चितवन फाइनल पुग्छ भन्ने कसैले सोचेको थिएन, तर मलाई विश्वास थियोः कप्तान सोमपाल – Nepal Press

चितवन फाइनल पुग्छ भन्ने कसैले सोचेको थिएन, तर मलाई विश्वास थियोः कप्तान सोमपाल

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको पहिलो फाइनलिस्ट चितवन टाइगर्स बनेको छ । बुधबार भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजविरुद्ध ९ विकेटेको जित निकाल्दै चिनवनले प्रतियोगितामा पहिलोपटक फाइनल यात्रा तय गरेको हो ।

विदेशी खेलाडीमा ठूला नाम नभएको र राष्ट्रिय टोलीका नियमित खेलाडीको बाहुल्य पनि नभएको हुँदा चितवनलाई धरैले कमजोर आँकेका थिए । तर, प्रतियोगिता सुरु हुनुअघि चितवन फाइनल पुग्नेमा आफूलाई विश्वास रहेको कप्तान सोमपाल कामी बताउँछन् ।

‘हामीले सुरु गर्दा कसैले पनि चितवन टाइगर्स फाइनल पुग्न सक्छ भन्ने कसैले सोचेको थिएन,’ पोखराविरुद्धको खेलपछि कप्तान सोमपालले भने, ‘आफ्नो कप्तानीमा टोली फाइनलसम्म पुग्दा एकदमै खुशी छु ।’

प्रतियोगिताअघि चितवनलाई दाबेदारको रूपमा नहेरिएको सोमपालको स्वीकोक्ति छ ।

उनी भन्छन्, ‘मलाई आफ्ना खेलाडीमाथि पूर्ण विश्वास थियो । सबै मैले बनाएको योजनाअनुसार हामी फाइनल खेल्छौं र उपाधि पनि जित्छौं भनेर मैले टिम मालिकलाई पनि भनेको थिएँ ।’

सन् २०१८ मा चौथो स्थानमा रहेर प्लेअफसम्म पुगेको चितवन भैरहवा ग्लाडिएटर्ससँग इलिमिनेटरमा पराजित हुँदै घर फर्किएको थियो । त्यसअघि सन् २०१७ मा हालसम्मकै सबैभन्दा खराब नतिजा निकाल्दै छैठौं अर्थात् अन्तिम स्थानमा सीमित भएको थियो ।

जारी सिजन अघिसम्म कसैले दाबेदारको रूपमा नहेरेको चितवनले यो संस्करणमा शानदार फाइनल यात्रा तय ग¥र्यो । सुरुआती चार खेलमा जित हासिल गर्दै रवाफिलो शैलीमा फाइनलमा पुगेको चितवनले लिग चरणको अन्तिम खेल मात्र हारेको थियो ।

यद्यपि, उक्त खेलमा चितवनले टोलीका प्रमुख खेलाडीहरूलाई मैदानमा उतारेको थिएन । कप्तान सोमपालसमेत अनुपस्थित त्यो खेलमा चितनवको कप्तानी दिलिप नाथले गरेका थिए ।

विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको चितवनले दोस्रो खेलमा काठमाडौं किङ्ग्स–११ लाई तीन विकेटले हरायो । त्यस्तै तेस्रो खेलमा पोखरालाई ९ विकेटले र चौथो खेलमा ललितपुर प्याट्रिओट्सलाई ५ विकेटले हराएको चितवनले पाँचौं खेलमा भैरहवा ग्लाडिएटर्ससँग ६ विकेटको हार व्यहोरेको थियो ।

सहजै फाइनल यात्रा तय गरेको चितवनले आज भएको क्वालिफायरमा ९ विकेटको फराकिलो जित निकाल्यो । त्रिवि क्रिकेट मैदानमा पोखराविरुद्धको टसमा आफूहरू भाग्यशाली रहेको कप्तान सोमपाल बताउँछन् ।

‘अस्ति पानी परेकोले चिसो विकेटमा टस महत्त्वपूर्ण थियो, हामीले भाग्यवस टस पनि जित्यौं,’ सोमपालले भने, ‘पेस बलरले पनि राम्रो बलिङ गरे । र स्पीनर आएर उत्कृष्ट प्रदर्शन गरे ।’

बुधबार पोखराविरुद्धको खेलमा चितवनका लागि दुई स्पीनर सागर ढकाल र साहब आलमले ४÷४ विकेट लिएका थिए । सागरले आफ्नो कोटाको चार ओभर बलिङ गर्दै १४ रन मात्र खर्चेका थिए । अझै किफायती बलिङ गरेका साहबले समान ४ ओभरमा १० रन मात्र खर्चेका थिए ।

आफ्नो टोलीका सबै खेलाडीले आफ्नो ‘होमवर्क’ राम्रोसँग गरेको बताउँदै सोमपालले फाइनलमा आनन्द लिएर खेल्ने बताए ।

‘फाइनल महत्त्वपूर्ण छ, तर प्रेसर धेरै हुँदैन । फाइनल पुग्न चाहीँ प्रेसर हुन्छ,’ उनले भने, ‘फाइनल पुगिसकेपछि सबैको लक्ष्य आफ्नो सतप्रतिशत दिने नै हो । जति पनि योजना बनाएको हुन्छ, त्यसमा २ सय प्रतिशत दिनुपर्ने हुन्छ ।’

तर, चितवनले फाइनलमा इन्जोए गरेर खेल्ने सोमपालले बताए ।

‘फाइनल चाहीँ अब इन्जोए गर्ने हो,’ उनले भने, ‘खेलाडीलाई कसरी क्यारी गर्न सकिन्छ त्यसमा काम गर्नेछौं ।’

चितवनले फाइनल खेल्ने सम्भावित तीन टोली– भैरहवा ग्लाडिएटर्स, पोखरा राइनोज र काठमाडौं किङ्ग्स–११ हुन् । यीमध्ये एक टोलीसँग चितवनले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

बुधबार त्रिवि क्रिकेट मैदानमा अहिले जारी इलिमिनेटरमा काठमाडौं र भैरहवा भिड्दै छन् । यो खेलको विजेताले दोस्रो क्वालिफायरमा पोखरासँग बिहीबार खेल्ने छ । उक्त खेलको विजेताले चितवनसँग २३ गते प्रतिस्पर्धा गर्नेछ ।

फाइनलमा कुन टोलीसँग खेल्न चाहनुहुन्छ भन्ने सवालमा सोमपालको रोचक जवाफ थियो– ‘म आफूलाई देख्न चाहन्थेँ, अर्को उनीहरूले सम्हाल्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *