संसद सुचारु गर्न एमालेलाई सर्वदलीय बैठकको आग्रह (भिडिओ) – Nepal Press

संसद सुचारु गर्न एमालेलाई सर्वदलीय बैठकको आग्रह (भिडिओ)

काठमाडौं । सर्वदलीय बैठकले संसद सुचारु गर्ने विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संघीय संसदमा अवरोध जारी रहँदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा बाधा पुग्ने भन्दै वार्ताबाट समाधान खोज्न एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि बाहिरिँदै सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवादबाट निकास खोज्न एमाले तयार नहुनु दुःखद रहेको बताए । ‘यसअघि सभामुखले बोलाएको बैठकमा पनि प्रमुख प्रतिपक्ष आएन । आज प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउँदा पनि एमाले अनुपस्थित रह्यो ।

यसबाट एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ । आजको बैठकमा संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन एमाले र मुख्य विपक्षी दलको नेताले सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने धारणा व्यक्त भएको छ’, कार्कीले पत्रकारहरूसँग भने ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षसँग निरन्तर संवाद गरिने बताएका थिए । ‘उहाँहरू आज आउनुभएन तर पनि म कुरा गर्छु । एमालेसँग निरन्तर छलफल गरेर निकास खोज्छौं’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै कार्कीले भने ।

राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहमतिका लागि अग्रसरता लिन प्रधानमन्त्रीले अग्रसरता लिनुपर्यो भनी आग्रह गरेकैले बैठक बोलाइएको पनि कार्कीले जानकारी दिए ।

आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने एमालेबाहेक दलका नेताहरू उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर