तुँवालो लागेको बाल-सपना – Nepal Press

तुँवालो लागेको बाल-सपना

दिनभर कामको थकानबाट विश्राम लिँदाको क्षण, ठूलो झ्यालको कुनाबाट चिहाएर बाहिर हेर्दै थिएँ म । सन्ध्याकालीन झिलिमिली, प्रकृतिको मनोरम दृष्य सबैको मन छुने नै भयो, म पनि अछुतो रहिनँ । पहाडका टापुमा आधुनिक प्रविधको रमझम, बेहुली सिँगारिएझैँ सुन्दर, मन त्यहीँ, सबै थकान हराएर जाने । ओहो ! कति सुन्दर देश, यस्तो सुन्दर देशमा कठिन प्रसव पीडा पछि जन्मिएका हाम्रा सन्तति । हाम्रा आँखाका रोशनी । देशलाई असल मार्गमा धकेल्ने यी सुन्दर मुनाहरु ।

मन झसङ्ग भयो । अहिले सबै मानिसका एक एक सन्तान वा बढीमा दुई । अनि धेरै सन्तान जन्माएमा राम्रो शिक्षा दिक्षा दिन नसकिने डर वा समाजसँगको लाज । सबै मानिसलाई आफ्ना सन्तान उत्कृष्ट बनाउने रहरले छपक्कै छोपेको छ । पहिले जस्तो जेठो, माइलो, अन्तरे…..जन्तरे, जन्तरी आदि हँुदै कान्छो कान्छी रहने अवस्था पनि रहेन । त्यही एउटै सन्तानलाई डाक्टर, इन्जिनियर, पाइलट, चित्रकार, गायक, नायक, वक्ता, शिक्षक के के हो के के बनाउने रहर छ । अर्थात् बहुमूखी प्रतिभाशाली बनाउनु छ । स्कूलमा म्यामले पनि सधैँ क्रियएटिभ बनाउनुपर्छ भन्नुहुन्छ, त्यसैले आफ्नो एक सन्तानलाई सबै थोक बनाउने सपना र चाहना बोकेका हामी । तर हजुरबाको जस्तो समय पनि त रहेन अब । संसारमै प्रतिस्पर्धा गराउनु छ, जिताउनु छ ।

आमा बा आधा पेट खाएर पनि राम्रो शिक्षाका लागि त्यस्तै विद्यालयको रोजाइमा हुन्छन् । यस्ता हाम्रा बाआमा, दिदीबहिनी र दाजुभाइका सपना पूरा गर्ने क्रममा म पनि अनायास नराम्रो सपनाबाट ब्यूँझिदाको पल सम्झन्छु ।

कक्षामा पढाइरहेको बेला बालबालिकालाई सिर्जनशील बनाउने मेरो पनि चाहना पूरा गर्न तम्सन्छु । अनि यतिका मानिसहरुको चाहना पूरा गर्ने जिम्मेबारी पाएको शक्तिशाली म आफैँ पनि गजक्क पर्न थाल्छु र विषयलाई अगाडि बढाउन अबोध बालबालिकासँग अनुमति माग्छु । हेर नानीबाबु हो, राम्रो मान्छे बन्न समाचारहरु सुन्नुपर्छ, सिर्जनशील हुन टि.भी. हेर्ने रेडियो सुन्ने बानी बसाउनु पर्छ । म्याम पनि सधँै हेर्ने गर्छु भन्दै निरन्तर पृष्ठपोषण गरिरहेँ ।

मलाई यत्तिकैमा एक दिन एक जना विद्यार्थीले ‘घरमा पापाले नेटको लाइन काटिदिएको छ’ भनी आफ्नो गुनासो सुनाए । अर्काले भने, आमाबाले टी.भी. हेर्न दिनुहुन्न, म एकछिन अवाक भएँ । मलाई ढुङ्गेयुगमा प्रवेश भएझैँ लाग्यो । पुनः प्रतिप्रश्नहरु गर्दै समय मिलाएर हेर न, म्यामले भन्नुभएको भन्नु भनी पुनः दोहो¥याएँ ।

रोल मोडलको भूमिका निभाउँदै मुसुक्क मुस्कुराउँदै आज बेलुका कान्तिपुर, शान्तिपुर, एन.टी.भी., इमेज सिमेज जे जे आफ्नो घरमा आउँछ हेरेर आउनु भन्दै गर्दा अर्को एकजनाले बिचबाट नै म सधैँ हेर्छु तर केही नबुझेको जिकिर गरे । म पनि म्याम भई बालबालिकालाई राम्रो र असल मानिस बनाउने ठेक्का बोकेको ठेकेदार न परेँ ।

फेरि समाचार सुन्दा हेर्दा तिमीहरुको चौतर्फी विकास हुन्छ, संसारको सबैभन्दा धनी मानिस नै सूचनाको धनी मानिस हो, पैसा भएको मानिसभन्दा सूचना भएको मानिस धनी हुन्छ, आदि इत्यादि,….आफूले जाने जति सबै कुरा भन्दै गएँ, सुनाउँदै गएँ । नजाने ती अबोध बाल बालिकाले कति बुझे कति बुझेनन् मैले त्यसको पत्तो पाइनँ । तर पनि उनीहरु खुसी देखिन्थे, जे होस् आज टि.भी. मज्जाले हेर्न पाइने भइयो, म्यामले भनेको …..।

आफू पनि शिष्यहरुलाई रचनात्मक बनाउन जुटेको सबैको प्यारो रोल मोडेल । अर्को दिन, कक्षाकोठामा पुनः मुस्कान पस्कँदै समाचारबाट सिकेका कुरा वा शब्दहरु पालैपालौ भन्न लगाएँ । विद्यार्थीहरु गृहकार्यको बोझबाट मुक्त भएको रमाइलो पलको अनुभवका साथमा आफ्ना उत्तर दिन तम्सिए ।

एक जनाले ठट्यौली गर्दै भने, छ्या ! म्याम, समाचारमा केही त हुँदोरहेनछ । ‘हो र ?’ भन्दै मैले फेरि अरु विद्यार्थीतर्फ इसारा गरेँ । उनीहरु क्रमशः भन्दै गए, कांग्रेस,… अर्कोले एमाले,… विघटन,… माओवादी,…. अदालत, .. संविधान, कोरोना, …भन्दै गए । म पनि प्रसन्न हुँदै केही शब्दहरु भएपनि सिकेछन्, उच्चारण पनि सही छ भनी मख्ख परेँ ।

रमाउँदै ती ससाना बालबालिकासँग नयाँ–नयाँ शब्दहरु सिकेछौ भनी तिनलाई हौसला प्रदान गर्दैै थिएँ, बिचैमा एक बालिकाले नेता भनेर बोलिन्, मैले पनि हत्त न पत्त वाक्य बनाऊ भनेँ । मेरो कुरा पूरा नहुँदै नेताहरु राम्रा शब्द बोल्दैनन् भनेको नेपथ्यबाट सुनेँ । त्यसपछि अर्को बच्चाले डराउँदै मलाई हेर्यो । मैले पनि पुलुक्क हेरेँ र भने डराउनु पर्दैन म नेता होइन । म तिमीहरुको साथी । म पनि बच्चालाई असाध्यै माया गर्ने मान्छे ….।

त्यसपछि निर्धक्कका साथ ऊ भन्दै गयो । टि.भीमा आपसमा गाली गलौज गरेको घटना बताउन थाल्यो, कुकुर बिराला मिलेर बसेको देखेको छु, यी नेताहरु त सधैँ झगडा गर्दा रहेछन्’ ऊ थप्दै गयो, हाम्रो घरमा त कसैले भ्याक्सिन लगाउन पाउनु भएन । म सिर्जनशील बन्न चाहन्न, अबदेखि कहिल्यै पनि समाचार नहेर्ने बाचा गरेको छु भनी बरबराउन थाल्यो ।

म पनि पक्राउ परेको कालोबजारीझैँ भएँ । ती कलिला निर्मल मस्तिष्कको उपचार गर्न नसकी शीर निहुर्‍याइ, लज्जाका साथ आज चाहीँ कृषि कार्यक्रम हेर्नु भनी म कक्षाकोठाबाट बाहिरिएँ । निशब्द र लज्जित रोल मोडल म …..! मलाई एकसाथ स्मरण भयो, लोकतन्त्र अनि गणतन्त्र स्थापना भएको दिन, सर्वत्र हर्षोल्लास छाएको त्यो दिन । मानिसको सोच विचार जहाँको त्यहीँ, छ्या !

बालबालिका देशका निर्माता र राष्ट्रका गहना हुन् भन्ने कागजी कुरा । घर, विद्यालय सबैतिर तिनलाई राम्रो बोल्न र शिष्टाचारका कुरा सिकाउँछौँ हामी । मानिससँग भेट हुँदा नमस्कार अनि छुट्टिँदा हवस् त बिदा पाऊँ है भनी शिर निहुर्याएर बोल्न सिकाउँछौँ ।

यस्ता व्यावहारिक कुराहरु घोकाएर सिकाएकोभन्दा अग्रज व्यक्तित्वको आचरणको नक्कल गरी नानीबाबुहरुले बढी सिकिरहेका हुन्छन् । बाल बालिकाहरु काँचो माटो हुन् हामी जस्तो बनाउन चाहन्छौँ त्यस्तै बन्छन् । हामीले प्रयोग गरेका अपशब्द, खराब आचरणहरुको सुधार गरी आजका बाल बालिकालाई भविष्यका देश निर्माता बनाउन सकिन्छ कि ? सभ्य र सौम्य समाजको निर्माणमा हामी सबै जुट्न सक्छौँ कि ? बालबालिकाहरुलाई राष्ट्रियस्तरबाट महत्वपूर्ण सुविधा उपलब्ध गराउन नसके पनि राम्रा शब्दहरुको प्रयोगमा कन्जुस्याइँ नगर्ने कि ? अन्यथा तुँवालो लागेको बालसपनामा उज्यालो छर्न ढिलो हुनेछ ।


प्रतिक्रिया

One thought on “तुँवालो लागेको बाल-सपना

  1. उत्कृष्ट ।समसामयिक समस्याको पहिचान गराउने लेख 👏

Leave a Reply

Your email address will not be published. Required fields are marked *