प्रचण्डको दावीः म नै देशको हिरो भन्ने स्थापित भयो (भिडिओ) – Nepal Press

प्रचण्डको दावीः म नै देशको हिरो भन्ने स्थापित भयो (भिडिओ)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफूलाई ‘देशको हिरो’का रुपमा व्याख्या गरेका छन् । आफूलाई पहिले देवता र पछि दानवको रुपमा चित्रण गरिएको भन्दै उनले अब आफू मान्छे बन्न लागेको बताए ।

माओवादीको प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले रमाइला भाषण गर्दै कार्यकर्ता हँसाएका थिए । पार्टीमा उत्पन्न विवादलाई फिल्ममा नायक र खलनायकको द्वन्द्वसँग उनले तुलना गरे ।

माओवादीले छोडिदिने हो भने देशै दुर्घटनामा पर्ने स्थिति रहेको प्रचण्डले दावी गरे । त्यसैले आगामी चुनावमा माओवादी एक नम्बर हुनैपर्ने उनको तर्क थियो ।

प्रचण्डकाे भाषण यस्तो थियो–

प्रतिगामीहरुले जनतामा के स्थापित गर्न खोजेका थिए भने माओवादी आन्दोलन अब सकियो । प्रचण्डको राजनीतिमा केन्द्रीय भूमिका छैन भन्ने बनाउन थुप्रै बल गरियो । प्रतिगामी, सामन्ती, प्रतिक्रियावादी, दरवारियाहरुले यस्तोभन्दा मलाई कुनै परवाह थिएन । उनीहरुले त पहिलेदेखि नै भनिरहेका हुन् । तर, जब उनीहरुको कुरा सुनेर हाम्रै साथीहरुले ‘हो कि क्या हो’ भन्ने सोच्न थाले, त्यसपछि मलाई चिन्ता भयो । साथीहरुको अनुहार मलिनो, निराश देखेपछि पीडा हुँदो रहेछ क्या !

तपाईंहरुले फिल्ममा हेर्नुभएको होला । खलनायकले कसरी भ्रम छर्छ । हो कि जस्तो पारिदिन्छ । नायककी प्रेमिकालाई पनि भ्रममा पार्छ । उनलाई पनि लाग्छ कि नायकले मलाई धोका दिन्छ कि क्या हो । हो त्यसैगरी हाम्रो पार्टीमा पनि साथीहरुमा भ्रम फैलाइयो । तर, अन्तिममा जित त नायककै हुने हो । खलनायकको त हुँदैन ।

आजभोलि थुप्रै विदेशी कूटनीतिज्ञसँग बिहानदेखि बेलुकासम्म मेरो कुरा भइराख्या छ । देशकै नागरिक अगुवा, पत्रकार, बुद्धिजिवीसँग पनि मेरो कुरा भइराख्या छ । पार्टीका देशभरका साथीहरुसँग पनि सम्पर्कमा छु । आजभोलि सबैले बुझ्नुभएको छ, को नायक र को खलनायक हो । देशको हिरो भनेको माओवादी र प्रचण्ड नै हो भन्ने फेरि स्थापित भयो ।

हिजो माओवादी जनयुद्धका क्रममा आफ्नो देवत्वकरण बढी भएको र अहिले दानवीकरण बढी भइरहेको प्रचण्डले गुनासो गरे ।

हिजो प्रचण्डपथको प्रवर्तक भनिएँ माओवादीकालमा । कहीँ कतै मेरो पार्टीभित्र आलोचना हुन्नथ्यो । म कहिलेकाहीँ डराउँथेँ पनि, प्रशंसाले बिग्रिने त होइन भनेर । मलाई साथीहरुले जति महान छन् भन्थे, त्यति छैन होला जस्तो लाग्थ्यो । तर पनि त्यसले क्रान्तिलाई माथि–माथि लगिराखेकै थियो ।

शान्ति प्रक्रियामा आइसकेपछि जब पार्टीमा विभाजन सुरु भयो, त्यसपछि त यति गाली खाएँ कि कुरै नगरौं । हिजो मलाई महान भनेर दस्तावेज र किताबमा लेख्नेहरुले नै आज गाली गर्न थाले । यसो सोच्छु, म यति गाली खान लायक त होइन नि ! क्रान्तिका लागि सकेको त गरेकै हो । हिजो एक्स्ट्रिममा गएर देवता बनाउनु र अहिले एक्स्ट्रिममा गएर राक्षस बनाउन खोज्नु दुवै सही होइन ।

आज म खुशी छु, किनकि अब म मान्छे हुन पाउँदैछु । एउटा देशलाई, जनतालाई माया गर्ने र राष्ट्रको हितको निम्ति अन्तिमसम्म लडिरहने मान्छे हुनेतिर गएँ भन्ने लाग्या छ । मानव बन्ने अवसर पाएजस्तो लाग्छ । 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर