२५ सयको विन्दुमा झर्‍यो नेप्से, बियरिस भने नभएको विज्ञको भनाइ – Nepal Press

२५ सयको विन्दुमा झर्‍यो नेप्से, बियरिस भने नभएको विज्ञको भनाइ

काठमाडौं । नेप्से परिसूचक आज करिब ५६ अंकले घटेपछि लगानीकर्ता थप मर्माहित भएका छन् । ३२९८ विन्दु पुगेको नेप्से करिब ४५ दिनयता घटेर २५ सय विन्दुमा ओर्लिएको छ ।

अहिले बजार कारोबार मात्र घटेको छैन, सरकारले लिँदै आएको राजश्व गुमेको छ भने २५ सयमाथि लगानी गरेका लगानीकर्ताले सावाँभन्दा धेरै गुमाइसकेका छन् भने पुराना लगानीकर्ताले पनि अर्बौं रूपैयाँ गुमाउन पुगेका छन् । २५ सयको विन्दुमा सेयरबजार ओर्लिएपछि अहिले लगानीकर्ता नेप्से बियरिसतर्फ धकेलिएको पो हो कि भनेर झनै पेनिक बन्न थालेका छन् । र, केही लगानीकर्ताले ‘पेनिक सेल’ लाई जारी राखेका छन् । तर, अहिले नेप्से बियरिसमा गइनसकेको बताउँछन् सेयर विश्लेषक प्रकाश तिवारी ।

‘बुलिस र बेयरिसको ट्रेन्ड तीन/तीन वर्षको हुन्छ । बुलिस ट्रेन्ड सकिन अझै डेढ बर्ष बाँकी नै छ । यसैले अहिले नेप्से बियरिस मै गएको भन्न मिल्दैन् । तर, बजारमा ठूलै करेक्सन भने आएको पक्कै हो’, तिवारीले भने ।

बजारमा करेक्सन आएपछि फर्कनेमा कुनै दुईमत नभएको भन्दै लगानीकर्ताले धैर्यता नगुमाउनु आग्रह गरे । विगतका दिनमा पनि ठूलो अंकले नेप्से बढेपछि पुनः बियरिस नटुंगिदै ठूला-ठूला करेक्सन आउने हुनाले लगानीकर्ताको धैर्यता नै सबैभन्दा ठूलो सम्पत्ति भएको उनको भनाइ छ ।

गत वर्ष ११ सयको हाराहारीमा रहेको नेप्से करिब ३३ सयको विन्दुमा पुगेको थियो । आज नेप्से परिसूचक ५५.९३ अंकले घटेको छ । आज ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर किनबेचमा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

विकास बैंक, हाइड्रोपावर, फाइनान्स, लगानी समूहमा कम्पनीको सेयर मूल्यमा उच्च अंकले गिरावट आएको छ । आज अपि हाइड्रोपावर कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै १५ करोड बराबरको भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर