वामदेवपत्नी एमालेमै सक्रिय, अनेमसंघको बैठकमा सहभागी – Nepal Press

वामदेवपत्नी एमालेमै सक्रिय, अनेमसंघको बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएर हिँडेका नेता वामदेव गौतमकी पत्नी तुलसा थापा गौतम भने एमालेकै बैठकमा सहभागी भएकी छन् ।

एमालेबाट समानुपातिक सांसद तथा अखिल नेपाल महिला संघको केन्द्रीय नेतृत्वमा रहेकी गौतम बिहीबार काठमाडौंमा आयोजित महिला संघको केन्द्रीय समिति बैठकमा समेत सहभागी छन् ।

वामदेव गौतमले एमाले छाडे पनि उनले आफू अहिलेसम्म एमालेमै रहेको बताएकी छन् । उनले भदौ ९ गते अन्तिम समयमा नेकपा एस रोज्न निर्वाचन आयोगमा निवेदन दिए पनि समय सकिएको भन्दै सनाखत गरिएको थिएन ।

सोमप्रसाद पाण्डेलगायत केही सांसदले ‘नेकपा एस रोज्न पाउँ’ भन्दै अदालतमा निवेदन दिए पनि तुलसा थापा गौतम भने अदालत गएकी छैनन् ।

केही समययता पार्टी गतिविधिमा नदेखिएकी उनी अखिल नेपाल महिला संघको बैठकमा सहभागी भएकी हुन् । स्रोतका अनुसार वामदेव गौतमको परिवारमा पत्नी तुलसा र छोरा हरिश एमालेमै रहनुपर्ने पक्षमा छन् ।

हरिशलाई एमालेका केही नेताले पार्टीमै रहन र अर्को पाँच वर्षपछिको चुनावमा बर्दियाबाट उम्मेदवार बन्ने गरी तयारी गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर