उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन नागरिकलाई अनुभूति हुनेगरी गर्न गृहमन्त्रीको निर्देशन – Nepal Press

उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन नागरिकलाई अनुभूति हुनेगरी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकलाई अनुभूति गर्नेगरी विजयादशमी, दिपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । उपत्यकामा चाडपर्व लक्षित उपत्यकाको सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी परिसर प्रमुख र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई निर्देशन दिदैँ नागरिकलाई अनुभूति देखिगरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री खाणले भने, ‘अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुपर्‍यो । नागरिकले महंगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन । अहिले जस्तो अवस्था छ, त्यस्तै अवस्था रहनुपर्‍यो र चाडपर्वमा परिवर्तन देखिनुपर्‍यो ।’ ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र ३ वटा महानगरीय प्रहरी परिसर प्रहरी प्रमुखले गृहमन्त्री खाणलाई चाडपर्व लक्षित सुरक्षा योजना सुनाएका थिए ।

मन्त्री खाणले परिवर्तनको परिणम देखिनेगरी काम गर्न र जनतालाई मुस्कुराएर सेवा दिन निर्देशन दिदै उनले भने, ‘यहाँहरूले अहिले बैठकमा सुनाएका चाडपर्व लक्षित योजना राम्रा छन् । योजना मात्रै राम्रा भएर भएन । ती योजना व्यवहारमा कार्यान्वयन गर्नुपर्‍यो, जसरी हुन्छ उपलब्ध स्रोत र साधनको उपयोग गरेर अघिल्ला वर्षमा भन्दा आम नागरिकले परिवर्तनको अनुभूति पाउनु पर्‍यो । प्रहरी र निजामति कर्मचारीले भन्दै आएको मुस्कानसहितको सेवा व्यवहारमा देखिनपर्‍यो ।’

खासगरी सड्कको अवस्था र अन्य नागरिकसँग सरोकार राख्ने विषयमा आफ्नो क्षत्राधिकारभित्र पर्दैन भनेर चुप नबसी कसको क्षत्राधिकारमा पर्ने हो, त्यो निकायलाई घच्घच्याउन पनि उनले निर्देशन दिएका छन् । ‘ट्राफिक व्यवस्थापन, सडकमा देखिने खाल्डाखुल्डी पुर्न र असहज अवस्थालाई सहजतामा बदल्न आवश्यक छ,’ मन्त्री खाणले भने ।

बैठकमा उपत्यकाका काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चालपर्व लक्षित सुरक्षा योजना र बजार व्यवस्थापनबारे योजना प्रस्तुत गरेका थिए ।

यस्तै महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्य र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठ, महानगरीय टा«फिक महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईले ट्राफिक व्यवस्थापनबारे कार्ययोजना प्रस्तुत गरेका थिए ।

मन्त्री खाणले ती योजना सुनेपछि योजनालाई व्यवहारमा कार्यान्वयनमा ध्यान दिन पनि आग्रह गरेका छन् । उनले सरकार नागरिकलाई परिवर्तनको अनुभूति दिलाउन लागिरहेको भन्दै त्यस कार्यमा सहयोग गर्न कर्मचारी र प्रहरी अधिकारीलाई आग्रह गरे । मन्त्री खाणले आफूले जिल्लामा जानेबेला गर्छु भनेका काम इमान्दारिताका साथ पूरा गर्न निर्देशन दिए ।

गृहसचिव टेकनारायण पाण्डेले आम नागरिकलाई आफुमाथी राज्यको निगरानी छ भन्ने अनुभूति दिलाउन सकेमा मात्रै सफल हुन सक्ने भन्दै त्यस विषयमा ध्यान दिएर काम गर्न निर्देशन दिए । उनले चाडपर्वका बेलामा हुने बजार मूल्यमा बढोत्तरी, म्याद गुज्रेका खाद्य सामाग्री र कालो बजारीलाई रोक्न विषेश ध्यान दिन पनि उहाँले निर्देशन पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर