ईपीएलः भैरहवाले काठमाडौंलाई दियो १ सय ८९ रनको लक्ष्य – Nepal Press

ईपीएलः भैरहवाले काठमाडौंलाई दियो १ सय ८९ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा कप्तान शरद भेसावकरको आक्रामक ४९ रन प्रेरित भैरहवा ग्लाडिएटर्सले काठमाडौं किङ्ग्स–११ लाई १ सय ८९ रनको लक्ष्य दिएको छ ।

जारी सिजनको इलिमिनेटरमा काठमाडौंविरुद्ध आक्रमक ब्याटिङ गरेका शरदले २० बलमा ७ चौका र ३ छक्कासहित ४९ रनको शानदार इनिङ खेले । यद्यपि, शरद ईपीएलकै सबैभन्दा छिटो अर्धशतक बनाउन १ रनले चुकेका थिए ।

भैरहवाका लागि छैठौं नम्बरमा ब्याटिङमा उत्रिएका शरदले पाँचौं विकेटका लागि कुशल मल्लसँग ७० रनको साझेदारी गरेका थिए । १ सय ५६ रनमा कुशललाई गुमाएपछि आरिफ शेखसँग ३० रनको साझेदारी गरेका थिए ।

अज्मतुल्लाह ओमारजाईको नाममा रहेको २१ बलको सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाउन शरद चुके । काठमाडौंका सन्दीप लामिछानेले फालेको अन्तिम ओभरको दोस्रो बलमा अमरसिंह रौतेलाको हातबाट शरद क्याच आउट भएका थिए ।

भैरहवाका लागि यसअघि प्रदीप ऐरीले २६ बलमा ३९, कुशल मल्लले २० बलमा ३२ तथा मोहमद आरिफ शेखले १५ रनको योगदान गर्दा धमिका प्रसाद १ रनमा अविजित रहे ।

काठमाडौंका लागि अन्तिम ओभरमा कप्तान सन्दीपले ३ रन खर्चेर २ विकेट लिएका थिए । सोही ओभरमा एक रनआउट पनि भएको थियो ।

यस्तै असान प्रियान्जनले २ तथा जितेन्द्र मुखिया, शेर मल्ल र जनक प्रकाशले १/१ विकेट लिए ।

भैरहवा लिग चरणबाट तेस्रो तथा काठमाडौं चौथो हुँदै इलिमिनेटरमा आइपुगेका हुन् ।

यो खेलको विजेताले पहिलो क्वालिफायरको पराजित टोली पोखरा राइनोजसँग भोलि फाइनल प्रवेशका लागि खेल्ने छ । बुधबार भएको पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगिसेकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर