सन्दीप लामिछानेको काठमाडौं बाहिरियो, भैरहवा क्वालिफायरमा – Nepal Press

सन्दीप लामिछानेको काठमाडौं बाहिरियो, भैरहवा क्वालिफायरमा

काठमाडौं । अशान प्रियन्जनको अर्धशतकका बावजुद काठमाडौं किङ्ग्स–११ एभरेष्ट प्रिमियर लिग (ईपीएल)को इलिमिनेटरबाटै बाहिरिएको छ । बुधबाार भएको भैरहवा ग्लाडिएटर्सविरुद्धको खेलमा १६ रनले पराजित हुँदै इलिमिनेटरबाट बाहिरिएको हो ।

त्रिवि क्रिकेट मैदानमा १ सय ८९ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि ४८ बल खेलेका प्रियन्जनले ५ चौका र ४ छक्कासहित ६८ रनको इनिङ खेले । यस्तै, १४ बल खेलेका जनक प्रकाशले १ चौका र ३ छक्कासहित २८ रन जोडे । यस्तै अमित श्रेष्ठ १९ र दिनेश अधिकारीले १५ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भैरहवाका लागि आरिफ शेख, धमिका प्रसाद र कुशल मल्ले २÷२ तथा दुर्गेश गुप्पाले एक १ विकेट लिए । टस जितेर पहिलो इनिङमा काठमाडौंविरुद्ध आक्रमक ब्याटिङ गरेका शरदले २० बलमा ७ चौका र ३ छक्कासहित ४९ रनको शानदार इनिङ खेलेका थिए । यद्यपि, शरद ईपीएलकै सबैभन्दा छिटो अर्धशतक बनाउन १ रनले चुकेका थिए ।

भैरहवाका लागि छैठौं नम्बरमा ब्याटिङमा उत्रिएका शरदले पाँचौं विकेटका लागि कुशल मल्लसँग ७० रनको साझेदारी गरेका थिए । १ सय ५६ रनमा कुशललाई गुमाएपछि आरिफ शेखसँग ३० रनको साझेदारी गरेका थिए ।

अज्मतुल्लाह ओमारजाईको नाममा रहेको २१ बलको सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाउन शरद चुके । काठमाडौंका सन्दीप लामिछानेले फालेको अन्तिम ओभरको दोस्रो बलमा अमरसिंह रौतेलाको हातबाट शरद क्याच आउट भएका थिए ।

भैरहवाका लागि यसअघि प्रदीप ऐरीले २६ बलमा ३९, कुशल मल्लले २० बलमा ३२ तथा मोहमद आरिफ शेखले १५ रनको योगदान गर्दा धमिका प्रसाद १ रनमा अविजित रहे ।

काठमाडौंका लागि अन्तिम ओभरमा कप्तान सन्दीपले ३ रन खर्चेर २ विकेट लिएका थिए । सोही ओभरमा एक रनआउट पनि भएको थियो ।

यस्तै असान प्रियान्जनले २ तथा जितेन्द्र मुखिया, शेर मल्ल र जनक प्रकाशले १÷१ विकेट लिए ।

भैरहवा लिग चरणबाट तेस्रो तथा काठमाडौं चौथो हुँदै इलिमिनेटरमा आइपुगेका हुन् ।

जितसँगै दोस्रो क्वालिफायरमा पुगेको भैरहवाले बिहीबार पहिलो क्वालिफायरको पराजित टोली पोखरा राइनोजसँग फाइनल प्रवेशका लागि खेल्ने छ । बुधबार भएको पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगिसेकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर