मृत्युलोकबाट समृद्ध कांग्रेसी मित्रहरूमा… – Nepal Press

मृत्युलोकबाट समृद्ध कांग्रेसी मित्रहरूमा…

नेपाली राष्ट्रिय कांग्रेसको कुरा नगरौं । वि.सं २००७ पछि मातृकाप्रसाद कोइरालाको सभापतित्वकाललाई अपवाद मान्ने हो भने नेपाली कांग्रेसमा सभापति पदको हस्तान्तरणको प्रकृया उदाहरणीय रहेको छ ।

नेपाली कांग्रेसका चार चाणक्य कहलिएका विपी कोइराला, सूवर्णशम्सेर जबरा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायमध्ये सभापति पदका लागि एकाध पटक बाहेक कहिल्यै एकापसका विरूद्ध दावी र हानथाप रहेन । कयौं विषयमा यी चारका बीच गम्भीर मतभिन्नताहरू रहेको थियो । तर, सभापतित्व विवादरहित रहेको थियो । एकर्कालाई पराजयको तहसम्म पुर्‍याउने खेल भएन ।

नेका सभापतिको रूपमा बीपी कोइराला २०१७ पौष १ गतेपछि जेल पर्नु भएपछि प्रवासमा रहनु भएका सूवर्णशम्सेर अनेकौं शक्ति केन्द्रहरूको उक्साहटका बाबजूद सभापति पदको दावी गर्नु भएन। उहाँले झण्डै दुई वर्षसम्म बीपी, गणेशमानजीहरूको रिहाइको प्रयास गर्नु भयो । रिहाइको आशा नदेखिएपछि २०१८ सालमा भारतको पटनामा बोलाइएको सम्मेलनपछि राजा महेन्द्रको तानाशाहीको विरूद्ध सशस्त्र प्रतिरोध संचालन गर्नका लागि सूवर्णजीलाई कार्यवाहक सभापति बनाइएको थियो । त्यसबखत, यस बाहेक कुनै विकल्प नरहेको अवस्था थियो।

लामो समयपश्चात, विपी कोइराला अमेरिकामा उपचार गराएर सन् १९७७ नोभेम्बरमा स्वदेश फर्किने क्रममा कलकत्तामा सूवर्ण जीलाई भेटन जानुभएको थियो । अतिशय रूग्ण सूवर्ण शम्सेर विपीको हात समाएर “तपाईंको नासो नेपाली कांग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईंलाई फिर्ता बुझाउँदछु” भन्दै सभापतित्व हस्तान्तरण गर्नुभयो । कलकत्ताबाट फर्किएर बीपी पटनाको “आर ब्लक” स्थित “एमएलए क्लब” मा आयोजित सभामा यो जानकारी गराउनु हुदाँ म स्वयं पनि साक्षी रहेको हुँ । सायद यसको भोलि वा पर्सिकै दिन सूवर्ण शम्सेर जीको देहावसान भएको थियो । वा, एकाध सप्ताह भित्र । नेतृत्व हस्तान्तरणको यो एक अनुपम उदाहरण थियो ।

पटनाको त्यस सभामा किसुन जी पनि हुनुहुन्थो । यसको साता नवित्दै विपी पटनाबाट नेपाल फर्किनु भयो । राजा वीरेन्द्रसँग उहाँले तेस्तै वचनबद्धता गर्नुभएको थियो । नेपाल फर्किनुअघि पटनाको सोही “एमएलए क्लब” को सभामा आफू नेपाल फर्किएपछि अवश्य पनि पक्राउ परिने भन्नु हुँदै “आफू जेल परेपछि साथीहरू हाम्रा प्रिय साथी किसुन जी (कृष्ण प्रसाद भट्टराई) बाट निर्देशन पाइ रहनु हुनेछ भन्नु भयो । यतिमात्र भन्नु भयो । पटनाबाट काठमाडौं फर्किन लाग्दा शानेवानीको विमानमा उहाँले “योजनाबद्ध” रूपमा सहयात्री बनाउनु भएको एक सहयोगी, जस्को नेपाल फर्केपछि गिरफ्तार हुने संभावना थिएन; उहाँलाई काठमाडौंमा सार्वजनिक गर्ने गरी एक खामबन्दी पत्र दिनु भयो । यो पत्र सार्वजनिक गरिएपछि सबैले थाहा पाए विपीले किसुन जीलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति र परशुनारायण चौधरी एवं गिरिजाप्रसाद कोइरालालाई महामन्त्री तोक्नुभएको हो ।

यहाँ मैले यदि यो सत्य उल्लेख गरिन भने इतिहासप्रतिको बेइमानी हुनेछ कि विपीले यो निर्णय सायद शाब्दीकरूपमा नै सत्य “महान उदारमना निस्पृह मानव गणेशमान जी” को सहमतिबाट गर्नु भएको थियो । यो नेपाली कांग्रेसमा सभापतित्व हस्तान्तरणको अर्को अतुलनीय उदाहरण थियो ।

विश्वास, सद्भाव र सहकार्यको यो परम्परा कलवलगुडीमा आइपुग्यो, जहाँ विराटरूपधारी गणेशमानजीको सदिच्छाबाट र गिरिजा बाबुको प्रसन्नताबाट किसुनजी पार्टीको निर्विरोध सभापति हुनुभयो । यो पछिल्लो अतुलनीय उदाहरण थियो, त्यस दिनका समारोहमा, जहाँ आजका धेरै “भगवानहरू” भावातीत भएर मात्र ताली पड्काइरहेका थिए । भावातीत भएर! तीमध्येका केही आज भन्दै गरेको सुनिन्छ कि उ बेगर कांग्रेस जीवित रहन सक्दैन ।

हो, यो सत्य हो। किसुन जी पछि गिरिजा बाबु सभापति हुने बेलामा नेपाली कांग्रेसको “अतुलनीय सहमतिको उदाहरण” को इतिहासमा प्रतिस्पर्धाले प्रवेश पायो । तर पनि त्यो शिष्ट थियो । शिष्ट यस कारणले कि किसुन जीले मन नपराए पनि आफूलाई गिरिजाबाबुको विरूद्ध उम्मेदवार बनाउनु भएन । उहाँले चिरञ्जिवी वाग्लेलाई नेकाको सभापतिमा समर्थन गर्नुभयो । यो पनि संसारमा विरलै पाइने उदाहरण थियो । “मानिस मन त परेको छैन, तर मानिस गैरनेपाली कांग्रेस होइन ।” नीलकण्ठ हुनुहुन्थ्यो किसुन जी, सत्यमा “नीलकण्ठ”! अद्वीतीय, एकल र अद्वैत !

गिरिजाबाबुपछि नेकामा नेतृत्व हस्तान्तरण प्रकृयाको कुरा नगरौं । सायद मलाई थाहा नभएर पनि होला । किन कि त्येस समयमा मेरो मृत्यु भैसकेको थियो । म त्यस सुन्दर लोकमा रहिन । तर, आज नर्कबाट कांग्रेसको त्यस स्वर्गतिर हेर्दछु। अचम्भ लाग्दछ ! सोध्छु.. प्रभू के भैरहेको छ मेरो पुरानो कांग्रेसमा ?

बडो आराधनापछि म जवाफ पाउँछु । मलाई कसैले एउटा शास्वत कुरो भन्छ । त्यो हो…” ठूला र सिद्ध योगीहरूको मृ्त्यु भएपछि योगीलाई पंचतत्वमा विलीन गराइएपछि अन्यन्‌न शिष्यहरूले गुरू योगीको कुटीलाई आगो लगाई भष्म गर्दछन् ।” यस्तो चलन छ । यो कथन म सप्तरीको मेरो वनकुटीमा सुन्दछु । अनि तन्द्रामा सोध्छु किन नि ? कुटी किन जलाउने नि ? जवाफ आउँछ..” हेर त्यस कुटीमा मृत्युपर्यन्त पनि सिद्ध योगीको आत्माको बास रहेको हुन्छ । तसर्थ, नयाँ योगीले कुटी डढाउने गर्छन् पूर्ववर्ती प्रतापी योगीको प्रभावबाट मुक्त हुन् । स्वच्छन्द हुनका लागि ।”

(लेखकको सामाजिक सञ्जालमा प्रस्तुत विचारबाट)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *