रामेछापदेखि गुल्मीसम्म प्रभाव छोडेकी रुद्रादेवी भक्तपुरकी नयाँ सीडीओ – Nepal Press

रामेछापदेखि गुल्मीसम्म प्रभाव छोडेकी रुद्रादेवी भक्तपुरकी नयाँ सीडीओ

काठमाडौं । बुधबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै १६ जना सहसचिवको काज सरुवा गर्ने निर्णय गरे । उनीहरुमध्ये एक मात्र महिला छिन्, रुद्रादेवी शर्मा ।

सरुवा हुने सूचीको दोस्रो नम्बरमा उनको नाम छ । बाग्लुङ घर भएकी उनी काठमाडौं उपत्यका भित्रकै जिल्ला भक्तपुरको सीडीओ बनेकी छन् । उनको पहिलो रोजाइ भने ललितपुर थियो । गृह मन्त्रालयमा नै रहेका अर्का सहसचिवले ललितपुर उछिट्याएपछि उनी दोस्रो रोजाइको जिल्लामा पुगेकी हुन् ।

शर्मा यसअघि गुल्मीमा सिडीओ थिइन् । केही दिनअघि मात्रै गृह मन्त्रालयले सार्वजनिक गरेको ७७ वटै जिल्लाको कार्यसम्पादन मूल्यांकनमा सहसचिव शर्माले नेतृत्व गरेको गुल्मी जिल्ला कार्यसम्पादन मूल्यांकनमा तेस्रो स्थानमा रहन सफल भएको छ । यसले पनि उनलाई काठमाडौं उपत्यका भित्रको जिल्लामा सरुवा मिलेको बुझिन्छ ।

पछिल्ला समय ६ महिनादेखि १ वर्षभित्रै सीडीओ सरुवा हुने प्रवृत्ति बढेको छ । शर्मा पनि अहिलेसम्म २ जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गए पनि दुवै जिल्लामा १ वर्ष बिताइनन् । रामेछापमा १० महिना पूरा गरेपछि उनको गुल्मीमा सरुवा भएको थियो । गुल्मीबाट भने त्यो भन्दा पनि कम ९ महिनामा नै उनको सरुवा भएको छ ।

शर्माले रामेछापमा पनि राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव सरहको पहिलो प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्ने मौका पाइन् ।

निजामति सेवाको ९ वर्ष सिंहदरबारमा बिताएकी शर्माले गृह मन्त्रालयबाट रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएर गएपछि उनीसँगै कोरोना महामारी पनि गयो ।

प्रशासनिक काम खासै गर्न नसकिने अवस्थामा उनले कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । रामेछाम र गुल्मी गरेर दुईवटै जिल्लामा उनले कोरोना महामारीको बेलामा कोभिड नियन्त्रण तथा रोकथामदेखि शान्ति–सुरक्षाको काममा आफुलाई अब्बल सावित गरिन् ।

अधिकांश प्रमुख जिल्ला अधिकारी जिल्लामा नै बसेर काम गरिरहेको अवस्थामा शर्मा स्थानीय तहमा नै पुगेर आइसोलेनस सेन्टर, क्वारेन्टाइन अनुगमन गर्न पनि पुगिन् ।

नागरिकता र राहत बोकेर घरमै

केही दिनअघि शर्मा गुल्मीमा नागरिकता र राहत बोकेर नागरिकको घर–घरमा पुगिन् । विपदबाट मृत्यु भएका र विभिन्न कारणले प्रशासनमै आएर नागरिकता बनाउन नपाएका व्यक्तिको परिवारमै पुगेर उनले नागरिकता र राहत दिएकी थिइन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गृह मन्त्रालय मातहत पुगेपछि पहिलो जिम्मेवारी रामेछापको प्रमुख जिल्ला अधिकारीका रुपमा पाएकी थिइन् । रामेछाको प्रमुख जिल्ला अधिकारी भएर उनले १० महिनासम्म काम गरेकी थिइन् ।

१२ वर्षदेखि सरकारी सेवामा

२०६६ सालमा राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेकी शर्मा झण्डै ९ वर्षको अन्तरालमा नेपाल सरकारको सह–सचिव पदमा पुगेकी हुन् । सरकारी सेवामा प्रवेशपछि उनीसँग ६ वर्ष शाखा अधिकृतको रुपमा राष्ट्रिय योजना आयोगमा काम गरेको अनुभव छ ।

यसबीच २०७० सालमा नै शर्माले सहसचिवको परीक्षा दिएपछि लिखित परिक्षामा नाम निकाल्न सफल भएकी थिइन् । तर अन्तरवार्तामा भने उनी सफल हुन सकिनन् । शाखा अधिकृतमा काम गरेको ६ वर्ष बितेलगत्तै २०७२ सालमा नेपाल सरकारको राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवमा नाम निकालिन् ।

उनको पहिलो पदस्थापन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भयो । करिब ६ वर्ष राष्ट्रिय योजना आयोगमा बसेर काम गरेको अनुभवका कारण उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि योजना शाखा प्रमुखको जिम्मेवारीमा बसेर काम गरिन् ।

उपसचिवमा ३ वर्ष बिताएलगत्तै शर्माले २०७५ सालमा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी अर्थात् सहसचिवमा नाम निकाल्न सफल भइन् । निजामति सेवामा प्रवेश गरेको ९ वर्षमा नै उनी नेपाल सरकारको प्रथम श्रेणी अर्थात सहसचिवमा प्रवेश गर्न सफल भइसकेकी थिइन् ।

सहसचिवमा प्रवेश गरिसकेपछि उनको पहिलो पदस्थापन बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको रुपमा भयो । कर्मचारी प्रशासनमा संघीयता भर्खरै लागू भएको हुनाले त्यतिबेला सहसचिवमा नाम निकालेपछि वा बढुवा भइसकेपछि पहिलो पदस्थापन नै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने गरेको थियो ।

सुत्केरी महिलाको हवाई उद्धार थालनी

७ महिना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वागमती प्रदेशमा बिताइसकेपछि शर्माको सरुवा महिला, बालबलिका तथा जेष्ठ नागरिक मन्त्रालयमा भयो । मन्त्रालयमा महिला सशक्तिकरण महाशाखा प्रमुखको जिम्मेवारीमा रहेर उनले १३ महिना काम गरिन् ।

उक्त महाशाखा मातहत मन्त्रालयका महत्वपुर्ण पाँचवटा शाखा रहेका छन् । जसमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखा, महिला विकास तथा लैंगिक मूलप्रवाहीरकण शाखा, लैंगिक हिंसा निवारण शाखा, तथ्यांक विश्लेषण तथा प्रकाशन शाखा र राष्ट्रपति महिला उत्थान कार्यक्रम ईकाई रहेका छन् ।

भर्खरै संघीयता कार्यान्वयनमा गइरहेको अवस्थामा उनले त्यहाँ बसेर ५ वटै शाखासँग सम्बन्धित प्रदेश र स्थानीय तहका लागि विभिन्न नियमावली, कार्यविधि तथा मापदण्ड बनाउने काम गरेर नीतिगत सुधारका काम गरिन् ।

लैगिंक हिंसा निवारणका लागि लैगिक हिंसा विरुद्धको वर्ष अभियान घोषणा गर्ने काम पनि उनको पालामा भयो । त्यसै अनुसार ७ वटै प्रदेशमा लैंगिक हिंसा विरुद्धका विभिन्न कार्यक्रम पनि भए ।

शर्माले नै दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि निर्माणको काम गरेकी थिइन् । उनले सम्हालेको महाशाखा प्रमुख नै हवाई उद्धार समन्वय समितिको संयोजकको जिम्मेवारीमा रहने भएकाले उनले उक्त जिम्मेवारी पनि सम्हालिन् ।

यो कार्यक्रममार्फत अहिले मुलुकभरका दुर्गम ठाउँमा ज्यान जोखिमका रहेका महिलाको हेलिकोप्टरबाट उद्धार भइरहेको छ । यस्तै राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन कार्यविधि २०७५ निर्माण गर्ने काम पनि उनले गरेकी छन् । अहिले यो कार्यक्रम मुलुकभरका ५४ जिल्लामा लागू भइसकेको छ ।

महिला, बालबालिका तथ जेष्ठ नागरिक मन्त्रालयमा काम गरेको १३ महिना पछि सरकारले उनको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गर्यो ।

मन्त्रालयमातहतको वैदेशिक रोजगार कार्यक्रम ताहाचल प्रमुखमा उनको सरुवा भयो । तर उनी त्यहाँ हाजिर नै नभएर गृह मन्त्रालयमा सरुवा गराइन् । गृह मन्त्रालय मातहत सरुवा भएपछि उनलाई मन्त्रालयले रामेछाम जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो ।

अहिले ललितपुर जिल्लाका लागि कसरत गरे पनि भक्तपुर जिल्लाको जिम्मेवारी पाएकी छन् । काठमाडौं उपत्यकाका ३ जिल्लाको प्रमुख जिल्ला अधिकारीका लागि अधिकांश सहसचिवले मरिहत्ते गर्ने गरेका छन् ।

सम्भवत अबको करिव ७ वर्षपछि उनी नेपाल सरकारको विशिष्ट श्रेणी अर्थात सचिवमा बढुवा हुनेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर