उज्यालोको खोजीमा चित्रकला प्रर्दशनी

328
Shares
No ads found for this position

चितवन । नवलपुरको गैडाकोट–४ किसान आर्ट ग्यालरीमा आत्मदीपन सामूहिक चित्रकला प्रर्दशनी सुरु भएको छ । हामी कलाकार, त्रिवेणी साहित्य प्रतिष्ठान र कलावती आर्ट काउन्सिलको आयोजनमा भएको प्रर्दशनीको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलले उद्घाटन गरे । प्रदर्शनी असोज २२ गतेसम्म चल्नेछ । १७ चित्रकारका ५२ वटा कलाकृतिहरु प्रदर्शनीमा राखिएको छ ।

मुख्यमन्त्री नेपालीले आर्थिक समृद्धिका लागि कला, संस्कृतिको भूमिका महत्वपूर्ण भएकाले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । ‘कला, संस्कृति संरक्षणका लागि प्रदेशले योजनाहरु बनाइरहेको छ’, उनले भने, ‘कलाकारलाई प्रोत्साहन गर्न तत्पर छौँ, योजनाहरु ल्याउनुस्, सहयोग गर्छौ ।’

‘हामी कलाकार’का अध्यक्ष भीम शर्माले गैडाकोटमा ग्यालरी बनाउने गरी सहयोग गर्न आग्रह गरे । गैडाकोट–५ नम्बर वडाले त्रिवेणी साहित्य प्रतिष्ठानलाई १७ धुर जग्गा भोगचलन गर्न दिइसकेको छ । सो जग्गामा छिटै सुविधासम्पन्न ग्यालरी बनाउने गरी डिजाइन भैरहेको उनले बताए ।

शर्माले प्रजातन्त्र आएपनि कला विकास तथा विस्तारमा राज्यको चासो पुग्न नसकेको दुखेसो पोखे । कोभिड–१९ का कारण बनेका अधिकांश चित्रहरु बिक्री वितरणमा समस्या हुँदै आएका छन् । सौराहामा क्रियटिभ आर्ट ग्यालरी चलाउँदै आएका नेपाल ललितकला प्रतिष्ठान चितवनका अध्यक्ष डि बरालले चित्रकारहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

प्रकाश आर्टस एण्ड सर्भिसेसका सञ्चालक प्रकाश थापाले प्रर्दशनीले चित्रको महत्व जनमासनमा पुर्याउने अपेक्षा व्यक्त गरे । प्रर्दशनीमा उनले बनाएका ३ चित्र छन् । सबै धर्म समान भन्ने भाव जनाउन उनले एउटै चित्रमा हिन्दू, बौद्ध, इसाई र क्रिचिश्यन धर्मावलम्बी झल्किने आकर्षक चित्र कोरेका छन् ।

साहित्यकार गोविन्दराज विनोदीले प्रर्दशनीमा उज्यालोका खोजीमा रहेका बुद्धसम्बन्धी चित्रहरु राखिएको बताए । गैडाकोटका मेयर छत्रराज पौडेल र उपमेयर विष्णुकुमारी कँडेलले चित्रकारलाई हौसला दिन नगरपालिकाभित्रै चित्र संकलन केन्द्र बनाइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *