राष्ट्र बैंकले भविष्यमा आवश्यक पर्ने नोटको संख्या पुर्वानुमान गरेर ५ वर्षका लागि पुग्ने गरी नोटको मौज्दात सुरक्षित गरेको हुन्छ । सोही आधारमा नोट छपाई निरन्तरमा वर्षैभरि चल्ने गरेको छ । नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयले नयाँ र पुराना नोटका लागि छुटाछुट्टै भल्टको व्यवस्था गरेका हुन्छ । राष्ट्र बैंकमा खाता भएका तथा कानून बमोजिम प्रक्रिया पूरा गरी आएका बैंक तथा वित्तीय संस्थाले नोट प्राप्त गर्दछन् ।

दसैंबाहेकको समयमा पनि राष्ट्र बैंकले नयाँ तथा पुराना नोटहरु नियमितरुपमा पठाइरहेकै हुन्छ । तर, दसैंमा नयाँ नोटको विशेष माग हुने भएकाले नेपाल राष्ट्र बैंकले यो समयमा प्राथमिकताका साथ नयाँ नोट नै वितरण गर्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर