हनुमानढोकाको दसैँघरमा राखियो जमरा – Nepal Press

हनुमानढोकाको दसैँघरमा राखियो जमरा

काठमाडौं ।काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापनाको पहिलो दिन आज विधिवत रुपमा जमरा राखिएको छ । आज बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा हनुमानढोकाकाे दसैँ घरमा जमरा राखिएको हो ।

घटस्थापना गरिएपछि हिन्दु नेपालीहरुको ठूलो पर्व दसैँ सुरु भएको छ। पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ।आजकै दिन दशैंको नवरात्र शुरु भएको छ ।

घटस्थापनाका दिन घरघरमा  कलशको स्थापना गरी देवी देवताको आह्वान गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको घटस्थापना गर्ने उत्तम साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको थियो । आज नजिकको नदी तथा चोखो ठाउँबाट माटो वा बालुवा ल्याएर विधिपूर्वक जमरा राखिने गरिन्छ ।

यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *