कर्णालीका चार मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण – Nepal Press

कर्णालीका चार मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण

बुझाउनेले कहाँ, के, कति भएको बुझाए ?

सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले अझैसम्म सम्पत्ति विवरण बुझाएका छैनन् । ऊर्जा तथा सिंचाइमन्त्री दिनबन्धु श्रेष्ठ, सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले अझैसम्म सम्पत्ति नबुझाएको पाइएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपाली, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले भने सम्पत्ति विवरण बुझाएका छन् ।

स्रोतका अनुसार मुख्यमन्त्री शाही र मन्त्री बुढाले पनि २०७४ सालयता सम्पत्ति विवरण अद्यावधिक गरेका छैनन् ।

मुख्यमन्त्री शाहीले टिकापुरमा श्रीमती चन्द्राकुमारी शाहीका नाममा कैलालीको टीकापुरमा दुई लाख ३५ हजारमा १६ हजार ९५० वर्गमिटर जग्गा खरिद गरेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री शाहीको सम्पत्ति विवरणअनुसार एभरेष्ट बैंकमा दुई लाख र राष्ट्रिय वाणिज्य बैंकमा पाँच लाख रुपैयाँ भएको र त्यो रकम तलब तथा व्यापारबाट कमाएको उल्लेख गरेका छन् ।

त्यस्तै, कृषि सहकारी संस्था (ठाउँ र ठेगाना उल्लेख नभएको)मा संस्थापक सदस्य १० हजार सेयर रहेको र शाही नै अध्यक्ष रहेको सुर्जा मल्टीप्रपोज प्रालिमा १० लाख रुपैयाँ लगानी रहेको उल्लेख छ । आफ्नो नाममा मारुतीकार रहेको मुख्यमन्त्री शाहीले उल्लेख गरेका छन् ।

यसका अलावा मुख्यमन्त्री शाहीको कालिकोटको पचालझरना गाउँपालिका–९ मा पाँच रोपनी जग्गा रहेको, धनबहादुर शाहीका नाममा २५ हजार वर्गमिटर जग्गा रहेको (नाता उल्लेख नगरिएको) र सुन ६ तोला, चाँदी दुई सय तोला पुख्र्यौली सम्पत्ति रहेको उल्लेख गरिएको छ ।

शाहीले मुख्यमन्त्री भएपछि ७ चैत ०७४ मा पेस गरेको सम्पत्ति विवरणमा पाँच हजार कुखुरापालन गरेको र त्यो १० लाखमा खरिद गरेको उल्लेख गरेका छन् । कुखुरापालन गर्ने ठाउँ र ठेगाना उल्लेख गरिएको छैन ।

त्यस्तै, दुई लाख ५० हजारमा फलफूल तथा तरकारी उत्पादन गर्ने गरेको उल्लेख गरेका छन्, त्यसको पनि ठाउँ र ठेगाना उल्लेख गरिएको छैन ।

सम्पत्ति विवरणअनुसार कसैले दाइजो धेरै पाएका छन् भने कसैले पुख्र्यौली सम्पत्तिबाहेक अन्य केही नभएको उल्लेख छ ।

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले श्रीमती अञ्जु दहितका नाममा दाइजो स्वरूप बर्दियामा जग्गा प्राप्त गरेको उल्लेख गरेका छन् ।

बर्दियाको बारबर्दिया नगरपालिका–६ मा पाँच लाखमा श्रीमती अञ्जुका नाममा ३३८ दशमलव ६३ वर्गमिटर जग्गा खरिद गरेका छन् । अञ्जुका नाममा सोही नगरपालिकाको वडा नम्बर ११ मा ३४०, १३ सय ५५ वर्गमिटर, ३९३५ दशमलव ४८ वर्गमिटर जग्गा बकस पाएको शर्माले उल्लेख गरेका छन् । त्यस्तै नौ लाख ६० हजारमा खरिद गरेको सोही नगरपालिका वडा नम्बर ५ मा ३३८६ दशमलव ३० वर्गमिटर जग्गा पाँच लाख ऋण सापटीमा किनेको र श्रीमतीको नाममा दुई तोला सुन माइतीबाट दाइजोस्वरुप उनले जनाएका छन् ।

त्यस्तै, शर्माको एनआइसी एसिया बैंकमा एक लाख ५२ हजार ४२५ रुपैयाँ पारिश्रमिक बैंकमा बचत रहेको, अञ्जुको नाममा साइन रेसुङ्गा डेभलमेन्ट बैंकमा पाँच लाख ३९ हजार चार सय ५५ रुपैयाँ सेवासुविधा जग्गा बिक्री तथा व्यवसायिक आय भएको, श्रीमतीकै नाममा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ३३ हजार रुपैयाँ बचत रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन् ।

शर्माले श्रीमतीको नाममा आस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा १० हजार कित्ता सेयर रहेको र श्रीमतीका नाममा बारबर्दिया नगरपालिका काष्ठ फर्निचर उद्योगसमेत रहेको उल्लेख गरेका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले बुझाएको सम्पत्ति विवरणमा श्रीमान रामबहादुर चपाईका नाममा लेकबेसी नगरपालिका–४ मा आठ कट्टा जमिन रहेको र ऐलानी जग्गामा दुई तले घर बनाएको उल्लेख गरेकी छन् ।

सुर्खेतको लेकबेसी नगरपालिका–१ मा २७३२ दशमलव ४२ वर्गमिटर जग्गो, एनआइसी एसिया बैंकमा एक लाख ५० हजार रुपैयाँ नगद र प्राइम सहकारीमा ६ लाख ७१ हजार ८१२ रुपैयाँ बचत रहेको पनि उनको विवरणमा उल्लेख छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले २०७४ सालमै बुझाएको सम्पत्ति विवरणमा डोल्पाको ठूलीभेरी नगरपालिका–४ मा हजारौं वर्गमिटर जग्गा पुख्र्यौली सम्पत्ति, १५ तोला सुन र एक किलो चाँदी रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *