तालिबानले सत्ता कब्जा गरेपछि ६ लाखभन्दा बढी अफगान विस्थापित – Nepal Press

तालिबानले सत्ता कब्जा गरेपछि ६ लाखभन्दा बढी अफगान विस्थापित

काबुल । अफगानिस्तानबाट यसबर्ष सन् २०२१ मा ६ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । यो संख्या देशभित्र मात्रै विस्थापित भएका अफगानहरुको भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यही सेप्टेम्बर १२ सम्मको विवरणअनुसार कुल ६ लाख ३४ हजार ८०० भन्दा बढी विस्थापित भएको देखिएको छ । विस्थापित भएका मध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग पनि प्रदान गरिएको अधिकारीहरुले जनाएका छन् ।

देशमा भइरहेको आन्तरिक द्धन्द्धका कारण उनीहरु विस्थापित भएको जनाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि देशभन्दा बाहिर विस्थापित भएकाहरुको संख्यामा पनि एकाएक बृद्धि भएको पाइएको छ । देश बाहिर विस्थापित भएका मध्ये विदेशी नागरिकहरुको संख्या धेरै रहेको सरकारी अधिकारीहरुको भनाई छ ।

विस्थापित भएका मध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका पाइएको छ । अफगानिस्तानमा विस्थापित भएका र संकटमा परेकाहरुलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले सवैलाई आह्वान पनि गरेको छ ।

अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन राष्ट्रसंघले विदेशी समुदायलाई आग्रह गरेको हो ।

संयुक्त राष्ट्रसङ्घको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए । ती देशले कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने ती देशले जनाएका थिए । त्यस क्रममा उनीहरुले तत्कालका लागि यति रकम दिने बताएका थिए ।

संयुक्त राष्ट्रसङ्घले भने अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै प्रतिबद्धता व्यक्त गरिएको सो रकम तत्कालै उपलब्ध गराउन भनेको छ ।अफगानिस्तानको आर्थिक अवस्था नराम्रोसँग बिग्रिएको र ठूलो मानवीय सङ्कट आउन लागेकोले सहयोगको आवश्यक परेको राष्ट्रसंघले जनाएको छ ।

हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएको बताएको थियो । सोमबारर जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तरर्राष्ट्रिय दातासँग संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले सहयोगको आह्वान गरेका हुन् ।

उनले अहिले नै अफगानिस्तानमा खाना र महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न लागेको भन्दै सो रकमको आवश्यकता परेको बताएका थिए । गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबानीले हातमा लिएका थिए । त्यसयता वैदेशिक सहायता पनि ठप्प भएको छ ।

अफगानिस्तानका नागरिकलाई तत्कालै खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर