केवल व्यवसायीको २४ घण्टे अल्टिमेटम, माग पूरा नभए सरकारलाई तालाचाबी सुम्पिने (भिडिओ) – Nepal Press

केवल व्यवसायीको २४ घण्टे अल्टिमेटम, माग पूरा नभए सरकारलाई तालाचाबी सुम्पिने (भिडिओ)

काठमाडौं । विभिन्न माग राख्दै नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । महासंघका पदाधिकारीहरूले आज सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमाललाई अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाएका हुन् ।

महासंघको ज्ञापनपत्रमा विद्युत प्राधिकरणले पोल भाडामा गरेको वृद्धि फिर्ता लिनुपर्ने माग गरिएको छ । अन्यथा सरकारलाई तालाचाबी सुम्पिने चेतावनी महासंघले दिएको छ । साथै, सरकारसँग अनुमति नलिइ कार्यक्रम प्रसारण गरिरहेका विभिन्न प्लेटफर्महरुमा रोक लगाउन माग गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘राष्ट्रिय प्रसारण ऐनअनुसार अनुमतिबिना कार्यक्रम प्रसारण गर्न पाइदैन । अनुमति नलिइ आइपीटी, ओटिभी र भिओजी प्रशाण भइरहेको छ । प्रसारण नियमन गर्ने ऐन २०७६ को परिपालना भएको छैन । कानूनको परिपालना नभएकोले सबै केवल व्यवसाय नै पलायन हुने अवस्था आएको छ । कानून विपरीत सञ्चालन भएका आइपीटी लगायत प्लेटफर्म तत्कालै बन्द गर्न माग गर्दछौं ।’

महासंघले कानूनविपरीत संचालन भएका कार्यक्रमहरू बन्द गर्न पहिले निवेदन दिएको स्मरण गराउँदै त्यसबारे जवाफ मागेको छ ।

ज्ञापनपत्र बुझाउदै केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले विद्यमान कानून कार्यान्वयन गराउन माग गरिएको बताए ।

शर्माले भने, ‘हामीले भएको कानूनलाई लागू गर्न माग गरेका हौं । सरकारले व्यवसाय गर्न अनुमती दिएका व्यवसायीहरुलाई कुनामा थुनेर निश्चित चिज मात्रै व्यापार गर भन्ने, तर अनुमति नै नलिएकाहरूलाई सबै छुट दिने खालको व्यवहार देखाएको छ । यसबाट केवल व्यवसायी समस्यामा परेका छन् ।’

नेपाल विद्युत प्राधिकरणले पोल भाडामा उच्च वृद्धि गरेपछि केवल तथा इन्टरनेट व्यवसायीहरूले विरोध गर्दै आएका छन् ।

प्रतिवर्ष २५० रुपैयाँ पोल भाडा लिँदै आएको प्राधिकरणलो एकैचोटि ३५० प्रतिशत वृद्धि गरिएको छ । पोलभाडा अस्वभाविक दरले बढाउँदा केवुल र इन्टरनेट व्यवसाय धराशयी हुने मात्र नभइ जनताको सूचनाको हक खोसिनेसमेत व्यवसायीहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *