महानगरीय ट्राफिक प्रहरी महाशाखाको चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक – Nepal Press

महानगरीय ट्राफिक प्रहरी महाशाखाको चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

लामो दुरीमा २ जना चालक अनिवार्य रुपमा भए र नभएको एप्सबाट हेरिने

काठमाडौं। नजिकिदै गरेको बडादशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना सोमबारदेखि लागू गरेको हो ।

चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्युनिकरण तथा यात्रुलाई पर्न सक्ने बिभिन्न समस्यालाई सम्बोधन गरि सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागु गरिएको महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए । उनका अनुसार योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ती परिचालन, चेकजाँचमा कडाई र नागरिक सहायता कक्षा स्थापना गरि सेवा प्रवाह गरिने छ ।

महाशाखा प्रमुख एसएसपी भट्टराईले भने ‘बसपार्क, टिकट काउण्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणक लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एव अनुगमन गरिने छ । पुर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाउने काम गरिनेछ ।’

दिनमा ४ पटकसम्म तालिका बमोजिमको चेकिङ्ग
दैनिक रुपमा महानगरीय ट्राफिक प्रहरी कार्यालयको कार्यक्षेत्रमा पर्ने ४३ वटा ट्राफिक प्रहरी कार्यालयले दिनमा ४ पटकसम्म तालिका बमोजिमको चेकिङ्ग गर्दै आएको महाशाखाले जनाएको छ । नाकामा २४ सैं घण्टा चेकजाँच भइरहेको र चाडपर्वको समयमा हुने सवारी चाप व्यबस्थापन तथा दुर्घटना न्युनिकरणको लागी चेकजाँचलाई समेत कडाई पार्ने योजनामा महाशाखाको छ ।

चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरि सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुन सक्ने पक्षलाई मध्यनजर गर्दै रात्रीकालीन मात्र नभई दिनको समयमा समेत व्यापक रुपमा मादक पदार्थ सेवन (मापसे) चेकजाँच गरि कडाई गरिने एसएसपी भट्टराईले बताए । उनले भने, ‘बिशेषगरी चाडपर्व समयमा तिब्रगती र मादक पदार्थ सेवन गरि सवारी चलाउँदा हुने दुर्घटनालाई सून्यमा झार्न बिशेष चेकिङ्ग योजना सफल हुने अपेक्षा लिएको छु । तिब्रगति नियन्त्रणका लागी नाईट भिजन लेजर स्पीड गन समेत प्रयोग गरिने छ ।’

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यकाबाट बाहिरिने सबै प्रकारका सवारी साधनलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना छ । मुख्यतय लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राखे नराखेको, बढि भाडा लिए नलिएको, चालकले मापसे गरे नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको चेकजाँच गर्ने महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको बिशेष सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए र नभएको ट्राफिक प्रहरीको एप्सबाट समेत चेकजाँच गर्ने उल्लेख छ ।

बढि भीडभाड हुने क्षेत्रमा थप ट्राफिक प्रहरी परिचालन गरिने
चाँडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने क्षेत्रमा थप जनशक्ती परिचालन गर्ने महाशाखाको योजना छ । बिशेषगरि बसपार्क क्षेत्र, उपत्यका प्रवेश गर्ने नाका, सपिङ्ग कम्प्लेक्स तथा व्यापारिक केन्द्रमा किनमेलका लागि आउने मानिस तथा सवारी साधनको बढि भीडभाड हुने स्थानमा अतिरिक्त ट्राफिक प्रहरी जनशक्ती परिचालन गरि सहज आवागमनको व्यवस्था मिलाईने महाशाखाका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक (एसपी) संजिव शर्मा दासले जानकारी दिए ।

न्युरोड, ठमेल, कालीमाटी, कलंकी, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध, बालाजु, बसपार्क लगायतका क्षेत्रमा बढि भिडभाड हुने कारण हुने बिगतको अनुभवलाई मनन गर्दै त्यस्ता क्षेत्रमा थप जनशक्ती परिचालन गरि ट्राफिक व्यवस्थापन एव पार्किङ्ग व्यवस्थापन मिलाईने र आवश्यक परेको खण्डमा न्युरोड, खिच्चापोखरी, ईन्द्रचोक लगायतका भित्री इलाकामा सवारी साधन डाइभर्सन समेत गरिने प्रवक्ता दासले बताए ।

१४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन हुने
उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन हुने भएको छ । नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् । आम सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिबिधी र सुरक्षा सम्बन्धी सू–सुचित गर्न, स्वास्थ्य मापदण्डको पालना गर्न, टिकट तथा भाडा ठगी लगायतका यात्रुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ । यात्रुले स्पष्ट देखिने गरि टिकट काउन्टरमा अनिवार्य भाडादर टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्ति तथा यातायातसँग सरोकार राख्ने व्यक्तिको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय सहकार्य गरिने माहशाखाले उल्लेख गरेको छ ।

सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरिने
नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने सवारी चाप, यात्रुसँग बढी भाडा लिई हुने ठगी, यात्रुसँग हुने अमर्यादित व्यवहार, गन्तव्य नपुगी गाडीबाट ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजक र सक्रिय रहने एसएसपी भट्टराईले बताए ।

अन्य समयको तुलनामा चाडपर्वको समयमा बिशेषगरि गंगबु नयाँ बसपार्क क्षेत्र, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, पुरानो बसपार्क, गौशाला, जडिबुटी लगायतका भीडभाड हुने स्थान र टिकट काउन्टरमा हुन सक्ने भाडा ठगी नियन्त्रण गर्न, फर्जी टिकट तथा दोब्बर टिकट काट्ने व्यक्तिमाथि निगरानी गर्न, त्यस्तै टिकट मूल्यअनुसार लिएको छ वा छैन चेकजाँच गर्न र पकेटमार तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गर्ने महाशाखाले जनाएको छ ।

तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामो दूरीका सवारीमा दुईजना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन महाशाखाले सर्वसाधारणसँग अनुरोध पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर