महिला फुटबलः सावित्राबिनाको नेपाल फिलिपिन्सविरुद्ध कठिन परीक्षामा – Nepal Press
म्याच प्रिभ्यू

महिला फुटबलः सावित्राबिनाको नेपाल फिलिपिन्सविरुद्ध कठिन परीक्षामा

दुई वर्षपछि प्रतिस्पर्धात्मक खेलमा नेपाली महिला टोली

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सन् २०१९ मा नेपालमै भएको दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो प्रतिस्पर्धात्मक खेल भोलि (शनिबार) खेल्दैछ । अर्को वर्ष छिमेकी मुलुक भारतमा हुने एएफसी वुमेन्स एसियन कप-२०२२ को छनोटका लागि उज्बेकिस्तानको तासकेन्त पुगिसकेको नेपाली टोलीले शनिबार आफूभन्दा माथिल्लो स्तरको फिलिपिन्सको सामना गर्न लागेको हो ।

छनोटको समूह ‘एफ’मा नेपालसँगै रहेको फिलिपिन्स फिफा बरियतामा ६८ औं स्थानमा छ । र, नेपाल १ सय १ औं स्थानमा । नेपालले फिलिपिन्ससँग यसअघि सन् १९९९ मा तत्कालिन एसियन वुमेन्स च्याम्पियन्ससिप अन्तर्गत खेलेको थियो । अहिले सोही प्रतियोगिताको परिस्कृत रूप ‘एएफसी वुमेन्स एसियन कप’ मा पुग्नका लागि नेपालले छनोटको पहिलो खेलमा फिलिपिन्सको सामना गर्दैछ । आजभन्दा २१ वर्षअघि फिलिपिन्समै भएको त्यो खेलमा नेपाल ५-० गोलको नतिजामा पराजित भएको थियो ।

यो छनोटबाट समूहको शीर्ष स्थानमा रहने टोलीले भारतमा अर्को वर्ष हुने प्रतियोगितामा स्थान बनाउने छन् । र, त्यसका लागि नेपालले फिलिपिन्सलाई हराउने नेपालले हरसम्भव प्रयास गर्नेमा कुनै शंका छैन । तर, आफूभन्दा माथिल्लो स्तरका दुई टोली, फिलिपिन्स र हङकङको सामना गर्दै नेपाललाई भारतमा हुने प्रतियोगितामा स्थान बनाउनु पर्नेछ ।

भौगोलिक निकटता र दुई देशको सम्बन्धका कारण सम्भवतः भारत पुग्न सबैभन्दा सहज हुनुपर्ने नेपाललाई हो । तर, भौगोलिक आंकलनमा भारत पुग्नु जति सहज छ, त्यति नै कठिन अर्को वर्ष त्यहाँ हुने प्रतियोगितामा स्थान बनाउन देखिन्छ ।

वरियता नै सबै कुरा होइन । विगतको रेकर्ड मात्रैले पनि सबै तय गर्दैन । विश्व फुटबलमा बलिया मानिएका टोलीविरुद्ध कमजोर आंकिएका टोलीले पनि सनसनीपूर्ण नतिजा निकालेका कैयन उदाहरण छन् । यसको ज्वलन्त उदाहरण पुरुष विश्व छनोटमा गत अप्रिलमा नर्थ मेसिडोनियाले जर्मनीविरुद्ध निकालेको २-१ गोलको जित हो ।

साम्बाबिना नेपाल

पछिल्लो समय नेपाली महिला फुटबल टोलीकी आधारस्तम्भका रुपमा रहेकी सावित्रा भण्डारी ‘साम्बा’ अहिले उज्बेकिस्तान पुगेको नेपाली टोलीमा छैनन् । उनको अभावले नर्थ मेसिडोनिया बन्न सक्ने नेपालको सम्भावनालाई निकै टाढा धकेलिदिएको छ । नेपाली महिला फुटबल टोलीबाट इतिहासकै सर्वाधिक गोलकर्तासमेत रहेकी साबित्रा दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन् । नेपाललाई उनको अभाव चर्कोरुपमा खट्किनेछ ।

यसै छनोटको तयारी स्वरुप आयोजित बंगलादेशविरुद्ध खेलमा सावित्राविनाको नेपाल कमजोर देखियो । दुई मैत्रीपूर्ण खेलका दौरान बंगलादेशी मुख्य प्रशिक्षक गोलाम चोटोनले पनि साबित्राको खुलेर बयान गरेका थिए ।

‘दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड यी मैत्रीपूर्ण खेलमा हुने छैनन्, त्यो दुखद् छ,’ चोटोनले भनेका थिए, ‘तर, उनी नेपालको टोलीमा नहुँदा बंगलादेशी डिफेन्डरलाई धेरै सहज महसुस पक्कै हुनेछ ।’

उनले भने जस्तै नेपालले बंगलादेशविरुद्ध खेलेका दुईमध्ये दोस्रो खेलमा इतिहासकै खराब प्रदर्शन गर्‍यो । र, कारण बन्यो फिनिसिङमा समस्या । पहिलो खेलमा २-१ गोलको जित निकालेको नेपालले दोस्रो खेलमा गोल गर्न नसक्दा बंगलादेशविरुद्धको सतप्रतिशत नतिजालाई कायम राख्न चुक्दै बराबरीमा चित्त बुझाया । त्यो खेलपछि नेपालकी कप्तान रेणुका नगरकोटी र मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले फिनिसिङ-स्कोरिङमा समस्या भएको बताएका थिए ।

‘हामीले गोलका अवसर सिर्जना गरे पनि फिनिसिङ भएन र गोल हुन सकेन,’ रेणुकाले भनेकी थिइन्, ‘तर, हामी उज्बेकिस्तानमा गएर यसमा पक्कै सुधार गरेर स्कोर गर्न सक्ने छौं ।’

त्यस्तै, प्रशिक्षक फिलिप्सले पनि साबित्रा नहुनु टोलीका लागि ठूलो घाटा भएको बताउँदै उनको स्थान अन्य खेलाडीले लिने मौका रहेको बताएका थिए ।

विश्वकप छनोटमा फिलिपिन्सको आँखा

महिला फुटबलको अन्तिम गन्तव्य- फिफा महिला विश्वकपमा ३२ टोली सहभागी हुने तय भएसँगै धेरै नयाँ देशका लागि बाटो खुलेको छ । र, यसको फाइदा उठाउन आतुर टोलीमध्ये एक हो, फिलिपिन्स ।

सन् २०१८ मा एक जित नजिक पुगेर अन्तिम खेलमा कोरियासँग पराजित हुँदा विश्वकपसम्म पुग्न नसकेको फिलिपिन्स तीन वर्षयता फेरि त्यो अवसरको प्रतिक्षा गरिरहेको छ । अमेरिका बेस्ड र युरोपेली फुटबलको अनुभव बटुलिसकेका खेलाडीको उपस्थितिले फिलिपिन्सको इच्छा र शक्तिलाई अझै बलियो बनाएको छ ।

गोलकिपर तथा कप्तान इना पालासियोस कोरोना भाइरसले टोलीका लागि कठिन परिस्थितिको सिर्जना गरे पनि आफ्नो टोलीले सिकाईलाई निरन्तरता दिएको बताउँछिन् ।

‘टोलीका सबै खेलाडीको मेहेनत, अनुशासन र प्रतिबद्धताको बलमा हामी विश्वकपमा छनोट हुन सक्छौं,’ उनले भनिन्, ‘छनोट नभई त्यसलाई व्याख्या गर्न सक्दिन । परिकल्पना मात्रै गर्न सक्छु- फेरि बच्चा भएको महसुस हुनेछ, सपना पूरा हुनेछ, यो सपना हो, यो लक्ष्य हो ।’

युरोप-अमेरिकामा खेल्ने फिलिपिनो खेलाडी

अमेरिका र युरोपेली फुटबलको अनुभव बटुलिसकेका फिलिपिनो खेलाडीको भोलिको चुनौती नेपालका लागि कठिन परीक्षा हुने निश्चित छ । फिलिपिन्सको टोलीमा अमेरिका र युरोपमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीको बाहुल्यता छ ।

फिलिपिनो टोलीका सात खेलाडी अहिले पनि अमेरिका र युरोपमा व्यावसायिक फुटबल खेलिरहेका छन् । र, फिलिपिन्स उनीहरूकै आडमा अमेरिकामा बन्द प्रशिक्षण सकेर बलियो आत्मविश्वाससहित उज्बेकिस्तान पुगेको छ ।

नेपाल सन् १९९९ यता पहिलोपटक एसियन वुमेन्स कपमा स्थान बनाउने कोसिसमा छ ।

खेलअघि के भन्छन् प्रशिक्षक ? (नेपाल)

दुई महिनादेखि तयारी गरिरहेको टोली लिएर उज्बेकिस्तान पुगेका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपालका लागि यो अवसर रहेको बताएका छन् ।

‘महिला फुटबल प्रवर्धनको लागि मात्र नभएर खेलाडीलाई आफ्नो खेल र क्षमता देखाउनेसमेत यो राम्रो अवसर हो,’ खेलअघि उनले भने, ‘नया र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ ऊर्जा थपिएको छ । हामी राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त छौं ।’

खेलअघि के भन्छन् प्रशिषक ? (फिलिपिन्स)

उच्च मनोबल र राम्रो तयारीसहित आफ्नो टोली लिएर उज्बेकिस्तानको ताश्केन्त पुगेका मुख्य प्रशिक्षक मार्लोन मारो कोरोना भाइरसको महामारीका कारण टोलीमा केही कठिनाइ भएको बताउँछन् ।

‘कोभिड-१९ का कारण धेरै टोलीहरुलाई कठिनाई भएको छ । हाम्रा पनि धेरै खेलाडी व्यावसायिक खेलका लागि जापान, अमेरिका लगाएतका देशमा रहेकाले टोलीमा सम्मिलित हुन सकेनन्,’ उनले भने, ‘यद्यपि, पर्याप्त अनुभव भएका युवा खेलाडीहरू टोलीमा भएकाले हामी राम्रो खेल प्रदर्शन गर्नेछौं ।’

नेपाल र फिलिपिन्सबीचको खेल भोलि दिउँसो ३:४५ बजे उज्बेकिस्तानको राजधानी ताश्केन्तस्थित स्टाडियो माजमौसीमा सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर