एमिकस क्यूरीका कारण संवैधानिक इजलाससम्बन्धी विवादको सुनुवाइ स्थगित – Nepal Press

एमिकस क्यूरीका कारण संवैधानिक इजलाससम्बन्धी विवादको सुनुवाइ स्थगित

काठमाडौं । नेपाल बार एशोसियनले आधिकारिकरूपमा एमिकस क्यूरीको नाम नपठाएका कारण प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुने कि नहुने भन्ने विवादको सुनुवाइ स्थगित भएको छ ।

न्यायाधीश प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेसी तोकिएको सो मुद्दामाथि सुनुवाइ गर्न एमिकस क्यूरीको बहस नसुनी आदेश दिन नमिल्ने भएकाले आज सुनुवाइ नभएको हो ।

सर्वोच्च बारले पूर्णमान शाक्य र रविनारायण खनाल तथा नेपाल बारले अध्यक्ष चण्डेश्वर श्रेष्ठ र पूर्व अध्यक्ष शेरबहादुर केसीको नाम टुंगो लगाए पनि आधिकारिकरूपमा नाम नदिएको बताइएको छ ।  एमिकस क्युरी पठाउन आदेश भएको सर्वोच्च प्रशासनले बताएको छ ।

न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न दिएको आदेश बमोजिम आज पेसी तोकिएको थियो । संवैधानिक परिषद्ले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाइमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि यो प्रकरण अदालतमा मुद्दाका रूपमा छ ।

प्रधानन्यायाधीशले सो मुद्दाको सुरू र फैसलाको दिन आफू नबस्ने भनेको भन्दै उक्त निर्णय संविधानविपरीत भएको दावीसहित अधिवक्ता गणेश रेग्मीले रिट दर्ता गराएका थिए ।

सर्वोच्च अदालतले भने लिखित जवाफमा संविधानबमोजिम प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन नसक्ने र रिक्युजलको निर्णय न्यायाधीशको विवेकको कुरा भएको भनेको छ ।

प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्ने कि नबस्ने भन्ने मुद्दाको टुंगो लागेपछिमात्र संवैधानिक नियुक्तिहरूविरुद्धको रिटमाथि सुनुवाइ अघि बढ्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर