विराजले च्यासलबाट ‘ए’ डिभिजन लिग खेल्ने – Nepal Press

विराजले च्यासलबाट ‘ए’ डिभिजन लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले आगामी सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् ।

विराजले मंगलबार ललितपुरको च्यासल युथ क्लबसंग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन। विराजले क्लबसँग एक वर्षका लागि सम्झौता गरेको क्लबका अध्यक्ष रमेश ब्यन्जनकार बताए । अध्यक्ष ब्यन्जनकारले विराजले नै क्लबको कप्तानी गर्ने बताए ।

विराजले यसअघिको सिजन मच्छिन्द्र क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए । अखिल नेपाल फुटबल संघ ९एन्फा० एकेडेमीका उत्पादन विराजले यश अघि एनआरटी, संकटा, थ्री स्टार, मनाङ मर्स्याङ्दी क्लबबाट पनि लिग खेलेका थिए। विराज मनाङ, थ्री स्टार र मछिन्द्रबाट लिग उपाधी जितिसेकेका छन् ।

राष्ट्रिय टिमबाट ७३ खेल खेलिसकेका विराजले नेपालमै सम्पन्न बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित त्रीदेशिय खेलमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। उनले राष्ट्रिय टिमबाट १८ खेलमा कप्तानी गरिसकेका छन् । उनकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकोप, १२औं दक्षिण एशियाली खेलकुद र सोलिडारिटी कपको उपाधी जितेको थियो।

च्यासलसँग अनुबन्ध भएपछि बिराजले भने, ‘क्लबको योजनाबाट म प्रभावित भए। क्लबले मलाई राम्रो प्रस्ताव पनि गर्यो । जसलाई मैले नकार्न सकिन । आशा छ हामी लिगमा राम्रो नतिजा निकाल्ने छौँ।’

सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारि गरिरहेको च्यासलले स्कटल्याण्डका ली मान्सनलाई प्राविधिक निर्देशकको रूपमा नियुक्त गरेकोे छ। मान्सनसँग पनि क्लबले आजै सम्झौता गरेको हो ।

पछिल्लो २५ वर्षदेखी फुटबल प्रशिक्षणमा सक्रिय छन् । उनी पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रुपमा आवद्ध थिए । उनीसँग फिलिपिन्सको पुरुष यु–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ । मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए ।

मान्सनले खेलाडी जीवनमा स्कटल्यान्डको ग्रेटना र क्विन अफ दी साउथबाट खेलेका थिए । उनले अमेरिकाको रिचमण्ड किकर्सबाट फुटबल खेलेका थिए ।

क्लबले सोही कार्यक्रममा आगामी सिजनको ‘ए’ डिभिजन लिगका लागि अन्तरास्ट्रिय खेलकुद सामाग्री उत्पादक कम्पनी ‘युक्यान’सँग पनि सम्झौता गरेको छ।

सम्झौता अनुसार ‘युक्यान’ले क्लबलाई आवस्यक खेल सामाग्री उपलब्ध गराउने छ । र क्लबले यूक्यानको खेल सामाग्री लगाएर खेल्नेछ। क्लबले सम्झौता रकम भने खुलाएको छैन । सम्झौता पत्रमा क्लबका अध्यक्ष रमेश ब्यन्जनकार र यूक्यानको तर्फबाट सीटीएल कम्पनी प्रालीका प्रबन्ध निर्देशक राजेन महर्जनले हस्ताक्षर गरेका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *