टुप्पीले नै कार घिसार्छन् गोर्खे दाइ (भिडिओ) – Nepal Press

टुप्पीले नै कार घिसार्छन् गोर्खे दाइ (भिडिओ)

चितवन । पछिल्लो समय निकै चर्चामा छन्, भरतपुर–१३ गंगानगरका वेदनाथ अधिकारी अर्थात् गोर्खे दाइ बहादुर । चर्चाको कारण हो, उनको टुप्पी । उनी टुप्पीले डोरीको सहारामा कार घिसार्छन् ।

बुधबार पनि उनले टुप्पीमा डोरी बाँधेर कार घिसारे । कार घिसार्नुपूर्व वेदनाथले टुप्पीलाई माछाको जाली बुन्ने मसिनो डोरीमा गाँठो पारे । सोही गाँठोमा नाइलनको डोरी बाँधेर अर्को टुप्पो कारको इञ्जिनमा बाँधे । अघि टुप्पीले तानेर सजिलै कार घिसारे । स्टार्ट नगरेर न्यूट्रलमा राखिएको कारलाई उनले करिब पाँच सय मिटर हिँडाए ।

उनले तानेको कारको तौल ८५० किलोग्राम भएको बताइएको छ ।

उनले यसरी कार घिसारे, भिडिओ हेर्नुहोस्

‘तीन वर्षयता टुप्पीले मान्छे उचाल्थेँ, घिसार्थेँ’, उनी भन्छन्, “हिम्मत बढेपछि कार नै हिडाँउन सक्ने भएँ ।’ उनले टुप्पीले कार घिसार्न थालेको दुई दिन भयो । बुधबार दिउँसो घर नजिकैको गाउँ ब्रहमपुरीको पीच सडकमा उनले कार घिसारेका हुन् ।

उनले कार घिसारेको दृश्यले छिमेकीहरु दंग परे । उनले यसअघि मेला, महोत्सव, स्कुलका कार्यक्रममा टुप्पीले विभिन्न गह्रौं बस्तु उचालेर कला देखाउँदै आएका थिए । उनको कलालाई प्रचार गर्न अभियन्ता  अर्जुन भुसालले सहयोग गरेका थिए ।

उनी विभिन्न जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न पनि सिपालु छन् । उनलाई यस्तै कलामार्फत् गिनिज बुकमा नाम लेखाउन मन छन् । उनी भन्छन्– मेरो कला विश्वसामू देखाउन चाहन्छु । गिनिज बुकमा नाम लेखाउन मन छ ।

६ कक्षा पढेका उनले ३ वर्षजति टुरिष्ट गाइडको काम पनि गरे । उनको टुप्पी देखेर विदेशी पर्यटक पनि दंग पर्थे ।

वेदनाथ २०५४ सालदेखि चितवनमा बसिरहेका छन् । उनको पुख्र्यौली घर गोर्खा हंसपुर–२ लप्सीबोट हो । गोर्खाबाट झरेकै कारण उनी गाउँमा गोर्खे दाइ भनेर चिनिन्छन् । तर, उनी २ दिनयता सामाजिक सञ्जालमा टुप्पी बहादुर भनेर चिनिँदै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर