विद्यालय उद्घाटन गर्न हेलिकप्टरमा डोल्पा पुगे कर्णालीका मुख्यमन्त्री – Nepal Press

विद्यालय उद्घाटन गर्न हेलिकप्टरमा डोल्पा पुगे कर्णालीका मुख्यमन्त्री

गाउँपालिकालाई चार लाख आर्थिक भार, मुख्यमन्त्री र मन्त्रीलाई चालिस किलो माला

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हेलिकप्टर चढेर विद्यालय उद्घाटन गर्न डोल्पा पुगेका छन् । डोल्पाको जगदुल्ला गाउँपालिका– ६ स्थित एक आवासीय विद्यालय उद्घाटन गर्न हेलिकप्टर चढेर गएका हुन् ।

जगदुल्ला गाउँपालिकाले हेलिकप्टरका लागि चार लाख बराबरको इन्धन खर्च व्यहोरेको बताइएको छ ।

दलित आवासीय विद्यालय रहेको स्थान गैरीगाउँमा दुई सय घर परिवारको दलित बस्ती छ । दलितलाई लक्षित कक्षा पाँचसम्म आवासीय सुविधासहितको विद्यालय सञ्चालन भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताए ।

एक करोड २३ लाख ८६ हजार रुपैयाँ लागतमा दलित आवासीय विद्यालय सञ्चालन भएको हो । विद्यालयमा पालिकाले ७० प्रतिशत र प्रदेश सरकारले तीस प्रतिशत रकम लगानी गरेको छ ।

त्यस्तै, आजै मुख्यमन्त्री शाहीले गाउँपालिकाको प्रमुख प्रशासनिक भवनको पनि उदघाटन गरेका छन् । गाउँपालिकाको ७० प्रतिशत र संघीय सरकारको तीस प्रतिशत बजेट रहेको उक्त भवन निर्माणका लागि चार करोड ४३ लाख १० हजार ४३३ रुपैयाँ खर्च भएको अधिकृत जैसीले बताए ।

मुख्यमन्त्री र मन्त्रीलाई चालिस किलो माला

कर्णाली प्रदेशको मुख्यमन्त्री भइसकेपछि पहिलोपटक गएका मुख्यमन्त्री शाहीलाई पालिकाले चालिस किलोको माला लगाइदिएको छ ।

विकास निर्माणमा पछि परेको, सडक सञ्जाल नपुगेको र अभावै अभाव रहेको उक्त पालिकाले मुख्यमन्त्री शाही, मन्त्री बुढालाई चालिस किलोको मालाको भारी बोकाइ दिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत जैसीका अनुसार ती मालाहरु पालिकाका कर्मचारीले स्थानीय स्रोतको प्रयोग गरी बनाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर