अर्थमन्त्रीसँग विश्व बैंकका प्रतिनिधिको भेट, महामारी नियन्त्रणका लागि थप सहयोगमा जोड – Nepal Press

अर्थमन्त्रीसँग विश्व बैंकका प्रतिनिधिको भेट, महामारी नियन्त्रणका लागि थप सहयोगमा जोड

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड-१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याउनुभएको छ ।

सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्‍याउँदै आइरहेको सहयोगका निम्ति मन्त्री शर्माले धन्यवाद दिए । ‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘कोभिड-१९ संक्रमणको समयमा बैंकले आपतकालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेको छ । यसका लागि धन्यवाद दिन चाहन्छु ।’

मन्त्री शर्माले भने, ‘सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थातर्फ अगाडि बढ्न अग्रसर छ, यसमा विश्व बैंकको थप सहयोग र सहकार्यको अपेक्षा छ ।’

भेटमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले आउँदो विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गरे । बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *