भोलिबाट ईपीएल : यी हुन् ६ टीमका २४ विदेशी क्रिकेटर – Nepal Press

भोलिबाट ईपीएल : यी हुन् ६ टीमका २४ विदेशी क्रिकेटर

काठमाडौं । बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करण भोलि (शनिबार) देखि सुरु हुँदैछ । यसपालीको संस्करणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त थुप्रै विदेशी क्रिकेटरहरुले भाग लिँदैछन् ।

कोरोनाभाइरसको महामारीले विश्वव्यापी लकडाउन नभएको भए ईपीएलको चौथो संस्करण झन् ‘धमाकेदार’ रुपमा दुई वर्षअघि नै सकिएको हुन्थ्यो । तर, कोरोनाभाइरसको महामारीका कारण आयोजनाको अन्तिम घडीमा आइपुगेर ईपीएल स्थगित भयो । यसले आयोजकको तयारी मात्रै खेर गएन, ईपीएलमा जोडिन आँटेका केही विश्वप्रख्यात खेलाडीहरु पनि पछि हटे ।

विश्व क्रिकेटका चर्चित हस्तिहरु– क्रिस गेल, कोरी एन्डरसन, ड्वेन स्मिथ, पल स्टर्लिङ, हासिम अमला, मोहमद सहजाद लगायतका खेलाडी ईपीएल खेल्न आउने निश्चित भइसकेको थियो । एबी डिभिलियर्स जस्ता क्रिकेटरको चर्चा पनि चलिरहेको थियो । तर, कोरोनाभाइरसको महामारीले आयोजना सफल हुन नसकेर दुई वर्षपछि धकेलियो । त्यही संस्करण अन्ततः शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

दुई वर्षअघि घोषित खेलाडीको अनुपस्थिति रहने भए पनि केही चर्चित अन्तर्राष्ट्रिय क्रिकेटरले प्रतियोगितामा सहभागिता जनाउँदैछन् । पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, श्रीलंकाका उपल थरङ्गा, बंगलादेशका तमिम इकबाल लगायतका खेलाडीहरुलाई नेपाली दर्शकहरुले प्रत्यक्ष हेर्न पाउने भएका छन् ।

ईपीएलको यो संस्करणमा पूर्व घोषित खेलाडीहरू अनुपस्थित नहुनुको कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू पुनः सुचारु हुन पनि हो । तर, जिम्मावे, बंगलादेश, अफगानिस्तान, श्रीलंका, पाकिस्तानका प्रतिष्ठित खेलाडीको उपस्थितिले नयाँ तरङ्ग पैदा गर्नेमा विश्वस्त हुन सकिन्छ ।

यो वर्षको ईपीएलमा देखिने विदेशी अनुहार

विराटनगर वारियर्स सन् २०१७ मा च्याम्पियन बनेको विराटनगरले गत संस्करणमा समूह चरण पार गर्न सकेन । पहिलो चरणका पाँच खेलमा तीन हार र दुई जितको नजिता निकालेको विराटनगर ६ मध्ये पाँचौं टोलीमा सीमित बनेको थियो ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगर यसपाली नयाँ नेतृत्वसहित मैदानमा उत्रिने निश्चित छ । र, आसन्न प्रतियोगिताका लागि विराटनगरले क्यानडियन रायन पठान, गुयानाका चन्दरपाउल हेमराज, जिम्वावेका सिकन्दर राजा र श्रीलंकाली दिलसान मुनाविरालाई टोलीमा अनुबन्ध गरेको छ ।

यसअघिका दुई संस्करणमा उल्लेख्य नतिजा निकाल्न नसकेको पोखरा राइनोज यसपाली त्यो लय सुधार्ने तयारीमा छ । यसअघिका संस्करणमा शक्ति गौचनको कप्तानीमा ईपीएल खेलेको पोखराको नेतृत्व यसपाली विनोद भण्डारीले गर्ने बुझिएको छ ।

पहिलो सिजनमा इलिमिनेटरसम्म पुगेर पराजित भएको पोखरा दोस्रो सिजनमा प्रारम्भिक चरणमै सीमित भयो । गत सन् २०१९ मा हुने भनिएकै समयमा ईपीएल आयोजित हुन्थ्यो भने क्रिस गेललाई त्रिवि क्रिकेट मैदानमा दर्शकले हेर्न पाउँथे ।

त्यो सम्भव नभएपछि आसन्न संस्करणका लागि श्रीलंकाका सहान अराचचिगे र असेला गुनारत्ने, दक्षिण अफ्रिकाका रिचार्ड लेभी, वेस्ट–इन्डिजका केसरिक विलियम्सलाई टोलीले अनुबन्ध गरेको छ ।

राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछानेलाई उनकै जन्मदिनमा कप्तान घोषित गरेको काठमाडौंले उद्घाटन खेलमा ललितपुरको सामना गर्दैछ । पहिलो संस्करणको प्रारम्भिक चरण पार गर्न नसकेको काठमाडौंले दोस्रो सिजन क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । तर, त्यहाँ पराजित भएपछि पहिलोपटक फाइनल पुग्ने मौका गुमाएको काठमाडौंले यो सिजन टोलीमा विश्व परिचित खेलाडीलाई समावेश गरेको छ ।

पकिस्तानका पूर्वकप्तान तथा चर्चित अलराउन्डर शाहिद अफ्रिदीसँगै सिंगापुरका जनक प्रकाश, जिम्बावेका रायन ब्रुल, अफगानिस्तानका रमानुल्लाह जुर्बाजलाई यो सिजनका लागि अनुबन्ध गरिएको छ ।

गत सिजनको फाइनलमा भैरहवा ग्लाडिएटर्सलाई पराजित गर्दै च्याम्पियन बनेको ललितपुरले पहिलो खेलदेखि नै यो सिजनको उपाधि रक्षा अभियान सुरु गदैछ । पहिलो सिजनमा इलिमिनेटरसम्म पुगेको लतिलपुरले गत सिजनको फाइनलमा भैरहवालाई पराजित गर्दै उपाधि उचालेको थियो । लगातार दोस्रो पटक उपाधि जित्ने तयारीमा रहेको ललितपुरले आगामी सिजनका लागि अफगानिस्तानका अज्मतुल्लाह ओमरजाई, श्रीलंकाली ओशाडा फर्नान्डो, भुटानका मिक्यो दोर्जी र श्रीलंकाका शेनडन विराकोड्डीलाई टोलीमा समावेश गरेको छ ।

चितवन टाइगर्सले हालसम्म इलिमिनेटर पार गर्न सकेको छैन । पहिलो सिजनमा पहिलो सिजनमा प्रारम्भिक चरण पार गर्न नसकेको चितवनले दोस्रो संस्करणमा इलिमिनेटरमा स्थान बनाएको थियो । तर, त्यहाँबाट अघि बढ्न सकेको थिएन । पहिलो पटक फाइनल यात्रा तय गर्ने सोचसहित यो सिजनको तयारी गरिरहेको चितवनले अफगानिस्तानका मोहम्मद शहजाद र करिम जनत, मलेसियाका विरनदीप सिंह, श्रीलंकाली सेकुगे प्रशन्नालाई टोलीमा अनुबन्ध गरेको छ ।

लगातार दुई सिजन फाइनलमा पुगेर उपाधि जित्न असफल रहेको भैरहवा ग्लाडिएटर्स यसपटक त्यो खडेरी चिर्ने प्रयत्नमा छ । पहिलो संस्करणमा सोझै फाइनलमा पुगेको भैरहवा दोस्रो सिजनमा क्वालिफायर, इलिमिनेटर हुँदै फाइनलसम्म पुगेकोे थियो ।

सन् २०१७ मा विराटनगर वारियर्ससँग पराजित भएको भैरहवा २०१८ मा ललितपुरसँग स्तब्ध हुनुपर्यो । दुई पटक उपाधि नजिक पुगेर असफल रहेको भैरहवाले यसपाली टोलीलाई अझ सशक्त बनाउन बंगलादेशका तमिम इकबल, मलेसियन सार्भिन मुनियान्दी, श्रीलंकाली उपल थरङ्गा र धमिका प्रसादलाई टोलीमा समावेश गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *