असन बजार– भीड थामिनसक्नु, तर छैन सोचेजस्तो व्यापार – Nepal Press
लाग्यो दसैं

असन बजार– भीड थामिनसक्नु, तर छैन सोचेजस्तो व्यापार

काठमाडौं । नेपालीको ठूलो चाड दसैं नजिकिएसँगै काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड, महाबौद्धलगायत बजारमा किनमेल गर्नेको भीड बढेको छ । तर, भीड बढेअनुसार व्यापार नभएको गुनासो गर्छन्, व्यापारीहरु ।

कोरोना महामारीको प्रवाह नगरी बजारमा बिहानैदेखि साँझ अबेरसम्म उपभोक्ताको भीड लाग्छ, काठमाडौंका प्रमुख बजारहरुमा । दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा र इलेक्ट्रोनिक सामग्रीको पसलमा ग्राहकको अत्यधिक भीडा देखिन्छ । तर जति नै भीड भए पनि अपेक्षाकृत व्यापार नभएको बताउाछन्, इन्द्रचोकका कपडा व्यापारी सौरभ शाक्य । भन्छन् ‘भीड त यस्तो छ तर, व्यापार भने धेरै हुन सकेको छैन ।’

एकजनाका लागि कपडा वा अन्य सामग्री किन्न परिवारका दुई–तीन सदस्य नै आउने गरेकाले भीड बढी भएको शाक्यको बुझाइ छ । भीड चाहिँ यति हुन्छ कि, टाढाबाट सामान किन्न आएकाहरु भीड देखेरै फर्कने गरेका छन् ।

भक्तपुरकी सुजा अधिकारी दसैंको किनमेलका शनिबार असन गएकी थिइन् तर, औधी भीड भएपछि उनी किनमेल नगरी फर्किइन् । उनले भनिन्, ‘दुई घण्टा त भीड छिचोल्नै लाग्यो । सामान हेर्नसक्ने स्थिति नै नभएपछि किनमेल नै नगरी फर्किएँ ।’

पसलहरुमा मात्रै होइन, सडकपेटीमा पनि उतिकै भीड थियो । सटरवाला पसलमा भन्दा पनि फुटपाथका पसलमा किनमेल गर्नेहरु बढी देखिन्थे । फुटपाथमा सस्तोमा सामान पाउने भएकाले बढी भीड भएको व्यापारी तथा ग्राहकहरु बताउँछन् ।

पाँच वर्षदेखि विशाल बजारको भित्री सडकपेटीमा बच्चाको कपडा व्यापार गर्दै आएका सिन्धुपाल्चोकका व्यापारी राज बराइली भन्छन्, ‘दसैंका कारण व्यापार राम्रो भएको छ । १०–१५ जना ग्राहकले घेरिएको बीचबाट बोलेका उनले एक सातायता दैनिक २० देखि ३० हजारसम्मको व्यापार गरिरहेको बताए ।

नजिकैको सुन पसल भने सुनसान थियो । पछिल्लो समय सुनको मूल्य बढेका कारण चाडपर्व नै भए पनि ग्राहकले खासै सुनचाँदी खरिद गरेका छैनन् ।

यसैगरी साडी र कुर्ता पसलमा भने ग्राहकको भीड देख्न सकिन्छ । भीडअनुसारको अपेक्षीकृत व्यापार नभएको बताउँछन् साडीकुर्ता व्यापारी पवनपुत्र । उनका अनुसार यो भीड देख्दा लाग्छ दिनमै लाखौंको व्यापार हुनुपर्ने हो । तर, त्यसो हुन सकेको छैन ।’

गतवर्ष पनि कोरोनाका कारण दसैं व्यापार खासै नभएको व्यापारीहरुले बताएका छन् । पोहोरको तुलनामा भने यसपालि बढी व्यापार भएको उनीहरुको अनुभव छ । ‘धेरैले कोरोनाविरुद्ध खोप लगाएका कारण पनि यसपालि चहलपहल पोहोरको भन्दा बढेको छ’, एक व्यापारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर