पुन:निर्माणको बाँकी काम सम्बन्धित निकायमा हस्तान्तरण – Nepal Press

पुन:निर्माणको बाँकी काम सम्बन्धित निकायमा हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुन:निर्माण प्राधिकरणले पुन:निर्माणको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ ।

प्राधिकरणले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सम्बन्धित निकायका पदाधिकारीलाई कार्यक्रम हस्तान्तरण गरेको हो । २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेका संरचना पुन:निर्माण गर्न स्थापना गरिएको प्राधिकरणले आफ्नो समायवधिभित्र निजी आवास तथा अनुदान वितरणमा पहिलो किस्ता ९९.९ प्रतिशत, दोस्रो किस्ता, ९९.५ प्रतिशत र तेस्रो किस्ता ८४.८ वितराण गरेको जानकारी दिएको छ ।

यसैगरी अहिलेसम्म प्राधिकरणले ८ लाख २९ हजार ६६७ घरका लागि निजी आवासका लागि अनुदान सम्झौता भएकोमा ७ लाख ३३ हजारलाई अनुदान वितरण गरेको बताएको छ । अहिलेसम्म ६ लाख १५ हजार परिवारको निजी आवास पुन:निर्माण भइसकेको छ भने १ लाख ४३ हजार घर निर्माणाधीन छन् ।

यसैगरी, प्राधिकरणले शैक्षिक संस्थातर्फ ७ हजार ५५३ संस्था निर्माण गरिनु पर्नेमा ६ हजार ६४७ वटा काम सकेको जनाएको छ । स्वास्थ्य क्षेत्रमा १ हजार १९७ वटा संस्था पुन:निर्माण गरिनुपर्नेमा ७५१ वटा निर्माण सम्पन्न भएका छन् भने ३५४ वटा निर्माणाधीन छन् । साँस्कृतिक सम्पदातर्फ ९२० वटा निर्माण सम्पन्न गर्नुपर्नेमा ४९३ वटा निर्माण सम्पन्न भएका र अन्य २८८ वटा पुननिर्माण भइरहेको छ । सरकारी भवनतर्फ ९३.५ प्रतिशत काम सकिएको छ । सुरक्षा निकायतर्फका भूकम्पले भत्काएका २१६ संरचना को पुन:निर्माण सतप्रतिशत सकिएको छ ।

विभिन्न समस्याका बाबजुद छोटो समयमा अधिकांस काम सम्पन्न गरेको भन्दै बाँकी काम प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले २ वर्षभित्रमा सम्पन्न हुनेमा आशावादी रहेको बताए ।

अब केही ठूला सम्पदाहरूको काम बाँकी रहेको ज्ञवालीले जानकारी दिए । ती काम बाँकी रहनुमा ठूलो रकमको आवश्यक्ता र दाताले रकम दिनमा ढिलाइ गरेकाले काम शुरू गर्न नै ढिला भएको उनले बताए । धरहरा तथा केही सम्पदा निर्माण सम्पन्न गरी प्राधिकरणको पुस मसान्तभित्रको समयावधिभित्र हस्तान्तरण गर्न सरकारले भनिसकेको छ ।

निजी आवास, वस्ती विकास, सरकारी भवन, स्वास्थ्य भवन, सार्वजानिक भवन, सरकारी भवनलगायतको बाँकी रहेको काम सम्पन्न गर्नका लागि प्राधिकरणले शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मा लगाएको छ । यसैगरी, पुरातत्व विभागको बाँकी रहेको काम पुरातत्व विभागलाई नै जिम्मा दिएको छ । शिक्षा क्षेत्रका भवन निर्माणका लागि शिक्षा मन्त्रालयलाई बाँकी कामको हस्तान्तरण गरेको छ । सडक क्षेत्रको कामका लागि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागलाई जिम्मा दिएको छ ।

प्राधिकरणको बाँकी रहेको शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक नवराज प्याकुरेले प्राधिकरणले जिम्मा दिएको काममा बेरुजु, भुक्तानी लेखालगायतको काम बाँकी रहेको भन्दै बनिसकेका संरचनाको संचालन र संरक्षणको लागि प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *