प्रधानमन्त्री अस्वीकार गर्ने गणेशमानको त्यो साहस (भिडियोसहित) – Nepal Press
२५ औं गणेशमान स्मृति दिवस

प्रधानमन्त्री अस्वीकार गर्ने गणेशमानको त्यो साहस (भिडियोसहित)

कठमाडौं । आज नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोे २५ औं स्मृति दिवस । उनको ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते निधन भएको थियो ।

तात्कालीन सरकारले उनको निधनमा तीनदिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो । यसअघि तात्कालीन श्री ५ को सरकारले कुनै पनि सरकारी पदमा नभएको र राजनीतिज्ञको सम्मानमा शोक मनाउने घोषणा गरेको थिएन ।

जनआन्दोलनपश्चात तात्कालीन राजा वीरेन्द्रको प्रधानमन्त्री बन्ने आग्रहलाई आस्वीकार गरी आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाएपछि उनलाई लौहपुरुषको उपाधि दिइएको थियो । जनआन्दोलनपछिको अन्तरिम सरकारको (२०४७ साल वैशाख) प्रधामन्त्री पद लिन राजा वीरेन्द्रको आग्रह हुँदा सिंहले अस्वीकार गरेका थिए । सिंहको जन्म १९७२ साल कात्तिक २४ गते काठमाडौंको यट्खामा भएको थियो ।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकोेलाई लौह पुरुष र त्यागी नेताका रुपमा चिनिन्छ । राणा शासनको अन्त्यका लागि ज्यानको बाजी लगाएका सिंह जीवनभर प्रजातन्त्र र मानवअधिकारका पक्षमा लडिरहे ।

उनले कसैसंग संझौता गरेनन् । काराबास सजाय भोगीरहेका सिंहले राणाकालमा ६०१ कोर्रा लगाउँदासमेत माफी मागेनन् । बरु जेल तोडेर भागे ।

प्रजातन्त्रको लडाईमा सिंगो जीवन अर्पण गरेका सिंहले २०४६ सालको अन्दोलनको नेतृत्व गरे । आन्दोलन सफलभएपछि प्रधानमन्त्री बन्न राजाले गरेको आग्रह अस्वीकार गरी त्यागको उच्चतम नमूना प्रस्तुत गरे । जीवनकालमा एकपटक २०१२ सालमा पार्टी सभापतिका लागि प्रतिस्पर्धा गरे । पराजित भएपछि फेरि कहिल्यै उम्मेदवारी दिएनन् ।

नेपालका वरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंह काठमाडौँको खानदानी परिवारमा जन्मेका हुन् । सिंह १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउन राजनीतिमा होमिए ।

उनी तत्कालीन ‘राणा हटाऊ’ आन्दोलनका एक नायक हुन् । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ ।

२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संघर्षका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील रहे ।

पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर काराबास भोग्नुपर्यो । त्यसपछि पुनः प्रवासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिइ स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

२०१५ मा सम्पन्न मुलुकको पहिलो संसदीय निर्वाचनमा काठमाण्डौं क्षेत्र नं १ बाट विजयी भएका सिंह त्यसपछि कहिल्यै चुनाव उठेनन् । त्यो चुनावमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाललाई झिनो मत अन्तरमा हराएर उनी विजयी भए ।

त्यो निर्वाचनमा नेपाली कांग्रेसले कुल १०९ मध्ये ७४ सिटका साथ दुइतिहाईको जीत हासिल गरेको थियो । बीपी कोइरालाको नेतृत्वमा गठित सरकारमा गणेशमान सिंह यातायात मन्त्री थिए । नेपाली कांग्रेस भक्तपुरका दर्जन नेता सिंहलाई सगुनसहित बधाई दिन भनेर चाक्सिवारीस्थित उनको निवासमै पुगेका थिए ।

बधाई दिन जाने टोलीका एक सदस्यथिए– नेपाली कांग्रेसका पुराना नेता तिलक प्रकाश कायस्थ । उक्त अनुभव कायस्थ यसरी सुनाउँछन्–

‘गणेशमानजी मन्त्री भएपछिको कुरा हो । भक्तपुरसंग ज्यादै नजिकको सम्बन्ध भएको नाताले हामी पन्ध्र सोह्र जना साथीहरु सगुन दिन भनेर उहाँको चाक्सिवारीस्थित घरमै गएका थियौं । त्यही बेला उहाँले भन्नु भएको थियो– ह्या तपाईहरु पनि के को वधाई र सगुनको कुरा गर्नु हुन्छ । मैले जितेको भनेर तपाईहरुले यो सगुन दिन ल्याउनु भएको होला । प्राविधिक रुपमा जितेको भएपनि वास्तवमा म त हारेको व्यक्ति हुँ । १८ हजार भोट मेरो विरोधमा खसेको छ । मैले १२ हजार मत मात्र पाए । म आफूलाई जितेको भनू कि हारेको । प्रकृयागत रुपमा जिते पनि वास्तविक रुपमा म हारेकै हो । त्यसपछि गणेशमानजीले काठमाडौंबासीलाई नराम्रोसंग गाली गर्नुभयो ।

उहाँको भनाई थियो– यी दास भइरहेका उपत्यकावासीलाई उद्दार गर्नु पर्छ भनेर मैले ज्यानको बाजी लगाए । कहिल्यै चैनसंग वस्न पाइनँ । राणा शासन फाल्न ज्यानको बाजी लगाए । राणाहरुले उहिल्यै मार्न खोजेका हुन् । बालबाल बचे । मेरो त्यो त्याग काठमाडौंबासीले चिनेको यहीं हो । मेरो भोट चाहीँ मलाई १२ हजार आयो । अस्ति मेरो सिन्दुर जात्रा गर्दा लाखौं मानिस । यस्ता पनि जनता हुन्छन् । जसलाई दासताबाट मुक्त गरेर मानिस बनाउन मैले लडेँ, उनीहरुले नै मेरो मूल्याङकन गर्न सकेनन् । हिजो मलाई मत नदिने । अहिले जितेपछि मेरो हाई हाई ।

त्यही बेला गणेशमानजीले भन्नु भएको थियो– हेर्नुस् म आईन्दा कुनै चुनाव पनि लड्दिनँ र कुनै सरकारी पदमा पनि जान्नँ ।’

त्यसपछि गणेशमानजीसंग पटक पटक भेट त भयो तर यसरी खुलेर कुरा गर्ने वातावरण पाइएन । जननिर्वाचित सरकारले राम्रै काम गरिरहेको थियो । राजा महेन्द्रले २०१७ पुष १ गते संसदीय प्रजातन्त्र माथि ‘कु’ गरे । बीपीसंगै गणेशमानजीलाई ८ वर्ष सुन्दरीजल बन्दीगृहमा राखियो ।

आठ वर्षसम्म उहाँ भारत प्रवासमा रहनुभयो । प्रजातन्त्र बहालीका लागि संघर्ष गर्नुभयो । गणेशमानजीकै नेतृत्वमा २०४६ सालमा भएको जनआन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गर्यो । त्यो बेला अन्तरिम सरकारको प्रधानमन्त्री बन्न राजाबाट भएको आग्रह उहाँले अस्वीकार गरिदिनुभयो । प्रजातन्त्रका लागि जीवनभर त्याग गरेका नेताले मुखमैमा आएको प्रधानमन्त्री पद अस्वीकार गर्नु चानचुने त्याग थिएन । तत्क्षण उहाँले कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभयो ।

२०१५ सालपछि पार्टीको कुनै पदमा चुनाव लड्नु भएन र २०४८ र २०५१ को आम निर्वाचनमा समेत उम्मेदवार नै हुनु भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर