‘उत्तराधिकारी भनेको काल हो, म घोषणा गर्दिन’ (भिडिओ) – Nepal Press

‘उत्तराधिकारी भनेको काल हो, म घोषणा गर्दिन’ (भिडिओ)

आक्रामक र भावुक हुँदै कमलादीमाबाट प्रचण्डका तीन सन्देश

काठमाडौं । एकैछिनमा भावुक र एकैछिनमा उत्तेजित भइहाल्ने स्वभावका नेता हुन् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । आज अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा उनले गरेको भाषणमा पनि भावुकता र उत्तेजनाको समिश्रण थियो ।

प्रचण्डले संसद विघटनमा गएपछि आफूलाई आत्महत्याको समेत विचार आएको सुनाए । भारतका स्वतन्त्रता सेनानी भगत सिंहको पालाका चन्द्रशेखरजस्तै आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेको बताउँदै गर्दा उनी भक्कानिएका थिए । भगत सिंहको फिल्ममा रहेको पात्र चन्द्रशेखर दुश्मनको घेरामा परेपछि अन्तिममा माटो समातेर ‘क्रान्तिको लागि यति नै गर्न सकेँ’ भन्दै आत्महत्या गरेको प्रसंग उनले जोडेका थिए । तर, प्रचण्डले सबै आत्महत्या गलत नहुने तर्क गरे ।

उनले भने, ‘क्रान्तिको ऋण त मेरै शीरमाथि थियो । म यस्तो मोडमा पुगेँ कि प्रतिक्रान्तिसँग आत्मसर्पण गर्नुभन्दा त आत्महत्या गर्नु ठीक हो । आत्महत्या भनेको चाहिँ सबै गलत हुँदैन है साथी हो माक्र्सका ज्वाइँ छोरीहरुले सुसाइड गरेको कथा तपाईंहरुले पढ्नुभयो होला ।’

‘सुसाइड सबै गलत हुँदैनन् । म पनि मर्ने कि लड्ने भन्ने दुई विकल्पमा थिएँ । तर, हामी सबै साथीहरुले सल्लाह गरेर फेरि लड्ने, जेल जानुपर्छ जाने, मारिनु पर्छ भने पनि तयार हुने भनेर प्रतिक्रान्तिको अगाडि हरहालतमा नझुक्ने भन्ने संकल्पबाट सुरू भयो पुस ५ पछिको आन्दोलन ।’

भावुक प्रचण्ड फेरि एकाएक आक्रमक बने । उनले आफ्नो सम्बोधनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रोस पोखे । आगो ओकले । त्यस्तै एमालेभित्र ‘१० भाइ’ का नामले परिचित नेताहरुप्रति पनि कडा अभिव्यक्ति दिए । प्रचण्डको लामो सम्बोधनमा मुलतः तीन सन्देश थिए ।

पूर्ण समानुपातिक निर्वाचनको एजेन्डा

प्रचण्डले आगामी चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई एजेन्डा बनाउने संकेत गरेका छन् । यो एजेन्डालाई लिएर आन्दोलन नै गर्नुपर्ने उनले बताए । हतियार नउठाइ पनि यो आन्दोलन जितिने उनको भनाइ थियो ।

‘पूर्णसमानुपातिक निर्वाचन प्रणाली चाहियो भने के हुन्छ त भने आन्दोलन हुन्छ, हामी जित्छौं,’ प्रचण्डले भने, ‘हतियार उठाउन पनि पर्दैन । हिंसा गर्न पनि पर्दैन । लाखौंलाई सकडमा ल्याए हुन्छ ।’

प्रचण्डले अहिलेका चुनाव निकै खर्चिलो भएको भन्दै त्यसको समाधानका लागि पनि पूर्णसमानुपातिक आवश्यक रहेको बताए । दलाल पुँजीपतिहरूसँग पैसा मागेर कहिलेसम्म चुनाव लड्ने भन्दै उनले दलालको पैसाले जित्ने चुनाव विकृतिपूर्ण हुने उल्लेख गरे । यस्तो चुनाव माओवादीले नचाहेको र यस्ता जालझेलको चुनाव क्रान्तिकारीले जित्न नसक्ने भन्दै प्रचण्डले पूर्णसमानुपातिकको वकालत गरे । उनी मात्र नभएर माओवादीका अन्य नेताहरुले पनि यसमा जोड दिन थालेका छन् ।

उत्तराधिकारी नतोक्ने

प्रचण्डले आफूपछि माओवादीको नेतृत्वका लागि उत्तराधिकारी नतोक्ने घोषणा गरेका छन् । विशेषगरि कम्युनिष्ट पार्टीमा आफूपछिको उत्तराधिकारी ‘ग्रुम’ गर्ने चलन हुन्छ । तर, त्यसले उल्टै क्षति गर्ने गरेको भन्दै उनले आफूले त्यसो नगर्ने बताए । उत्तराधिकारी हुन लायक पार्टीमा कोही नभएको गुनासो पनि उनको थियो ।

‘साँच्चै गरिदिने साथी भए त म बसेर किताब लेख्थेँ, सबैभन्दा बढी खुसी हुन्थेँ,’ प्रचण्डले भने, ‘यसो हेर्छु छाँट कसैको छैन । साथीहरुलाई मेरो सहृयपूर्वक मेरो आग्रह- तपाईंहरु विचार योजना र कार्यक्रमसहित आउनुहोस् । तपाईंको राम्रो भयो, पार्टीबाट पास भयो भने तपाईंलाई उत्तराधिकारी घोषणा गरेर हिँड्छु ।’

तर, उत्तराधिकारी घोषणाले लिम्प्याओ प्रवृत्ति जन्मिने प्रचण्डको चिन्ता छ ।

‘माओले लिम्प्याओलाई भनेजस्तो अहिले नै भन्दिने गल्ति चाहिँ म गर्दिनँ,’ उनले भने, ‘लिम्प्याओलाई उत्तराधिकारी भनेको त त्यही माओलाई गोली हान्न हिँड्यो । उत्तराधिकारी काल रहेछ । म किन भन्ने त्यो भन्दिनँ ।’

पार्टीभित्र गुटबन्दीको संकेत

प्रचण्डले आफ्नो पार्टीभित्र गुटबन्दीको सिर्जना भएको पनि संकेत गरे । आफ्नो पिँठ्युपछि आफ्नो विकल्प खोज्ने कुरा हुने गरेको पनि उनको गुनासो छ ।

‘पोहोर यो विघटन गर्ने बेलामा माओवादी अब सिद्धियो र प्रचण्डको अब केही मुल्य छैन भन्थे,’ उनले भने, ‘हुँदाहुँदा त भित्रकै साथीहरुले भन्न थाले, अब प्रचण्डबाट केही माखो मर्दैन । मलाईं त अनौंठो लाग्छ ।’

उनले थपे, ‘साथीहरुले नै भनेको सुन्छु, मेरै अगाडि त भन्दैनन्, मेरो अगाडि त तपाईं नै हो, तपाईंबाहेक अरु कोही होइन भन्छन् । तर, पछाडि अब प्रचण्डबाट केही हुँदैन है अब अर्को तयारी गर्नुपर्‍यो भनेको सुन्छु, मलाई बडो दुःख लाग्छ ।’

प्रचण्डले पछिल्लो समय लगातारजसो आफ्नो पार्टीमा गुटबन्दी बढेको संकेत गर्ने गरेका छन् । ९ असोजमा दाङको एउटा कार्यक्रममा उनकै पार्टीका नेता कृष्णबहादुर महराले गुटका कारण प्रचण्ड आजित भएको बताका थिए ।

‘अध्यक्ष प्रचण्ड पार्टी भित्रका गुट उपगुट तथा क्षेत्रीय मनोविज्ञानबाट पार्टी चलाउन खोज्नेहरुबाट आजित हुनुहुन्छ,’ महराले भनेका थिए, ‘मलाई पनि धेरैले गुट निर्माण गर्न सक्नुभएन भनेर भन्ने गर्छन्, म पार्टी निर्माणमा लाग्न चाहन्छु । गुट र उपगुटको म सँधै विरोधी हुँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर