घटस्थापनाः जमरा किन र कसरी राख्ने ? – Nepal Press

घटस्थापनाः जमरा किन र कसरी राख्ने ?

आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यो नवरात्रको पहिलो दिन हो । आश्विन शुल्क प्रतिपदाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैंको विशेष रौनक रहन्छ ।

घटस्थापनाको दिनमा विधिपूर्वक भगवतीको आवाहन गरेर घटस्थापना गरिन्छ । साइतमा राखिएको जमरा दशमीको दिन आर्शीवादको रुपमा ग्रहण गरिन्छ । भगवतीको उपासना गरी दुर्गा भवानीमा विशेष तरिकाले जमरा राख्ने प्रचलन छ । केही ठाउँमा जौसँगै गहुँ, मकैलाई पनि जमरा उमार्न छर्ने गरिन्छ ।

नौ रथामा शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिरात्रिलाई पूजिन्छ । यसका साथै मातृशक्तिहरूमा ब्राहृमी, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्णवी, नारसिंही, ईश्वरी, लक्ष्मीको पनि पूजा हुन्छ । ९ दिनसम्म ९ दुर्गाको विशेष पूजा गरिन्छ ।

घटस्थापनाको दिन सबैभन्दा पहिला वैदिक विधिपूर्वक दीयो, कलश र गणेश स्थापना गर्नुपर्ने हुन्छ । अनि संकल्प वाच्यमा त्रित्रा र बैवृद्धीको पूजा गरेर दुर्गा भवानीको शुभ फल प्राप्तका लागि संकल्प गर्ने र सुख शान्तिको लागि गायत्रीको जप पनि गर्नुपर्छ ।

जमरा राख्नुअघि सके हवन गर्ने, नसके दशमीको दिन हवन गर्न सकिन्छ । हवन गरिसकेपछि मात्रै घटस्थापना गर्नुपर्छ ।

नजिकको नदी, जंगल वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएकोे जमराघर वा दसैँघरमा जमरा राख्नुपर्छ । त्यसपछि मात्रै स्थापना गरिएको कलश राख्नुपर्छ ।

देवीलाई घडामाथि थाली राखेर दुर्गा यन्त्र अष्टाजन लेखेर घटस्थापना गर्नुपर्छ । र घडाको वरिपरि राखिएको शुद्धमाटोमा जमरा छर्नुपर्छ ।

नवरात्रभर भगवती दुर्गाका नौ स्वरूपको पूजा घडामा अवस्थित थालीमा गरिन्छ ।

त्यसमा दुर्गा भवानी सपरिवारको सशक्तिको आवहान गरेर पूजा गर्नुपर्छ । पूजा गरेर जमरा राखियो भने पक्कै पनि हाम्रो सुख शान्ति समृद्धि हुन्छ ।

यसरी छरिएको जमरामा बिहान बेलुका नित्य पूजा गरेर ९ दिन ९ रात चोखो पानी हाल्नुपर्छ । र विस्तारै जमरा पहेँलो हुन थाल्छ ।

जमरा जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न मानिन्छ । जमरालाई दुर्गादेवीको प्रसादका रुपमा विजयादशमीको दिन टीकासँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

के हो जमरा ?

दुर्गा भवानीलाई सबैभन्दा मनपर्ने अन्नको रुपमा लिइन्छ जौलाई । दुर्गाको पूजा गर्दा जमरा आवश्यकता पर्ने भएकाले र अन्नहरुमा सबैभन्दा पहिले जौको उत्पति भएकाले पनि दसैंमा जौको जमरा राख्ने प्रचलन छ ।

जौ ६० दिनमा नै फल्छ । अनिकाल लाग्दा छिटो फल्ने अन्न भएकाले पनि यसको विशेष महत्व छ ।

जमरा आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । स्वास्थ्यको लागि पनि सुपाच्य, भोक लगाउने भएकाले जमरालाई महत्वका साथ लिइन्छ ।

दुर्गाको पूजा भएको बेला दसैँमा मात्र नभएर अरु बेलामा पनि हामीले भगवतीको पूजा आरधना गर्दा जमरा राख्ने गर्छौ ।

कसरी शुरु भयो जमरा राख्ने प्रचलन ?

वैधिक सनातन धर्मको आरम्भ एक अर्ब ९५ वर्ष पहिलेदेखि दशैँमा जमरा राख्ने परम्परा शुरु भएको बुझिन्छ । अहिले हामीले मनाइरहेका चाडपर्व अनाधि अर्थात हजारौँ वर्षअघिदेखि मनाउँदै आएको परम्परा हुन् ।

दुर्गा भवानीले आवश्यकताअनुसार आप्mनो हातहतियार उठाउनुपर्छ । मातृशक्तिलाई सबल बनाउन, देखाउन र समाजलाई एउटा दृष्टिकोण दिनको लागि दुर्गा भवानीको आरधना गरिन्छ ।

चारवटै नवरात्रमा जमरा राख्न मिल्छ ।

(संस्कृतविद् डा. भट्टराईसँग नेपाल प्रेसकर्मी शर्मिला पण्डितले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *