कांग्रेसका बाँकी मन्त्री : मिनेन्द्र कन्फर्म, दिलेन्द्र र तेजुलालमध्ये को ? – Nepal Press

कांग्रेसका बाँकी मन्त्री : मिनेन्द्र कन्फर्म, दिलेन्द्र र तेजुलालमध्ये को ?

काठमाडौं । सत्तारुढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै दलहरू मन्त्री छान्न आन्तरिक छलफलमा छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि सम्भावित मन्त्रीको नामबारे चर्चा सुरू भएको छ ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग मन्त्रीका लागि २ जनाको नाम मागेका छन् । कांग्रेसको भागमा ६ वटा मन्त्रालय पर्ने निश्चित भएसँगै पौडेल पक्षबाट को मन्त्री बन्ला भन्नेमा चासो बढेको छ । कांग्रेसले गृह, परराष्ट्र र कानून मन्त्रालय लिइसकेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्रीको जिम्मेवारी दिने वा अरुलाई नै मन्त्री बनाउने भन्ने निधो प्रधानमन्त्री देउवाले गरिसकेका छैनन् ।

पौडेल पक्षले कम्तीमा ३ मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको छ । सभापति देउवाले भने २ मन्त्रीको नाम मागेको अवस्था छ । ‘कांग्रेसको मन्त्री नै ६ जनामात्रै हुने भएपछि २ जनाभन्दा बढी मन्त्री हुन गार्‍हो छ । सकभर ३ पुर्‍याउन सकिन्छ भनेर कसरत जारी छ’, पौडेल पक्षका एक नेताले भने ।

पौडेल पक्षबाट मन्त्री बन्ने डा. मिनेन्द्र रिजाल कन्फर्मजस्तै छन् । रिजाललाई संचार या स्वास्थ्यमध्ये एक मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ । यसअघि अर्थ र परराष्ट्रमा दावी गरेका रिजाललाई ‘वजनदार’ मन्त्रालय दिन वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालासँगै प्रधानमन्त्री देउवा पनि सकारात्मक छन् ।

पौडेल पक्षले कम्तीमा ३ मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको छ । सभापति देउवाले भने २ मन्त्रीको नाम मागेको अवस्था छ । ‘कांग्रेसको मन्त्री नै ६ जनामात्रै हुने भएपछि २ जनाभन्दा बढी मन्त्री हुन गार्‍हो छ । सकभर ३ पुर्‍याउन सकिन्छ भनेर कसरत जारी छ’, पौडेल पक्षका एक नेताले भने ।

‘पर्फमेन्स गर्नसक्ने मन्त्रालयमा उहाँको चर्चा छ । कांग्रेसको भागमा परेको मध्ये कि त सञ्चार कि त स्वास्थ्य नै उपयुक्त होला’, प्रधानमन्त्रीनिकट एक नेताले भने । रिजाल यसअघि सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा सञ्चारमन्त्री रहीसकेका छन् । त्यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा रिजाल संस्कृतिमन्त्री थिए ।

ती नेताका अनुसार पौडेल पक्षबाट मन्त्री बन्ने दोस्रो व्यक्ति दिलेन्द्रप्रसाद बडु वा तेजुलाल चौधरी हुनेछन् । बडु लोकतन्त्रप्राप्ति पश्चात गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा क्याबिनेट हैसियतसहित सञ्चार राज्यमन्त्री थिए । देउवा नेतृत्वको अघिल्लो सरकारमा युवा तथा खेलकुद राज्यमन्त्री रहेका तेजुलाल यसपाली मन्त्रीको लाइनमा छन् । वरिष्ठ नेता पौडेल चौधरीलाई मन्त्री बनाउन सकरात्मक छन् ।

संस्थापनइतर समूहभित्र पूर्वमहामन्त्री प्रकाशमान सिंहले राजन केसीलाई मन्त्री बनाउन चाहेका छन् । संस्थापनइतर पक्षले २ मन्त्री पाएमा रिजाल र चौधरी मन्त्री बन्ने र थप मन्त्रालय भएमा बडु र केसीमध्ये एकजना मन्त्री बन्ने कांग्रेस स्रोतको दावी छ ।

प्रधानमन्त्री देउवालाई आफ्नै समूहभित्रका पुष्पा भुसाल, किशोरसिंह राठौर, डिना उपाध्याय लगायतलाई मन्त्री बनाउनसमेत दवाव छ । त्यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई पनि सरकारमा समेट्नुपर्ने बाध्यता देउवासामु छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर