सांसदले पाएनन् दसैँ खर्च, यस्तो छ कारण – Nepal Press

सांसदले पाएनन् दसैँ खर्च, यस्तो छ कारण

काठमाडौं । अर्थमन्त्रालयले बजेटसम्बन्धी निर्णय नगर्दा यस वर्ष संघीय संसदका सदस्यले दसैँ भत्ता नपाउने भएका छन् । ऐनअनुसार मासिकरूपमा पाउने सेवा सुविधा पाए पनि दसैँ भत्ता भने सांसदले नपाएको संसद सचिवालयका प्रवक्तासमेत रहेका सहसचिव डा. रोजनाथ पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले नेपाल प्रेससँग भने, ‘२ वर्षअघि मन्त्रिपरिषद् बैठकले निर्णय गरेर दसैँ भत्ता उपलब्ध गराइएको थियो । गत वर्ष मन्त्रिपरिषद् बैठकले नै उपलब्ध गराउने निर्णय गरे पनि सबै सांसदले फिर्ता गर्नुभयो । यस वर्ष मन्त्रिपरिषद् बैठकले पनि निर्णय गरेन र अर्थमन्त्रालयले पनि उपलब्ध गराएन ।’

दसैँ भत्ता नगए पनि असोजको मासिक तलब र सेवा सुविधा भने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यले प्राप्त गरेका छन् । असोजको मासिक तलब २ करोड ७ लाख ५९ हजार र सांसदका पीएका लागि १ करोड ८२ हजार उपलब्ध गराइसकिएको संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार सरकारले चालु आर्थिक वर्षदेखि वृद्धि भएको नयाँ तलबमान अनुसार नै सांसदलाई मासिक तलब उपलब्ध गराइएको हो ।

बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदले मासिक ६६ हजार ७० रूपैयाँ पाउँदै आएका छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ जना सांसद छन् भने राष्ट्रियसभामा ५९ जना सदस्य रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर