बचतकर्ताको ७० करोड ठगी आरोपमा पक्राउ परेका इच्छाराजसहित १२ जनाको नाम सार्वजनिक (सूचीसहित) – Nepal Press

बचतकर्ताको ७० करोड ठगी आरोपमा पक्राउ परेका इच्छाराजसहित १२ जनाको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । संगठितरूपमा सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका इच्छाराज तामाङसहित १२ जनाको नामावली सार्वजनिक भएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरोले सोमबार पक्राउ गरेका १२ जनाको नामावली सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष, पूर्वसभासद एवं सिभिल बैंकका अध्यक्ष ५७ वर्षका इच्छाराज तामाङ, ६२ वर्षका सहकारी संसथाका संचालक समिति अध्यक्ष केशवलाल श्रेष्ठ, ६२ वर्षका सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिसटेन्ट मेनेजरहरू ५० वर्षका मायोनानी महर्जन, ४४ वर्षका एलिना तुलाधर रहेका छन् ।

यस्तै जुनियर अधिकृत ४५ वर्षका शंकरप्रसाद पाठक, २५ वर्षका असिसटेन्ट संगित श्रेष्ठ, ३३ वर्षका लेखा अधिकृत राकेश महर्जन, ४० वर्षका जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ जुनियर सहायक प्रबन्धक ३७ वर्षका कौस्तुभकेतन ढुंगाना छन् । यस्तै सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह ४६ वर्षका पूर्वलेखा समिति सदस्य हरिहर लामिछानेलाई पनि पक्राउ गरिएको छ ।

सिभिल सेभिङ एण्ड क्रेडिटको अपरेटिभ लिमिटेडका निक्षेपकर्ता सदस्यले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि खाताबाट रकम झिक्नको लागि पटक-पटक ताकेता गर्दा पनि फिर्ता नपाएको प्रहरीको भनाइ छ ।

सहकारीको बचत तथा मुद्दती खातामा रहेको ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रूपैयाँ संगठित रूपमा ठगी गरिएको भन्दै संलग्नमाथि कानूनी कारवाहीको मागसहित १ सय ३७ बचतकर्ताले उजुरी दिएका थिए ।

कोही कसैले रकम तथा ब्याज नपाएको भए कारवाहीको लागि ब्यूरोमा सम्पर्क गर्न आग्रह गरिएको प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर