बुमबुम अफ्रिदी: एक अभूतपूर्व पावरहिटर !  – Nepal Press
समालोचना

बुमबुम अफ्रिदी: एक अभूतपूर्व पावरहिटर ! 

त्रिवि मैदानमा चल्ला अफ्रिदीको ‘बल्ला’ ?

क्रिकेटमा ‘पागलपन’ जोडियो भने के हुन्छ ? धेरै क्रिकेट पण्डितहरुको जवाफ आउने गर्छ- शाहिद अफ्रिदी ।

विश्वक्रिकेटकै एक सनसनी नाम हुन्, सहिब्जादा मोहम्मद साहिद खान अफ्रिदी । राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका यी पाकिस्तानी सुपरस्टार आज पहिलोपटक नेपालको क्रिकेट मैदानमा उत्रिँदैछन् । वर्षौंदेखि टेलिभिजनमा हेर्दै आएका लिजेन्डको ब्याटिङ हामी प्रत्यक्ष हेर्नेछौं ।

एभरेष्ट प्रिमियर लिगको चौंथो संस्करणमा भाग लिन काठमाडौं आएका अफ्रिदीले किङ्स ११ काठमाडौंबाट दुई म्याच मात्रै खेल्नेछन् । यी दुई म्याचका लागि फ्रेन्चाइज टिमलाई परेको आर्थिक व्ययभारको हिसाबकिताब आफ्नो ठाउँमा होला, तर अफ्रिदी नेपालमा लिग खेल्न आउनु नै नेपाली घरेलु क्रिकेटको फड्को हो ।

यसअघि पनि इपीएलमा वेस्ट इन्डिजका सुपरस्टार क्रिस गेललाई ल्याउने तयारी भएका थियो । तर कोरोनाले इपीएल नै विथोलिएपछि उनलाई हेर्ने नेपाली दर्शकको चाहनामा तुषारापात भयो । दक्षिण अफ्रिकाका एभी डिभिल्लरसँग पहल भएको थियो । त्यो पनि सफल भएन । जे होस, अहिले उनीहरु जत्तिकै चर्चित खेलाडी प्राप्त भएका छन् ।

पाकिस्तानले अहिलेसम्म जन्माएका विश्वचर्चित क्रिकेटरमध्ये पर्छन् अफ्रिदी । केही समय उनले पाकिस्तानी टिमको कप्तानीसमेत गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेको भए पनि उनी विभिन्न देशमा टि–२० फ्रेन्चाइज लिगहरु भने खेल्दै आएका छन् ।

अभुतपूर्व ‘पावर हिटर’

अफ्रिदी विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । तर, ‘विष्फोटक’ मात्रै भनेर उनको ब्याटिङ शैली परिभाषित हुँदैन । अफ्रिदीको ब्याटिङमा एकप्रकारको दु्स्साहस हुन्छ । जस्तोसुकै दवावको स्थितिमा पनि निडर भएर ठूला सटहरु प्रहार गर्नु उनको प्रमुख विशेषता हो । उनी पहिलो बलबाटै छक्का हान्न तम्सिने ब्याट्सम्यान हुन् ।

अफ्रिदी चाँडै आउट भएनन् भने निश्चित छ, उनले विपक्षीको हातबाट म्याच टाढा लैजान्छन् । उच्च लयमा भएको बेला जस्तोसुकै बलिङलाई पनि धुजाधुजा बनाइदिने क्षमता उनको छ । पाकिस्तानको राष्ट्रिय टिमबाट अफ्रिदीले कैयन ‘म्याच विनिङ’ प्रदर्शन गरेका छन् । उनी सबैभन्दा धेरैपटक म्यान अफ दि म्याचको पुरस्कार जित्ने पाकिस्तानी खेलाडी हुन् । अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा उनी ३३ पटक म्यान अफ द म्याच भएका थिए ।

अफ्रिदीको ब्याटिङ सीमित ओभरको क्रिकेट, अझ टि–२० का लागि सुहाउँदो मानिन्छ, जहाँ आक्रामक ब्याटिङ अत्यावश्यक हुन्छ । टिमलाई स्ट्राइक रेट बढाउनु पर्दा अफ्रिदी काम लाग्छन् । उनका लागि १ सयभन्दा माथिको स्ट्राइक रेट सामान्य हो । उनको करिअरकै स्ट्राइक रेट ११७ को आसपास छ ।

अफ्रिदीको ब्याटिङ स्टाइललाई नेपाली उखानबाट व्याख्या गर्नुपर्दा ‘आए आँप गए झटारो’ हो । उनी टुकु–टुक एक–दुई रन लिएर इनिङ निर्माण गर्नेमा विश्वास गर्दैनन् । छक्का र चौका नहान्दा उनलाई ब्याटिङको मजा आउँदैन । त्यसले जतिसुकै दवावको अवस्थामा पनि जोखिम मोलेर ठूला सट हान्न खोज्छन् । कहिलेकाहीँ उनको ब्याटिङ मुर्खतापूर्ण प्रतित हुन्छ ।

अफ्रिदीको वर्णन गर्न क्रिकइन्फो डट कमले लेखेका दुई लाइन काफी छन् ।

‘यो सुरक्षिततवरले भन्न सकिन्छ कि क्रिकेटले उनीजस्तो अर्को खेलाडी न पहिले देखेको थियो, न पछि देख्नेछ । उनलाई ‘अलराउन्डर’ भन्नु भनेको अल्बर्ट आइन्स्टाइनलाई ‘वैज्ञानिक’ भन्नुजस्तै हो ।’

भर पर्न कठिन

अफ्रिदीको ब्याटिङ शैली जति लोकप्रिय छ, त्यत्तिकै आलोचित पनि । उनी ठ्याम्मै भर गर्नलायक ब्याट्सम्यान होइनन् । उनले नचाहिँदो सट खेल्दै गलत समयमा आउट भएर टिमलाई अप्ठेरोमा पारिदिएका उदाहरण अनगिन्ति छन् । रक्षात्मक ब्याटिङ उनको कोर्समै पर्दैन ।

अफ्रिदी क्रिजमा आउनासाथ फ्यानहरुको धड्कन बढ्छ, किनकी उनी कुनै पनि बलमा आउट हुन सक्छन् । जोखिमपूर्ण तरिकाले खेल्ने शैलीले गर्दा हरेक बलमा उनको विकेट खस्ने खतरा हुन्छ । उनको एउटै सिद्धान्त छ–ब्याट समाउने, ठोक्ने ।

पावर हिटिङमा निर्भर अफ्रिदी प्राविधिकरुपमा चुस्त मानिँदैनन् । खासगरि स्पिन बलिङसँग उनी बारम्बार चुक्छन् । बलको मेरिटअनुसार भन्दा पनि आफ्नो मुडअनुसार ब्याट चलाउने गर्दा चाँडै आउट हुन पुग्छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनले लामो इनिङ निकै कम खेलेका छन् ।

एकदिवसीयमा उनको सबैभन्दा ठूलो स्कोर १२५ रन मात्र हो । उनले आफ्नो २२ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा ११ वटा (टेस्टमा ५, ओडीआइमा ६) मात्र शतक हान्न सके । एकदिवसीयमा उनको ब्याटिङ औसत २३.५७ मात्रै छ । ओडीआइ टेस्ट र एकदिवसीयमा गरी उनी ४४ पटक त डकआउट अर्थात् शुन्य रनमा आउट भएका छन् ।

बलिङमा सफल

अफ्रिदी ब्याटिङका लागि प्रख्यात छन्, तर उनी एक वास्तविक अलराउन्डर हुन् । उनको ब्याटिङभन्दा बलिङ भर गर्नलायक छ । करिअरको पछिल्लो कालखण्डमा त उनी बलिङ अलराउन्डरका रुपमा स्थापित भएका थिए ।

स्मरणीय के छ भने अन्तर्राष्ट्रिय क्रिकेटमा आएको १० वर्षपछि मात्रै अफ्रिदीको बलिङ चल्न थालेको थियो । अन्यथा उनी ब्याट्सम्यानका रुपमा मात्रै परिचित थिए र कहिलेकाहीँ पार्टटाइम बलिङ गर्थे ।

अफ्रिदीले मुलतः लेग स्पिन बल फ्याक्ने गर्छन्, तर उनको बलिङमा विविधता हुन्छ । उनी दुई प्रकारका गुगली फ्याक्छन्, एउटा परम्परागत र अर्को तीव्र गतिको । उनको तीव्र गतिको गुगली बढी खतरनाक हुन्छ । कहिलेकाहीँ धेरै भेराइटी प्रयोग गर्न खोज्दा ब्याट्सम्यानबाट पिटिन्छन् पनि । तर, स्पिनरलाई सहयोग गर्ने पीचमा उनको बलिङ झेल्न जस्तोसुकै ब्याट्सम्यानलाई पनि कठिन हुन्छ ।

बलिङ आँकडा हेर्ने हो भने अफ्रिदीले टेस्ट म्याचमा ४८, एकदिवसीयमा ३९५ र टि–२० मा ९८ विकेट लिएका छन् । टि–२० मा उनका बलिङ औसत २२.१० छ जुन निकै प्रभावशाली हो ।

सन् २००७ मा भएको पहिलो टि–२० विश्वकपमा अफ्रिदीको बलिङ चम्केको थियो । ब्याटिङमा फ्लप भएका उनी उत्कृष्ट बलिङकै कारण प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका थिए । उक्त विश्वकपमा पाकिस्तान उपविजेता बनेको थियो । फाइनलमा पाकिस्तान भारतसँग पराजित भएको थियो ।

अफ्रिदीका विश्वकीर्तिमान

अफ्रिदीले अन्तर्राष्ट्रिय करिअरको दोस्रो म्याच (पहिलो ब्याटिङ) मा नै सनसनी मच्चाएका थिए । १६ वर्षको उमेरमा श्रीलंकाविरुद्धको म्याचमा उनले ३७ बलमै शतक बनाए । सबैभन्दा कम उमेरमा र सबैभन्दा छिटो शतक हान्ने दुई विश्वकीर्तिमान अफ्रिदीले त्यही म्याचबाट राखे ।

छिटो शतकको कीर्तिमान १७ वर्षपछि न्युजिल्यान्डका कोरी एन्डरसनले तोडे, तर कान्छो सतकधारीको किर्तिमान भने आजपर्यन्त कसैले तोड्न सकेको छैन । उक्त शतक प्रहार गर्दा अफ्रिदीको आधिकारिक उमेर १६ वर्ष २१६ दिन थियो ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने ब्याट्म्यानको अर्को विश्वकीर्तिमान अफ्रिदीको नाममा कायम छ । उनले ३९८ एकदिवसीय खेल्दा ३५१ छक्का हानेका छन् । उनी पछाडि क्रमशः वेस्ट इन्डिजका क्रिस गेलले ३३१, श्रीलंकाका सनथ जयसुर्याले २७०, भारतका रोहित शर्माले २४४ र भारतकै महेन्द्रसिंह धोनीले २२९ छक्का हानेका छन् ।

एकदिवसीय क्रिकेटमा ३५० विकेट लिने र ८००० रन बनाउने एक मात्र ब्याट्सम्यान अफ्रिदी हुन् । उनले आफ्नो एकदिवसीय करिअरमा ८०६४ रन बनाएका थिए भने ३९५ विकेट लिएका थिए ।

उच्च स्ट्राइक रेटमा ब्याटिङ गर्ने ब्याट्सम्यानहरुको सूचीमा अफ्रिदी अग्रपंतिमा छन् । १ सयभन्दा बढी एकदिवसीय म्याच खेल्ने व्याट्सम्यानहरुमा अफ्रिदीभन्दा राम्रो स्ट्राइक रेट अष्ट्रेलियाका ग्लेन म्याक्सवेल (१२१.९५) र ईंग्ल्यान्डका जोस बटलर (११९.५७) को मात्र रहेको छ । आफ्ना समकालीन ब्याट्सम्यानहरुमा भने उनको स्ट्राइक रेट सबैभन्दा माथि छ ।

अफ्रिदीका नाममा जेजति रेकर्ड छन् तिनीहरुमा प्रायजसो स्ट्राइक रेटसँगै जोडिएका छन् ।

करिअरका उतारचढाव

अफ्रिदीको अन्तर्राष्ट्रिय क्रिकेर करिअर सँधै अस्थिर र उतारचढावयुक्त रहेको छ । खराब ब्याटिङ फर्मका कारण उनी बारम्बर राष्ट्रिय टोलीबाट आफ्नो स्थान गुमाइरहन्थे । उनको ब्याटिङ पोजिसन पनि सँधै तलमाथि भइरह्यो । ओपनिङदेखि ८ नम्बरसम्ममा आएर उनले ब्याटिङ गरेका छन् ।

अफ्रिदीले आफ्नो क्रिकेट करिअरको उच्च बिन्दू सन् २००९ मा भेट्टाएका थिए । त्यस वर्ष भएको टि–२० विश्वकप उनका निम्ति अविस्मरणीय छ । उक्त विश्वकपको सेमिफाइनल र फाइनलमा लगातार अर्धसतक बनाए । फाइनलमा उनी प्लेयर अफ द म्याच बनेका थिए । अफ्रिदीले एक विकेटसहित ५४ रन हान्दै पाकिस्तानलाई पहिलो टि–२० विश्वकपको उपाधि जिताएका थिए ।

अफ्रिदीको क्रिकेट करिअरमा विवादको पनि कुनै कमि भएन । सन् २०१० को ३१ जनवरीमा अष्ट्रेलियाविरुद्धको ओडीआइका क्रममा उनले बल टोक्दै गरेको दृष्य क्यामरामा कैद भएको थियो । पछि उनले बल टेम्परिङ गरेकोमा माफी मागे । त्यसवापत दुईवटा अन्तर्राष्ट्रिय टि–२० बाट उनी निलम्बित भएका थिए ।

त्यसअघि सन् २००७ को फेबु्रअरीमा पनि अफ्रिदीले अनुशासन उल्लंघनको आरोपमा ४ म्याचको प्रतिबन्ध खेपेका थिए । उनले एउटा म्याचमा आउट भएपछि होहल्ला गर्ने दर्शकलाई लक्ष्यित गर्दै गलत तरिकाले ब्याट तेस्र्याएको टेलिभिजनमा देखिएको थियो । उक्त प्रतिबन्धका कारण उनले सन् २००७ को विश्वकपका पहिलो दुई म्याच खेल्न पाएनन् ।

सन् २००५ को नोभेम्बर २१ मा अफ्रिदीलाई एउटा टेस्ट म्याच र दुई ओडीआइको प्रतिवन्ध लगाइएको थियो । उनले ईंग्ल्यान्डविरुद्धको म्याचका क्रममा बुटले जानाजान कोतरेर पिच बिगारेका थिए । अफ्रिदीले आफ्नो गल्ति स्वीकारेका थिए ।

अफ्रिदीसँग पाकिस्तानको टेस्ट, एकदिवसीय र टि–२० तिनवटै टिमको कप्तानी अनुभव छ । यद्यपि, टेस्ट क्रिकेटमा उनले एउटा म्याचमा मात्रै कप्तानी गरेका छन् । पहिले टेस्टमा नै ब्याटिङमा असफल भएपछि उनले टेस्ट क्रिकेट नै नखेल्ने घोषणा गरेका थिए । ओडीआइ र टि–२० मा भने अफ्रिदीको कप्तानी नतिजा मिश्रित रह्यो ।

अफ्रिदीले सन् २०१० मा टेस्ट क्रिकेटबाट, २०१५ मा ओडीआइबाट र २०१७ मा टि–२०बाट सन्न्यास लिएका हुन् । तर, योबीचमा उनले पटक–पटक सन्न्यास घोषणा गर्ने रस फिर्ता लिने गरेका थिए ।

२०१७ मा ओडीआइबाट सन्न्यासको घोषणा गरेपछि उनले २०१८ मा भएको टि–२० च्यालेन्जमा वेस्ट इन्डिजविरुद्ध वल्र्ड ११ को कप्तानी गरे । फेरि २०१८ को २१ मेमा उनले दोस्रोपटक सन्यास घोषणा गरे ।

त्रिवि मैदानमा चल्लान् ?

त्रिवि मैदानमा आज अफ्रिदीको प्रदर्शन कस्तो रहला ? के उनले आफ्नो धुवाँधार शैलीमा चौका–छक्काको वर्षा गर्दै दर्शकलाई मनोरञ्जन गराउलान् ? यसै भन्न सकिन्न ।

हुन त त्रिविको मैदान मुलत ब्याटिङमैत्री नै मानिन्छ । पावर हिटरहरुका लागि त्यहाँको पिच प्राय अवरोध बनेको छैन । यद्यपि, राम्रा बलरहरुसँग चाहिँ सतर्क भएर खेल्नुपर्छ, जुन स्वभाव अफ्रिदीको छैन ।

इपीएलमा ल्याइएका विदेशी खेलाडी प्राय ब्याट्सम्यान भएकाले अफ्रिदीले झेल्नुपर्ने नेपाली बलर नै हो । स्पिन बलिङ अफ्रिदीको कमजोरी मानिन्छ र इपीएलका टिमहरुसँग राम्रा स्पिनर छन् । अफ्रिदी र स्पिनरको संघर्ष हेर्नलायक हुनेछ ।

किङ्स ११ काठमाडौं सन्दिप लामिछानेको कप्तानीमा छ, जो आफैंमा अन्तर्राष्ट्रिय पहिचान बनाएका क्रिकेटर हु्न् । केही विदेशी लिगहरुमा एउटै टिमबाट खेलिसकेकाले अफ्रिदीसँग उनको तालमेल मिल्न सक्ने आशा गर्न सकिन्छ । अफ्रिदीको ब्याटिङबाट बढी फाइदा लिन सन्दिपले उनलाई ओपनिङ वा वान डाउनमा नै पठाउनुपर्ने हुन्छ । यदि ब्याटिङमा असफल भए पनि उनको बलिङबाट क्षतिपूर्ति गर्ने अवसर अफ्रिदीसँग छ ।

सफल वा असफल जे भए पनि अफ्रिदीको नेपाल आगमन नेपाली क्रिकेटकै लागि महत्वपूर्ण क्षण हो ।

को हुन् अफ्रिदी ?

‘बुमबुम’ उपनामले चर्चित अफ्रिदी सन् २०७५ मा पाकिस्तानको खाइबर एजेन्सीस्थित तिराह उपत्यकामा जन्मेका हुन् । प्राय खेलाडीहरुले आफ्नो करिअर लामो बनाउनका लागि उमेर घटाउने गर्छन् । अफ्रिदीले पनि घटाएका थिए ।

आधिकारिक रेकर्डमा उनको उमेर ४१ वर्ष हो । तर, आफ्नो अटोबायोग्राफी ‘गेम चेञ्जर’ मा उनले आफू सन् १९७५ मा जन्मिएको खुलासा गरेका थिए । त्यस हिसाबले उनको वास्तविक उमेर ४६ वर्ष हो । यद्यपि, पछि विवाद भएपछि उनले आफ्नो अटोग्राफीमा उल्लेखित उमेर गलत भएको बयान दिएका थिए ।

अफ्रिदीको अन्तर्राष्ट्रिय क्रिकेट करिअर सन् १९९६ मा सुरु भएको थियो । उनले केन्याविरुद्धको म्याचबाट डेब्यू गरेका थिए । पहिलो म्याचमा उनले ब्याटिङ गर्न पाएनन् भने बलिङमा पनि विकेटविहिन भएका थिए । दोस्रो म्याचमा श्रीलंकाविरुद्ध सतक हानेपछि उनको चर्चा चुलिएको थियो ।

अफ्रिदीले आफ्नी मामाकी छोरी नादियासँग सन् २००० मा विवाह गरेका हुन् । उनीहरुका ५ जना छोरी छन् । अफ्रिदीले आफ्नी कान्छी छोरीको पाकिस्तानका उदियमान क्रिकेटर साहिन अफ्रिदीसँग ईंगेजमेन्ट गरिदिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट बाहिरिएयता अफ्रिदी पाकिस्तान र अन्य देशहरुमा हुने टि–२० लिगमा व्यस्त छन् । साथै फाउन्डेसनमार्फत च्यारिटी कामहरु पनि गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर