दीपक-दीपा नयाँ फिल्म ‘कालो कोट’ बनाउँदै, सौगात मल्ल भिलेनको भूमिकामा देखिने – Nepal Press

दीपक-दीपा नयाँ फिल्म ‘कालो कोट’ बनाउँदै, सौगात मल्ल भिलेनको भूमिकामा देखिने

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ फिल्म ‘कालो कोट’ निर्माण गर्ने भएका छन् । ‘छ माया छपक्कै’का सह-निर्माता रोहित अधिकारीसँग मिलेर उनीहरुले फिल्म निर्माणको तयारी गरेका हुन् । केही दिनयता उनीहरुले छ माया छपक्कैको श्रृंखला बनाउने हल्ला व्यापक थियो । तर, उनीहरुले नयाँ फिल्म निर्माणको लागि तयारीलाई तीव्र तुल्याएका हुन् ।

अहिले यो फिल्मको लेखन तथा कलाकार छनौटको काम (कास्टिङ) चलिरहेको छ । ‘सोसल-कमेडी’ विधाको यो फिल्ममा निर्माण टिमले सौगात मल्ललाई लिने भएको छ । यो फिल्ममा सौगात खलपात्रको भूमिका देखिने भएका छन् । निर्माण सुरु हुन लागेको अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘एक्स नाइन’मा पनि सौगात भिलेनको भूमिकामा देखिने तयारीमा छन् ।

फिल्म कालो कोटलाई कसले निर्देशन गर्छ भन्ने निधो भैसकेको छैन । छ माया छपक्कैको निर्देशन दीपेन्द्र लामाले गरेको भएपनि कालो कोट निर्देशकमा सिमोस सुनुवार हुने सम्भावना छ । सिमोस अहिले टिभी रियालिटी सो हिमालय रोडिज निर्देशनमा व्यस्त छन् ।

कालो कोट फिल्ममा दीपक-दीपाको समूहबाट दीपक-दीपा र माग्ने बूढा (केदार घिमिरे) मात्र सोझदारको रुपमा रहने जनाइएको छ । जितु नेपाल भने यो फिल्ममा नरहने स्रोतको भनाई छ ।

दीपक-दीपाको समूहभन्दा बाहिर रहेर नयाँ फिल्म बनाउन जितुले हिरोइनमा साम्राज्ञी शाहलाई लिएर सम्झौता गरिसकेका छन् । कालो कोट फिल्म कहिलेदेखि छायांकनमा जानेछ भन्ने कुराको निधो चाहिँ कोरोना महामारीको सम्भावित तेस्रो लहरमा निर्भर हुनेछ । स्वास्थ्य मन्त्रालयले चाडपर्वको छेकोमा सम्भावित लहर आउने प्रक्षेपण गरिसकेको छ । यो फिल्ममा तीन अभिनेत्री रहने र उनीहरुसँग अनुबन्धनबारे छलफल भैरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *