विश्व पर्यटन दिवस : महामारीले थला पारेको पर्यटन क्षेत्र पुनरुत्थानमा जोड – Nepal Press

विश्व पर्यटन दिवस : महामारीले थला पारेको पर्यटन क्षेत्र पुनरुत्थानमा जोड

काठमाडौं । ४२ औं विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

‘टुरिजम फर इन्क्लुसिव ग्रोथ’ नाराका साथ मनाइएको यो वर्षको पर्यटन दिवसमा पर्यटन बोर्डले साइकल र्‍याली, वृक्षारोपण तथा बोर्डमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोइरालाले कोरोना महामारीले लकडाउनमा खस्किएको पर्यटनलाई सुरक्षाका उपायहरू अपनाउँदै चलायमान बनाउनु पर्ने बताए । उनले पर्यटन खुला गर्ने गरी नयाँ मापदण्ड आएकोले त्यसको अनुसरण गर्दै अगाडि बढ्न व्यवसायीलाई आग्रह गरे ।

बोर्डका उपाध्यक्ष चन्द्र रिजालले महामारीबाट प्रत्यक्ष, अप्रत्यक्ष गरी करीब १० लाख जनशक्तिको रोजगार संकटमा परेकोले पर्यटन क्षेत्रको जनशक्तिलाई अल्पकालीन रोजगारीको लागि बोर्डले युएनडीपीसँगको सहकार्यमा अल्पकालीन रोजगारीको कार्यक्रम सुरू गरेको जानकारी दिए ।

यस्तै बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपाल सरकारबाट निजी क्षेत्रको सहकार्यमा पर्यटनका लागि नयाँ सुरक्षा प्रोटोकल सार्वजनिक भइसकेकाले त्यसका आधारमा विस्तारै पर्यटनलाई चलायमान बनाउँदै लैजानु पर्ने बताए । उनले पर्यटन उद्योगलाई पुरानै लयमा फर्काउन समय लाग्ने भएपनि सरकार र निजी क्षेत्र मिलेर काम गर्दा आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनका सकारात्मक उर्जा मिल्ने धारणा व्यक्त गरे ।

पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङले कोभिडको कारण विगत वर्षहरुमा धेरै काम गर्न नसकिएको बताउँदै विगत वर्षहरूमा पर्यटनमा उत्कृष्ट योगदान गर्ने संस्था तथा व्यक्तिलाई यो वर्ष सम्मान गरिएको बताए । दिवसको अवसरमा विद्युतीय साइकल र्‍याली आयोजना गरिएको थियो ।

यस्तै बोर्डले विश्व पर्यटन दिवसकै अवसरमा गोर्कणेश्वर नगरपालिकाको जगडोलमा रहेको राष्ट्रिय शहीतद तथा शान्ति पार्कमा वृज्ञारोपण गरेको छ ।

कार्यक्रममा सचिव कोइराला, बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, सहसचिव तारानाथ अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेल, बोर्डका निर्देशक हिक्मतसिंह ऐर, युनेस्को क्लवका सदस्य डा. बाबुराम पौडेल, पार्कका अध्यक्ष सुदर्शन सिग्देल लगायत उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर