जनयुद्धमा मारिएकालाई सरकारले चाँडै राष्ट्रिय सहिद घोषणा गर्छः प्रचण्ड – Nepal Press

जनयुद्धमा मारिएकालाई सरकारले चाँडै राष्ट्रिय सहिद घोषणा गर्छः प्रचण्ड

‘पहिलेको निर्णय कसले गायब पार्यो अनुसन्धानको विषय छ’

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा नेतृत्वको गठबन्धन सरकारले माओवादी युद्धमा मृत्युवरण गरेकाहरुलाई चाँडै राष्ट्रिय सहिद घोषणा गर्न लागेको बताएका छन् । सरकारको हालै जारी साझा न्यूनतम कार्यक्रममा पहिलोपटक राज्यको तर्फबाट जनयुद्धका सहिद, बेपत्ता र घाइतेलाई उपचार र राहत दिने विषयलाई दस्तावेजीकरण गरिएको भन्दै उनले सन्तोष व्यक्त गरे ।

माओवादीनिकट सहिद प्रतिष्ठान नेपालको साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले सहिद, बेपत्ता, घाइते तथा अपांगका सन्दर्भमा राज्यको तर्फबाट जति हुनुपर्ने त्यति हुन नसकेको बताए । माओवादी क्रान्ति पूर्ण नभएकाले यो अवस्था आएको उनको भनाइ छ ।

‘म प्रधानमन्त्री बन्दा क्याबिनेटको पहिलो निर्णय नै जनयुद्धका महान सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने भन्ने थियो । तर, त्यतिबेला बडो जालझेलपूर्वक त्यो निर्णयको प्रतिलिपि नै गायब पारियो । कसले गर्यो ठूलो अनुसन्धानको विषय छ । राजपत्रमा प्रकाशित नभएकाले त्यसलाई आधिकारिक भन्न गाह्रो भयो । तर अब छिट्टै गठवन्धन सरकारमार्फत राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रियामा सफलता प्राप्त गर्दैछौं’ प्रचण्डले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर