संविधान बनाउन अगुवाइ गर्दा ममाथि माइकले हान्ने र भौतिक आक्रमणसमेत भए : ओली – Nepal Press

संविधान बनाउन अगुवाइ गर्दा ममाथि माइकले हान्ने र भौतिक आक्रमणसमेत भए : ओली

‘राष्ट्रिय स्वाधीनता झुक्न नदिइ एमालेको नेतृत्वमा नाकाबन्दी परास्त गरियो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-माओवादीजस्ता दलहरू लकपकाएर खुट्टा कमाएका बेला एमालेको नेतृत्वमा संविधान बनेको भन्दै यसको रक्षाका लागि पनि एमालेले नै अगुवाइ गर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले संविधान जारी गर्ने पहल लिँदा आफूमाथि संविधानसभामै माइकले हान्नेदेखि भौतिक हमलाको प्रयास भएको स्मरण गरे ।

ओलीले भने, ‘हामीमाथि संविधान जारी गर्न खोज्दा भौतिक आक्रमण भए । माइकले हाने । सबै झेलेर संविधान जारी गराइयो, त्यसवापत नाकाबन्दी भयो त्यसको पनि डटेर, राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिएर कुनै सम्झौता नगरी संविधानको रक्षा गरेर अघि बढ्यौं । मलाई गर्व छ त्यसको नेतृत्व नेकपा एमालेले गर्‍यो ।’

ओलीले संविधान संशोधन गर्छु भन्दै विदेशमा गएर सम्झौता गर्ने प्रवृत्ति नेपालकै कतिपय नेताले देखाएको भन्दै शेरबहादुर देउवाप्रति कटाक्ष गरे । अध्यक्ष ओलीले संविधान नमान्ने शक्तिलाई पनि एमालेले आफ्नो नेतृत्वको सरकारका पालमा सबैलाई समेटेको दावी गरे ।

ओलीले भने, ‘जो पृथकतावादको वकालत गर्दै थिए, हिंसामा थिए ती सबै प्रवृत्तिलाई समेत समावेश गरियो । संविधान मान्दैनौं भन्ने कुरा अब जनतालाई धोका दिने मात्र हो । सबैले संविधान अनुसार सपथग्रहण गरेका छन् । सरकारमा सहभागी भएका छन् । विनासर्त संविधान स्वीकार गरेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर