एमालेको १० बुँदे कार्यान्वयन कार्यदलको बैठक, रिक्त केन्द्रीय सदस्यको मनोनयन सूची पनि बनाउने – Nepal Press

एमालेको १० बुँदे कार्यान्वयन कार्यदलको बैठक, रिक्त केन्द्रीय सदस्यको मनोनयन सूची पनि बनाउने

काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न भएका १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठक केन्द्रीय कार्यालयमा सुरू भएको छ ।

स्थायी कमिटीको सोमबारको बैठकले शंकर पोखरेललाई समेत कार्यदलमा थपेर भीम रावललाई संयोजकको जिम्मेवारी दिएको थियो । रावलको अध्यक्षतामा बसेको बैठकले १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने बताइएको छ ।

यही कार्यदलले केन्द्रीय कमिटीलगायतका निकायमा मनोनीत हुनेहरूको सूचीसमेत तयार पार्ने बताइएको छ । कार्यदलले १० बुँदेको रचनात्मक कार्यान्वयन गर्दै नेकपा एकता प्रक्रियाबाट एमालेमै रहेका पूर्वमाओवादी पक्षको समायोजनसमेत गर्नेछ ।

माधव नेपालले नेकपा एमाले विभाजन गर्दा नेकपा एसमा लागेका केन्द्रीय सदस्य तथा त्यसअघि रिक्त रहेका समेत ठाउँमा नयाँ केन्द्रीय सदस्य मनोनयनका लागि सूची तय गर्न कार्यदलले म्याण्डेट पाएको छ ।

विशेषगरी सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि भीम रावलले असन्तुष्टी जनाएका थिए । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर