अविस्मरणीय जितको हिरो- मनिष डाँगी – Nepal Press

अविस्मरणीय जितको हिरो- मनिष डाँगी

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालले साविक विजेतालाई उसकै मैदानमा पराजित गर्दै ‘ड्रिम-स्टार्ट’ गरेको छ । शुक्रबार राति भएको खेलमा घरेलु समर्थकअघि माल्दिभ्सलाई उसैको मैदानमा पराजित गर्दा नेपालका लागि नायक बनेका थिए- मनिष डाँगी ।

सुरुआतदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलको ८६औं मिनेटमा मनिषले गोल गर्दै नेपालका लागि २२ वर्षपछि माल्दिभ्सविरुद्ध जित सुनिश्चित गरेका थिए । र, जितका नायक बनेका थिए ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि जितको हिरो मनिष भएको प्रतिक्रिया दिए ।

‘हामी जितको हकदार थियौं, हामीले राम्रो फुटबल खेलेका थियौं,’ उनले भने, ‘उनीहरूले केही मौका गुमाएका थिए, हामीले पनि केही मौका गुमायौं । तर, आजको जितको हिरो मनिष हो ।’

सन् १९९९ को साग गेम्समा माल्दिभ्सलाई अन्तिम पटक पराजित गरेको नेपालले २२ वर्षपछि दक्षिण एसियाली पावर हाउसलाई पराजित गर्न सफल भएको हो ।

खराब इतिहास बोकेको नेपाली टोलीले माल्दिभ्सविरुद्ध जित महत्त्वपूर्ण भए पनि प्रशिक्षक अब्दुल्लाहले नेपालले उपाधि नै जितिनसकेको सम्झाएका छन् ।

‘हामीले उपाधि नै जितिसकेका होइनौं,’ उनले भने, ‘संयमित हुनु जरुरी छ, हाम्रो ध्यान अर्को खेलमा हुनेछ । नेपालमा भएका सबै समर्थकलाई शान्द रहन आग्रह गर्छु ।’

नेपालले सोमबार श्रीलंकाविरुद्ध प्रतियोगितामा दोस्रो खेल खेल्ने छ । पाँच टोली सहभागी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

दुई दिनअघि मात्रै आफ्ना काकालाई गुमाएका प्रशिक्षक अब्दुल्लाहले यो जित उनीप्रति समर्पितसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *