प्रियंका, भरतमणीदेखि सलोनसम्म : यस्तो छ सेलेव्रिटीको दसैँ प्लान – Nepal Press

प्रियंका, भरतमणीदेखि सलोनसम्म : यस्तो छ सेलेव्रिटीको दसैँ प्लान

काठमाडौं । दसैँको फेस्टिभ मुडले सबैलाई छोपिसकेको छ । सेलेव्रिटीदेखि सर्वसाधारण दसैँको तयारीमा जुटेका छन् । घुमघाम र सपिङदेखि गेट–टुगेदरसम्मका योजना बनाउन सबैजना व्यस्त छन् । अघिल्ला दुईवर्ष कोरोनाले बिथोलिएको दसैँ यसवर्ष लयमा फर्कने तयारीमा छ तर, कोरोनाको जोखिम पनि घटेको छैन । यस्तोमा सेलेव्रिटीले दसैँ प्लान बनाएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै केही कलाकारले दसैँ योजना सुनाए । कोही काठमाडौंका योजनालाई थाँती राख्दै गाउँ फर्कँदै छन् भने कोही काठमाडौंमै सेलिव्रेसन तयारीमा । केही सेलेव्रिटीले बाल्यकालको दसैँ अनुभव र स्मृति बाँडेका छन् ।

‘यसवर्षको दसैँ बेबी र परिवारसँगै’

अभिनेत्री प्रियंका कार्कीले गतसाता सन्तानलाई जन्म दिइन् । सामाजिक सञ्जालमा छोरी आयन्काको फोटो पोस्ट गरेपछि प्रियंका खुशि छिन् । यसवर्षको दसैँ छोरीसँगै मनाउने उनको तयारी छ । अरु योजना भने बनाएकी छैनन् । ‘यसपटक छोरी भएकाले अरु योजना बनाएको छैन । पहिले जसरी मनाउँथे, त्यसरी नै मनाउने योजना छ’ उनले भनिन् ।

‘खासै योजना बनाएको छैन । भर्खर बेबी पाएकी छु । हेर्दै जाउँ के हुन्छ । बाल्यकालको दसैं र अहिलेको दसैैंमा धेरै फरक छ । सानो हुँदा पैसा पाइन्छ भन्ने हुन्थ्यो भने ठूलो भएपछि आफन्तलाई भेट्न र उहाँहरुको आर्शिवाद लिन नै ठूलो कुरा हो जस्तो हुन्छ’ उनले भनिन् । उमेर बढ्दै जाँदा जिम्मेवारी पनि बढ्ने उनको भनाइ छ ।

‘ताप्लेजुङ पुगेर दसैँ मनाउँछु’

कमेडी च्याम्पियन सिजन–२ विजेता भरतमणी पौडेल गृहजिल्ला ताप्लेजुङस्थित घरमै पुगेर दसैँ मनाउने योजनामा छन् । मान्यजनको हातबाट आशिर्वाद लिने, आमाबुवा, हजुरबुवाको हातबाट टीका लगाउने र आफन्तकहाँ जाने योजनामा छन् उनी ।

उनले नेपाल प्रेससँग भने– बाल्यकालमा दसैँमा रमाइलो हुन्थ्यो । दसैँ आयो भनेपछि खेल्न पाइन्थ्यो । घरमा टाढा–टाढाबाट मान्छे आउनुहुन्थ्यो । एकदमै रमाइलो लाग्थ्यो ।’ साथीभाइ विदेशिएकाले पहिलेजस्तो दसैँमा उल्लास नहुने अनुभव भरतमणीको छ । ‘अहिले साथीभाइ विदेशिनु भएको छ । आफन्त पनि विदेशिनु भएको छ । कार्यव्यस्तताले गर्दा आउन पाउनुहुन्न । भेट हुन मन लागेको व्यक्ति पनि भेट हुँदैन । त्यही भएर अलिकति खल्लो लाग्छ’ उनले भने ।

बाल्यकालिन दसैँलाई लिएर भरतमणीका आफ्नै किस्सा छन् । उनी भन्छन्, ‘बाल्यकालको दसैंमा छुट्टै खालको रमाइलो हुन्थ्यो । आफूलाई केही टेन्सन हुँदैनथ्यो । अहिले कामको तनाव हुँदा दसैंलाई दसैंको रुपमा मात्र लिइन्छ । धेरै समय दसैंलाई दिन सकिँदैन । कामको व्यस्तताले गृह जिल्लाबाट छिटो फर्किनुपर्छ । पहिला जस्तो त्यति रमाइलो भने हुदैन ।’

‘दसैँ मनाउन ट्रक चढेर काठमाडौंदेखि झापा पुगेको छु’

अभिनेता विल्सनविक्रम राई टीकाको अघिल्लो दिनसम्म सुटिङमा व्यस्त हुनेछन् । टीका लगाउन चाहिँ उनी गृहजिल्ला झापा जाने तयारीमा छन् ।

तक्मे बुढाले चर्चित बनेका विल्सनसँग दसैँका रमाइला किस्सा छन् । उनी एकपटक दसैँ मनाउन ट्रकमा चढेर काठमाडौंदेखि झापामा पुगे । भन्छन्, ‘त्यसरी जाँदा आधा बाटोमा झार्देको छ । त्यहाँबाट फेरी तेलको ट्याङकरमा चढेर आएको छु । घरमा पुग्दा शरिरबाट पेट्रोलको गन्ध आइरहेको थियो ।’

बाल्यकालभन्दा अहिलेको दसैँ भिन्न हुने गरेको विल्सनको कथन छ । ‘बाल्यकालको दसैंमा बुवाआमाले नयाँ लुगा के किन्दिन्छन् भन्ने हुँदो रहेछ भने अहिले चैँ बच्चालाई के किन्दिउँ भन्ने हुँदो रहेछ’ उनी भन्छन् । अहिलेको दसैँमा परिवारसँगै बिताउने विल्सनको योजना छ ।

‘दर्शकसँगै फिल्म हेरेर दसैँ मनाउँछु’

अभिनेता सलोन बस्नेतका लागि यसवर्षको दसैँ खास हुनेछ । किनभने, उनको निर्माण रहेको फिल्म ‘डाँडाको वरपीपल’ फूलपातिको दिनमा प्रदर्शन हुँदैछ । उनले दसैँ मनाउनेबारे अन्य योजना भने बनाएका छैनन् । यसपटकको दसैँमा उनी हलमा पुगेर सँगै फिल्म हेर्ने योजनामा छन् । उनले भने, ‘फूलपातीको दिनमा मुभि रिलिज हुदै छ । यसवर्षको दसैँमा परिवार जमघट भएर पिकनिक जाने र घुमघाम गर्ने तयारी छ ।’

पारिवारिक जमघट हुने भएकाले वर्षेनी आफूहरुको दसैँ सम्झनयोग्य हुने सलोनको भनाइ छ । ‘दसैँमा हाम्रो दुईतीनवटा फेमिलीको गेट–टुगेदर हुन्छ । त्यही भएर प्रत्येक वर्षको दसैँमा रमाइलो हुन्छ’ उनी भन्छन्, ‘बच्चा बेलामा हामी मामाघर जाने गथ्र्यौँ । अहिले पहिला जसरी गइन्न । पहिला मामाघर गएर एक महिना बस्थँे भने अब भ्याइँदैन काममा व्यस्त भइन्छ ।’

‘गाउँको दसैँ अहिले पनि मिस हुन्छ’

गायिका टीका प्रसाई यसवर्षको दसैँमा सिन्धुली र झापा पुगेर मनाउने तयारीमा छिन् । झापामा रहेको घरमा पुगेर उनले टीका लगाउने भएकी छिन् । हिट गायिका टीकासँग पनि दसैँका रमाइला किस्सा छन् । उनलाई बाल्यकालको दसैँ नै प्यारो लाग्छ । भन्छिन्, ‘नबिर्सने खालको दसैँ चैँ बच्चा बेलाको नै हुँदो रहेछ । बच्चा बेलामा चैँ हामी जिम्मेवारी बाहिर हुन्छौ, केही टेन्सन पनि हुँदैन, रमाइलो नै रमाइलो हुन्थ्यो, नयाँ लुगा लगाउने मीठो खानेकुरा खाइन्थ्यो । पहिला–पहिला नयाँ लुगा लगाउन दसैँ पर्खिनुपथ्र्यो भने अहिले त्यस्तो हुँदैन ।’

गायिका भएकाले पनि दसैँयाम टीकालाई मनपर्छ । ‘गाउँमा हुँदा दसँैमा लाग्ने घाम नै अर्को हुन्थ्यो । धानहरु काट्न लागेको, धानमाथि माकुराको जालो, बिहान उठ्दा त्यो जालो घामले टल्केको, हावा सरर लागेको, पहँेलो जमरा र रातो टीका, हजुरवुबा हजुरआमाले दिएको आर्शिवादजस्ता यादहरु अहिले धेरै नै मिस हुन्छ’ उनी भन्छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *