सामूहिक राजीनामा दिँदै समाज कल्याण परिषद्का पदाधिकारी, सरकारको व्यवहारप्रति असन्तुष्ट – Nepal Press

सामूहिक राजीनामा दिँदै समाज कल्याण परिषद्का पदाधिकारी, सरकारको व्यवहारप्रति असन्तुष्ट

काठमाडौं । समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिने भएका छन् । सरकारले परिषद्को कामप्रति देखाएको व्यवहारमा असन्तुष्टी जनाउँदै सामूहिक राजीनामा दिन लागिएको परिषद्का सदस्य सचिव पुष्कर खातीले नेपाल प्रेसलाई बताए ।

१० जना पदाधिकारीमध्ये २ जना उपत्यकाबाहिर भएकाले हस्ताक्षर गर्न नपाएको आज ८ जना पदाधिकारीले हरिहरभवन पुल्चोकस्थित परिषद्को सभा कक्षमा दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्न लागिएको उनले बताए ।

उनले भने,‘नयाँ मन्त्री आएपछिमात्रै बाहिरिने भनेका थियौं । तर, सरकारले दबाब दिएकाले सिंगै टिमले नै राजीनामा दिन लागेका हौं । सरकारले यस क्षेत्रमा गरेको रवैया र आफूहरूको कार्यकालमा हासिल गरेको उपलब्धि सार्वजनिक गरेर छाड्छौं । अहिलेको सरकारलाई छिट्टै सजिलो बनाइदिएको हौं ।’

परिषद् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत पर्छ ।

राजीनामा दिन लागेका पदाधिकारीहरू केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएकाहरू हुन् ।

परिषद्को पदाधिकारीमा उपाध्यक्ष डा पदम प्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खाती, बोर्ड सदस्यहरु नानीमैया नेपाल,  गोविन्द बहादुर शाही सुशिल ज्ञवाली, बर्मा दोज गुरुङ मनिराम बन्जाडे, सञ्जय कुमार शाह छन् ।

परिषद्को अध्यक्षमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *